बैशाख २३, २०७८ | मुलुक डेस्क
कोभिड-१९ बाट संक्रमित हुने र मृत्यु समेत हुनेको संख्या दिनानुदिन बढिरहदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उप मेयरले आफुहरु साच्चै जनताको प्रतिनिधि भएको व्यबहारत: पुष्टि गरेका छन । नगरपालिकाका मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्दै उनीहरूले महामारीमा जनताको साथमै रहेको अनुभुती दिन सफल भएका हुन् ।
नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
मेयर बासुदेव घिमिरेले लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कर्पियो गाडी प्रयोग गर्दै आएका थिए । जुन अब एम्बुलेन्सको रुपमा प्रयोग हुनेछन् ।
‘अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन,’ घिमिरेले भने, ‘नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दै छौं ।’
उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइने उनले बताए । दैनिक दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा जिल्लामै बुटवल उपमहानगरपछि धेरै संक्रमित छन् ।