३१ वैशाख ,२०७८ | मुलुक डेस्क
महेन्द्रनगर । सुदूरपश्चिममा अहिले कोरोनाको दोस्रो भेरियन्टका संक्रमितहरु अक्सिजन नपाएर अकालमै मृत्युवरण गरिरहेका छन् अहिले सुदूरपश्चिममा रहेका ठुला ठुला सरकारी तथा निजी अस्पतालहरुले अक्सिजनको अभावमा उपचार गर्न असमर्थता जनाउदै भन्दै बिज्ञप्ती निकालिरहेका छन् ।
कञ्चनपुरमा रहेको कोरोना संक्रमितहरुको उपचार गरिरहेको महाकाली अस्पतालमा पनि दैनिक अक्सिजनको अभावमा संक्रमितहरुको उपचारमा समस्या भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए । अहिले अस्पतालको प्लान्टबाट दिनमा १२ सिलिन्डरमात्रै भरिन्छ । बाँकी नेपालगन्जबाटै मगाएर आपूर्ति भएको छ ।
धनगढीमा रहेको उद्योगबाट पनि थोरै मात्रै उत्पादन हुने गरेको छ, जुन धनगढीकै लागि अपुग हुन्छ । ‘बिहिवार अक्सिजन सकिँदा निकै समस्या प¥यो, बिरामीहरूमा पनि मनोवैज्ञानिक त्रास बढ्छ,’ डा. रोकायाले भने, ‘कताकताबाट व्यवस्थापन गरियो, अस्पतालकै प्लान्टबाट पनि सबै सिलिन्डरमा अलिअलि भरेर काम चलायौं ।’
सांसदका कुरा
बिहिवार सांसद निरु पालले अस्पतालमा ९० सिलिण्डर अक्सिजन पठाउने बताए पनि ५० वटा मात्रै आएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए । “९० सिलिण्डर आउदै छ अब समस्या नहोला भनेर त्यही अनुसार तयारी गय्रौ तर बिहिवार दिउँसो ५० वटा मात्रै आयो ।” अध्यक्ष जोशीले भने, “अस्पताललाई दैनिक १ सय १० भन्दा बढी सिलिण्डर आवस्यक रहेको छ । ” अहिले अस्पतालमा दाताहरुले पनि सहयोग गरिरहेको भए पनि खालि सिलिण्डर भर्नका लागि समस्या भएको उनले बताए ।
“धनगढी, बाँके र बिरगञ्ज सम्म पनि खालि सिलिण्डर भर्नका लागि पठाइएको छौ तर ति ग्यास प्लान्टमा पनि ग्यास भर्ने को लामै लाईन बस्नु पर्ने समस्या छ ।” अध्यक्ष जोशीले भने, “एक मिनेट पनि ढिलो भयो भने यता संक्रमितको ज्यान जान्छ के गर्न समस्या भईरहेको छ ।” अस्पतालसंग पैसा त छ तर तत्काललाई अक्सिजन नभएर उपचारमा समस्या रहेको अध्यक्ष जोशी बताउछन् ।
सांसद निरु पालको पहलमा अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट निर्माणका लागि महाकाली अस्पताललाई ४ करोड रुपैयाँ विनियोजन गरेको अध्यक्ष जोशीले बताए ।
कोरोना संक्रमितको संख्या बढ्दै गईहेको र त्यहाँ अक्सिजन नपाएर विरामीहरुको छटपटाहट देखेर सांसद पालले २०७८ बैशाख २६ गते महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४ करोडको माग गरेकी थिईन् ।
अक्सिजन प्लान्ट जडानको लागि ४ करोड बजेट विनियोजन पनि गरिएको छ तर सबै प्रक्रिया गर्दा र अक्सिजन उत्पादन गर्न २ महिना देखी ३ महिना सम्म लाग्न सक्ने डा. रोकायाले बताए । प्लान्टलाइ आवस्यक पर्ने सबै सामग्री तथा कामदारको सहज आपुर्ती र निरन्तर काम गय्रो भने १ देख २ महिनामा पनि सम्पन्न गर्न सकिने उनले बताए ।