२०७८ बैशाख २१, मंगलबार | कृष्णा सिंह

सर्लाहीको बलरा नगरपालिकामा उच्च ज्वरोका कारण चारजना बिमारीको ज्यान गएको छ । बलरा नगरपालिका– ६ स्थित दुईजना वृद्धसहित चारजनाको ज्यान गएको हो ।

उनीहरू केही दिनदेखि उच्च ज्वरोका कारण बिमारी परेका थिए । बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहका अनुसार आइतबार एकै दिन तीनजनाको गाउँमै र एकजनाको उपचारको क्रममा वीरगन्जमा ज्यान गएको हो । ६ नम्बर वडा र वडा नम्बर ३, का सयौँ व्यक्ति ज्वरोका कारण सिकिस्त अवस्थामा रहेका मेयर सिंहले जानकारी दिए । कोरोना संक्रमणको डरले गाउँमा बिमारी परेकाको आफन्तले यो कुरा गोप्य राखेका थिए । कोरोना संक्रमणको जोखिम रहेको भन्दै गाउँमा स्वास्थ्यकर्मीहरू पठाउँदा उनीहरूले उपचार गर्न नमानेको उनको भनाइ छ ।

‘गाउँमै स्वास्थ्यकर्मी गएर चेकजाँच गर्न खोज्दा गाउँल डराए,’ उनले भने, ‘कोरोनाको डरले गाउँलेहरूले आफूलाई ज्वरो नआएको भन्दै पन्छिए । चेकजाँच नै गर्न दिएनन् ।’ बिमारी भएकाहरूले समेत कोरोना चेकजाँच गर्ने र त्यसपछि आइसोलेसनमा पठाउने डरले ज्वरो नै नआएको भन्दै ढाँट्ने गरेका मेयर सिंहको भनाइ छ । उक्त ना.पा भारतीय सीमासँग जोडिएको हो । उक्त स्थानका मानिसहरू दैनिक उपभोग्य सामान खरिद तथा औषधि उपचारका लागि आजभोलि पनि भारतीय नजिकै बजार बसबिटा धाइरहेका छन् ।

यसैबीच, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी धेरै देखिएको भन्दै यसबारे बुझ्न सोमबार जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएको छ । टोलीले दिएको रिपोर्टअनुसार कोरोना संक्रमणको लक्षणसँग मिलेकाले मंगलबार थप थ्रोट स्वाब संकलक टोली पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवण नायकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *