बैशाख २५ , २०७८ | मुलुक डेस्क

कोरोना भाइरस संक्रमितलाई अक्सिजनको चर्को अभाव भइरहेको छ। गिरोहले भने यसको कालोबजारी गर्न थालेको भेटिएको छ। सरकारले ६ हजार ६ सय ४३ थान सिलिन्डर बरामद गरी अस्पतालहरूलाई उपलब्ध गराएको छ।
गृह मन्त्रालयअन्तर्गतको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय तथा अनुगमन समितिको टोलीले उद्योग र घरबाट यी सिलिन्डर बरामद गरेको हो। समितिका संयोजक सहसचिव जनकराज दाहालले नेपाल प्रहरीमार्फत काठमाडौं, ललितपुर र भक्तपुरबाट ५ हजार ३ सय ५० थान जफत गरिएको बताए। यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १ सय ३४ थान र ललितपुर प्रहरीले १ सय ५९ सिलिन्डर बरामद गरेका हुन्।
ललितपुर प्रहरी परिसरले पाटन अस्पताललाई ५०, किस्ट मेडिकल कलेजलाई ३०, बज्रवाराही अस्पताललाई १० र अल्का अस्पताललाई १५ थान उपलब्ध गराएको छ। समितिले नेपाल मेडिकल कलेजलाई १ सय ५०, त्रिवि शिक्षण अस्पताललाई ५ सय, वीर अस्पताललाई ३ सय, किस्ट मेडिकल कलेजलाई १ सय, महेन्द्रनिधि अस्पताललाई ६०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १ सय ३०, भक्तपुर अस्पताललाई १ सय र सिभिल अस्पताललाई २ सय वटा उपलब्ध गराएको छ।
यस्तै, काठमाडौं मेडिकल कलेजलाई ४ सय, समिट अस्पताललाई ४५, पाटन अस्पताललाई २ सय, सशस्त्र प्रहरी अस्पताललाई ३ सय, नेपाल प्रहरी अस्पताललाई २ सय, पिपुल्स डेन्टल कलेजलाई १ सय, लुम्बिनी प्रादेशिक अस्पताललाई १ हजार र सुदूरपश्चिम प्रादेशिक अस्पताललाई ३ सय सिलिन्डर उपलब्ध गराउने निर्णय समितिले गरेको छ।
खुला सीमाका कारण सीमा क्षेत्रबाट ठूलो परिमाणमा सिलिन्डर भारत चोरीनिकासी हुँदा स्वदेशमा चर्को अभाव भएको छ। यसका साथै सर्वसाधारणले आफूखुसी उद्योग परिसरबाटै अक्सिजन सिलिन्डर बोकेर लैजाँदा अस्पतालमा संक्रमितलाई उपचार गर्न समस्या परेको छ।
केही उद्योग र बिक्रेताले अस्पतालभन्दा सर्वसाधारणलाई महँगो मूल्यमा सिलिन्डर बिक्री गरेका छन्। यस्ता सिलिन्डर संगठित समूहले सीमा र अन्य क्षेत्रमा कालोबजारी गर्दै आएका छन्।
बजार र अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि उद्योग परिसरमै सर्वसाधारणदेखि कालोबजारी गर्ने समूहको भीड लाग्न थालेको छ। बालाजुस्थित शंकर अक्सिजन ग्यास उद्योगमा शुक्रबार भीडभाड थियो। खाली सिलिन्डर बोकेर आउने र भरिएका सिलिन्डर बोकेर लैजानेको बाक्लै भीड उक्त उद्योगमा भेटिएको थियो। पैदल यात्रुदेखि मोटरसाइकल र चारपाँग्रे सवारी साधनसम्म भरिएका सिलिण्डर आफूखुसी संख्यामा उद्योग परिसरबाट लगेका थिए।
गृहमन्त्री रामबहादुर थापाको सक्रियतामा गत बुधबार शान्ति सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा उद्योग मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डीप्रसाद निरौला र भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई सदस्य छन्। यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर अधिकारी, प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापालाई पनि सदस्यमा राखिएको छ। समितिलाई कोभिड–१९ को दोस्रो लहरको समयमा उत्पन्न शान्ति सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन, समन्वय र अनुगमनको जिम्मेवारी दिइएको छ।
यसैबीच प्रहरीले अक्सिमिटर र स्यानिटाइजर कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरेको छ। काठमाडौं क्षेत्रपाटीबाट बीबीआर इन्टरप्राइजेजका सञ्चालक भगवानबाबु राय राजपुतलाई ८ थान अक्सिमिटर र १ सय २४ ग्यालेन स्यानिटाइजरसहित पक्राउ गरिएको हो।