कृष्ण सिंह | बैशाख २५, २०७८
कोरोना भाइरसको दोस्रो लहर बढेपछि यहाँको नेपाल–भारत नाकामा कडाइ गरिए पनि सर्वसाधारणको आउजाउ रोकिएको छैन । दिउँसोपख नेपालीहरू किनमेलका लागि भारत जाने गरेका छन् भने साँझपख भारतीय सीमावर्ती गाउँबाट मदिरा सेवनका लागि नेपाल आउने गरेका छन् । जिल्लामा संक्रमण तीव्र रूपमा फैलिँदा सीमामा आउजाउ यथावत् छ ।
मुख्य नाका मलंगवामा हल्का कडाइ गरिए पनि अन्य नाकाबाट सर्वसाधारण भित्रिने र बाहिरिने क्रम नरोकिएको हो । मलंगवामा हेल्थ डेस्कबाट स्वास्थ्य जाँच भइरहेको छ । अरू नाका र खुला ठाउँबाट सर्वसाधारण सहजै नेपाल भित्रिने र बाहिरिने गरेका छन् । बलरा, बाराउधोरणलगायत पश्चिमी नाकाबाट आवागमन हुने गरेको हो ।
आउजाउ नरोकिएकै कारण कोरोना संक्रमण समुदायमा फैलिएको आशंका छ । प्रशासनले भने सीमामा कडाइ गरिएको बताउँदै स्वास्थ्य जाँचबिना जोकोहीलाई नेपाल प्रवेशमा रोक लगाएको दाबी गरेको छ । तर सीमित साधनस्रोतका कारण खुला सीमाका हरेक स्थानमा प्रहरीको उपस्थिति कठिन हुने गरेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सीमामा कडीकडाउ गर्दै समुदायमा परीक्षणको दायरालाई फराकिलो बनाइरहेको दाबी गरे । उनले यसमा स्थानीय तहसँग सहकार्य भइरहेको बताए । सर्लाहीमा ५१ किलोमिटर खुला सीमा छ । जसको व्यवस्थापनका लागि सशस्त्र प्रहरीको ११ वटा बीओपी स्थापना भएको छ ।