२७ बैशाख, २०७८ | मुलुक डेस्क
आइतबार साँझदेखि सोमबार दिउँसोसम्म विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल, विराट शिक्षण अस्पताल र न्यूरो अस्पतालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नोबेल शिक्षण अस्पतालमा २ जना, वीवीमा ३ जना संक्रमितको मृत्यु भएको हो । वीपी कोभिड अस्पतालमा विराटनगर महानगरपालिका ८ का ५६ बर्षका पुरुष, इटहरी ८ का ५८ बर्षका पुरुष र झापा विर्तामोड ५ का ६२ बर्षका पुरुषको आज विहान उपचारको क्रममा मृत्यु भएको अस्पतालका सहप्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।
नोबेल अस्पताल विराटनगरमा सुनसरी वराह क्षेत्र ११ का ३५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएपछि २३ गते अस्पताल भर्ना गरिएको थियो । तर, उनको पनि उपचारको क्रममा उनको मृत्यु भएको छ ।
त्यस्तै, भगवानपुर ४ सिराहाका ५० बर्षका पुरुषमा कोरोना देखिएपछि २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको पनि उपचारकै क्रममा २७ गते मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसै गरी विराटनगरस्थित न्यूरो अस्पतालमा १ जना विराटनगर महानगरपालिका ११ की ६७ बर्षकी महिलाको मृत्यु भएको छ । कोरोेना पोजेटिभ भएपछि २६ गते स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, मोरङको बुढीगंगा स्थित विराट शिक्षण अस्पतालमा विराटनगर ११ का ४६ बर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि बैशाख २० गते अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
विराट अस्पतालमै विराटनगर १३ का ७८ बर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उक्त पुरुषलाई बैशाख १७ गते पोजेटिभ पुष्टि भएर स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
विराट अस्पतालमै सुनसरी दुहवी ११ का ३८ बर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या भएर पीसीआर पोजेटिभ देखिएका उनलाई बैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।
तर, अक्सिजनको मात्रा कम भएका कारण उनको मृत्यु भएको छ । अस्पताल भर्ना भएका अधिकांश संक्रमितहरुको स्वासप्रश्वासमा समस्या र अक्सिजनको मात्रा कम भएका कारण उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएका छन् ।