वैशाख २१, २०७८ | मुलुक डेस्क

नयाँदिल्ली: भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना महामारीबाट प्रभावित दिल्लीका नागरिकहरुलाई दुई महिना निःशुल्क खाद्यान्न र ५ हजार रुपैँया राहत वितरण गर्ने घोषणा गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले संक्रमणको चपेटामा गुज्रिएको परिवारलाई लक्षित गर्दै यस्तो राहत कार्यक्रम घोषणा गरेका हुन् । राजधानी दिल्लीमा कोरोनाभाइरसको संकट झन् जटिल बन्दै गइरहेका बेला मुख्यमन्त्री केजरीवालले अनलाइन मार्फत् पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् ।

केजरीवालको यस्तो घोषणासँगै दिल्लीमा रहेका ७२ लाख भन्दा धेरै रासन कार्डवाहकहरुले दुई महिनासम्म निःशुल्क खाना र ५ हजार रुपैयाँ राहत पाउनेछन् ।

यस्तै उनले दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई ५ हजार रूपैयाँ सहयोग गर्ने पनि जनाएका छन् । कोरोना महामारीका कारण ट्याक्सी तथा अटो चालकहरुको काम रोकिन गएकाले उनीहरुका लागि पनि राहत प्याकेज ल्याएको मुख्यमन्त्री केजरीवालले बताए ।

यससँगै दिल्लीमा रहेका करिब डेढ लाख अटो र ट्याक्सी चालकहरूले राहत महसुस गर्नेछन् । दिल्लीका मुख्यमन्त्री केजरीवालले कोरोना महामारीको पहिलो चरण पनि आफ्ना नागरिकलाई विभिन्न राहत प्याकेज दिएका थिए ।

लामो समय कर्मचारी बनेर राजनीतिमा प्रवेश गरेका नेता केजरीवालको पार्टीको संगठन देशभर भए पनि दिल्लीमा विशेष प्रभाव जमाएको छ । केजरीवाल मुख्यमन्त्री बनेपछि नै दिल्लीमा शिक्षा, स्वास्थ्य, सरसफाइ लगायत आम नागरिकमा प्रत्यक्ष जोडिने विषयमा सुधार ल्याएका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *