३० बैशाख , २०७८ | मुलुक डेस्क
देउवाले सहयोग मागेपछि महन्थले भने- ‘मलाई नै सहयोग गर्नुस्, म प्रधानमन्त्री बन्छु’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग आफूलाई प्रधानमन्त्रीका लागि सहयोग र समर्थन आग्रह गरेका छन् ।
जवाफमा महन्थले प्रधानमन्त्रीमा देउवालाई सहयोग गर्न नसक्ने दोहोर्याएका थिए ।
‘देउवाको प्रस्ताव सुनेपछि ठाकुरले हामी तपाईंलाई सहयोग गर्न सक्दैनौं, त्यो कुरा त शुरूदेखि नै भन्दै आएको छु,’ ठाकुरको भनाइ उद्धृत गर्दै जसपाका एक सांसदले भने, ‘सधैं तपाईंलाई नै जसपाले सहयोग गर्ने के कारण छ, धेरै सहयोग गरिसकेका छौं, बरू अब तपाईंले हामीलाई नै सहयोग गर्नुस् ।’
जसपाको नेतृत्वलाई स्वीकार गरेर सरकार बनाउन कांग्रेस तयार भयो भने वैकल्पिक सरकार बन्न सक्ने प्रस्ताव ठाकुरले राखेका थिए ।
‘कांग्रेसको पदाधिकारी बैठक बसेर जसपाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेर सार्वजनिक गर्नुस्,’ ठाकुरको भनाइ उद्धृत गर्दै जसपाका एक सांसदले भने, ‘त्यसपछि माओवादी र कांग्रेसको संयुक्त प्रस्ताव लिएर आउनुभयो भने त्यसमा सोच्न सकिन्छ ।’
जसपा स्रोतका अनुसार देउवाले भेटवार्तामा शुरूमा आफ्नै नेतृत्वको सरकारलाई समर्थन गर्न भनेका थिए। ‘तपाईंललाई कुनै हालतमा समर्थन गर्न सक्दैनौं, हाम्रो समर्थनविना तपाईंको सरकार बन्न पनि सक्दैन । त्यसैले जसपाको नेतृत्वमा वैकल्पिक सरकार बनाउन कांग्रेस, माओवादी तयार भयो भने सम्भव छ,’ ठाकुरले देउवालाई भनेको ती सांसदले लोकान्तरसँग भने ।
महन्थको उक्त प्रस्तावपछि देउवाले पदाधिकारी बैठक बसेर निर्णय लिने बताएको जसपाका ती सांसदले जानकारी दिए ।
उक्त भेटवार्तापछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। उता देउवालाई भेटेर ठाकुर र महतो केही समयका लागि पूर्व राजपाको पार्टी कार्यालय बबरमहल पुगेर त्यहाँ उपस्थित भएका सांसदहरूसँग भेटेर फर्किएका छन् ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले हिजो बुधवार साँझ ७ बजे जसपा नेता ठाकुरसँग भेट गरेर देउवासँग आजको लागि प्रस्ताव गरेका थिए। ‘भेटेर नै संवाद गरौं भन्ने उहाँको प्रस्ताव आएपछि आज बिहीवार ठाकुरजीहरू भेट गर्न देउवा निवास बूढानीलकण्ठ जानुभएको थियो,’ जसपाका नेता डा. सुरेन्द्रकुमार झाले लोकान्तरसँग भने ।
सग्लो जसपाको समर्थनविना देउवा नेतृत्वको सरकार बन्न नसक्ने स्थिति आएपछि ठाकुरलाई नै प्रधानमन्त्री बनाएर भए पनि ओली सरकारलाई विस्थापित गर्नुपर्ने धारणा कांग्रेसका केही नेताहरूको पनि रहेको छ ।
एनपी साउद, रमेश लेखक, उदयशमशेर राणा, सुजाता कोइराला, मोतीबहादुर श्रेष्ठ लगायतका नेताहरूले ओलीको नेतृत्वमा सरकार बन्न दिनुको साटो महन्थलाई नै प्रधानमन्त्री बनाएर जाँदा आगामी निर्वाचनमा कांग्रेसलाई फाइदा पुग्ने धारणा राख्दै आएका छन् ।
अर्कातर्फ कांग्रेस नेताहरूले प्रकाशशरण महत, बालकृष्ण खाण लगायतका नेताहरू भने महन्थले कांग्रेसलाई सहयोग नगरेको अवस्थामा महन्थको नेतृत्वमा सरकार बनाउन कांग्रेस किन तयार हुने भन्ने तर्क गरिरहेका छन् ।
माधव नेपाल समूहका सांसदले राजीनामा गरे ठाकुर-महतोको सहयोगविना पनि उपेन्द्र यादवको समर्थनमा सरकार बनाउन सकिने ती नेताहरूको तर्क छ ।
उता जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि बुधबार पार्टी कार्यालय बालकुमारीमा ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।