बैशाख २३, २०७८ | कृष्ण सिंह, सर्लाही,

No description available.

छिमेकी मुलुक भारतसँग जोडिएको सर्लाहीको सबै सीमा नाका बन्द गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको हो। सरकारले सर्लाहीका सबै नाका बन्द गर्ने निर्णय गरेकाले सोही अनुसार नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।

हिजोबाट भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। सरकारले प्रदेश २ को महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको छ। बीचमा केही हप्ता मलंगवा नाकाबाट आवतजावत गर्न दिइएको भएपनि अहिले त्यो नाका पूर्ण रुपमा बन्द गरिएको छ।

सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी दुई देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ। त्यसले गर्दा पनि सीमाबाट हुने आवतजावत नियन्त्रण गर्न सजिलो भएको छ।

आवतजावत रोक्न जिल्लाको ५१ किलोमिटर भारतीय खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएको छ। दुई देशको सीमा छुट्याउने दशगजामै जोडिएका वस्तीका बासिन्दा प्र्रहरीको आँखा छलि लुकिछिपि नेपाल–भारत आवतजावत गरिरहेका छन्। मलंगवा नगरपालिकाका मेयर निरसल साहले सीमाका सम्पूर्ण बासिन्दा भारतीय बजारमै निर्भर रहेकाले समस्या रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *