बैशाख २४, २०७८ | मुलुक डेस्क

कोरोना महामारीको दोस्रो भेरियन्टलाई मध्यनजर गरी दार्चुला जिल्लामा यही बैशाख २६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख २६ गतेदेखि बैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । 

कोरोना महामारी दोस्रो भेरियन्ट जिल्लामा समेत फैलिरहेकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो । स्थानीय तहको अनुरोधमा जिल्लाका नौ ओटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । सात ओटा स्थानीय तहमा पूर्ण र दुई ओटा स्थानीय तहका केही स्थानमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

स्थानीय तहको अनुरोधमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा कोही स्थानीय तहमा शनिबार बेलुका सकिदै छ भने कतिपय स्थानीय तहमा बैशाख मसान्त तथा जेठ २ गतेसम्मका लागि निषेधाज्ञा कायमै छ । यस्तै कतिपय स्थानीय तहमा अर्काे सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसैबीच बैशाख २६ गतेदेखि जिल्लाभरी निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गर्ने निर्णय गरिएको हो । 

जिल्लामा कोरोना संक्रमितको सख्या सय नाघिसकेको तथा समुदाय स्तरमा समेत फैलिएकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा गर्न लागिएको हो ।

५० शैय्याको आइसोलेशन तयार भएनन्
कोरोना नियन्त्रणका लागि यसअघि भएका निर्णयका विषयमा पनि समीक्षा गरिएको छ । 
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णयहरु कार्यान्वयनका सम्बन्ध्मा  भएका काम कारबाही बारे समेत बैठकमा छलफल भएको छ । यसअघि जिल्ला अस्पतालमा र गोकुलेश्वर अस्पतालमा ५०/५० शैय्याको आइसोलेशन तयार गर्ने निर्णय भएपनि तयार भइसकेका छैनन् । गोकुलेश्वरको जिम्मेवारी शैल्यशिखर नगरपालिकालाई र जिल्ला अस्पतालको आइसोलेशन निर्माणको जिम्मेवारी महाकाली नगरपालिकालाई दिइएको थियो ।

 
तर दुबै स्थानमा ५० शैय्याको आइसोलेशन कक्ष भने तयार गर्न सकिएको छैन । प्रमुख जिल्ला अधिकारीले आइसोलेशन कक्षका बारेमा चाँसो राख्दा महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेलले ५० शैय्याको आइसोलेशन तयार भइ नसकेको जानकारी गराएका छन् । १३ बेड आइसोलेशन कक्ष तयार भएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले बताउनु भयो ।

शैल्यशिखर नगरपालिकाले पनि २० शैय्याको आइसोलेशन कक्ष तयार गरिसकेको आफूलाई जानकारी आएको उहाँको भनाई छ । दुबै नगरपालिकालाई ५० शैय्याको आइसोलेशन कक्ष तयार गर्न जिम्मेवारी दिएपनि निर्माण भने हुन सकेको छैन । यस्तै दार्चुला जिल्लाका खुल्ला रहेको नेपाल–भारत जोड्ने पुलघाँट सिमा नाकामा एन्टीजेन परीक्षण गर्दा पोजिटिभ देखिएका व्यक्तिहरुलाई होम आइसोलेशन कक्षमा राख्ने तथा व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहले गर्ने निर्णय गरिएको छ ।

हाललाई जो जहाँ छ त्यही व्यवस्थापन गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । बाहिरबाट आएका व्यक्तिहरुलाई सकेसम्म जुन स्थानमा छन् त्यही व्यवस्थापन गर्नेमा सहभागीहरुले जोड दिएका छन् । गत विगतमा जिल्ला बाहिरका व्यक्तिहरु ल्याउने होडबाजी चलेको तर व्यवस्थापन फितलो भएको विषय पनि बैठकमा उठेको थियो । जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला अवस्था, जिल्लामा भएका स्रोत साधनका विषयमा पनि छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *