जेठ १, २०७८ | मुलुक डेस्क
कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षा र मधेसको मुद्दा समाधान गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
कोइराला निवासमा शनिबार पत्रकारसँगको कुराकानीमा उनले संसद्मा विश्वास गुमाइसकेका व्यक्ति पुन: प्रधानमन्त्री भएर सरकार चलाउनु मुलुकका लागि दुर्भाग्य भएको बताए । ‘एक पटक संसद्मा विश्वास गुमाइसकेका प्रधानमन्त्री केपी ओलीजीले पुन: संसदमा विश्वासको मत माग्न जानु हुन्छ,’ उनले भने, ‘यो संविधानको कमजोर पक्ष हो ।’ तर लोकतन्त्रिक अभ्यासमा सामान्यत: संसदमा विश्वास गुमाइसकेकाले राजीनामा दिएर बाटो छोड्नुपर्ने कोइरालाको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले अहिले संसद्मा विश्वासको मत लिने र आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गराउने दुई वटा लक्ष्यका साथ अघि बढिरहेको उनले बताए । अगामी वर्षको बजेट प्रधानमन्त्री ओलीले चुनावी बजेट ल्याउने ध्येयका साथ अघि बढिरहेको छ ।
प्रधानमन्त्री ओलीसँग माधवकुमार नेपालहरु गइसकेको अवस्थाममा जसपालाई प्रतिपक्षीले रोक्न सक्नुपर्ने कोइरालाले बताए । ‘कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार नबन्ने कुरा प्रष्ट भइसकेकाले त्यो भन्दा अगाडी सोच्नुपर्ने हो,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी कांग्रेसले महन्थ ठाकुरलाई लोकतन्त्र र संविधानको रक्षाका साथै मधेसको मुद्दा समाधानका लागि प्रधानमन्त्री बन्न आह्वान गर्नुपर्छ ।’ प्रमुख प्रतिपक्षी कांग्रेसले अहिले सरकार बनाएर मुलुकमा कायम गतिरोध अन्त्य गर्ने दायित्व निर्वाह गर्नुपर्ने उनले बताए ।
अध्यक्ष ठाकुरले मधेसको मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री बन्न छलफलमा आउने अवसर गुमाउन नहुने कोइरालाको भनाइ थियो । अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाउन नसकिए मुलुकमा झन् ठूलो अराजकता निम्तिने उनले बताए । ‘संसद् चलिरहेको बेलामा प्रधानमन्त्रीले अध्यादेश ल्याएर देश चलाउनु लोकतन्त्रको उपहास होइन ?,’ उनले भने, ‘संवैधानिक निकाय जस्ता संस्था अध्यादेशमार्फत अघि बढाउनुले अहिलेको सरकार र अलोकतान्त्रिक र गैर संवैधानिक तरिकाले चलेको हो ।’
कांग्रेसले जसपालाई सरकारको नेतृत्व गर्न दिएर लोकतन्त्र र संविधान जोगाउनुको विकल्प नरहेको कोइरालाले बताए । कोइरालाले पार्टी सभापति देउवाले पार्टीको महाधिवेशन गराउन नचाहे विशेष अधिवेशनको माग गरेर पार्टीलाई जोगाउने बताए ।