कृष्ण सिंह | ३० बैशाख , २०७८

सर्लाही : लालबन्दी नगरपालकिा-१६ परवानीपुरमा भाइरल ज्वरोका कारण एकै गाउँमा ५० जनाभन्दा बढी बिरामी परेका छन्। बिरामी परेकाहरूमा वाकवाकी लाग्ने, उच्च ज्वरो आउनेलगायत समस्या देखिएको छ। बिरामी बढेसँगै स्थानीय बासिन्दामा भने कोरोना संक्रमण फैलिएको हो कि भन्ने त्रास बढेको छ।
विशेषरी सहरमा बसेका र अन्यत्रबाट हालै मात्र घर आएकामा समस्या देखिएको स्थानीयले बताएका छन्। तर बिरामी भएकाहरूमा फैलँदो कोरोनाको लक्षण भने नदेखिएको वडाध्यक्ष गणेश थापाले बताए। ‘म आफैं पनि गएर बिरामीको अवस्थाबारे बुझिरहेको छु। अहिलेसम्म हेर्दा कोरोनाको कुनै लक्षण हो जस्तो नभएको यहाँका स्वास्थ्यकर्मीहरूले बताएका छन् थापाले भने, धेरैजसोमा ज्वरो र रुघाखोकीको समस्या देखिएको छ तर यो कोरोना महामारी भने होइन। यसरी बिरामी पर्नेहरू वडाभरिमा ६० जनासम्म भएका उनले बताए।
बिरामी संख्या बढेसँगै अहिले लालबन्दी बजार तथा आसपासका स्वास्थ्य चाैकीमा भीड पनि बढ्न थालेको छ। कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेपछि सर्लाहीमा पनि निषेधाज्ञा लागु गरिएको छ। तर निषेधाज्ञाको बीचमा पनि मानिसहरूको भीडभाड तथा आवातजावत नरोकिएको भन्दै वडाध्यक्षले यसलाई रोक्न अनेक प्रयास गरे पनि मानिसहरूले अटेर गरेका भन्दै दुःख व्यक्त गरेका छन्।
उनले भने, ‘कोरोनाको यस्तो महामारी फैलिरहेको छ, मैले आफैंले पनि कति जना मानिसलाई घरमै होम आइसोलेसनमा बस्नु भनेको भन्यै छु। तर सबैले टेर्दैनन्।’ आफ्नो स्वास्थ्यको ख्याल गर्दै सबैले सचेत भएर घरमै बसे कसैलाई पनि गम्भीर खालका समस्या नआउने वडाध्यक्ष थापाले सुझाव पनि दिए।