पुजा डोटेल ,

वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७,

समय साच्चै बलवान हुन्छ । समयको चालसंगै मनका छालहरु पनि बग्ने गर्दछ । परिवर्तन प्रकृतीको नियम हो । मानव प्रकृतिको उपज हो । स्वभावतह नै परिवर्तनलाई मानवले स्विकार्ने र अंगाल्ने गर्दछ । समयको सिमाले व्यवहार र आचरणमा बदलाव आउनु प्राकृतिक हो । यद्यपी केही याद, पल, क्षण वा साथ अजम्मवरी हुन्छ । बाँचुन्जेल मात्र नभई मृत्युपर्यन्त पनि किम्बदन्ती बनेर समाजमा गुंजयमान रहन्छ ।

समय साँचै धेरै भएछ, थाहा छैन तिम्रो मनमा प्रेम छ या मेरो मनमा भ्रम तर जब जब तिम्रो बारेमा सोच्छु आफुलाई बिर्सन्छु । हावाका झोकाहरुले सुस्केरा हाल्दा तिमीले बोलाएझैं लाग्ने, अनि पानीका थोपाहरुलाई छुँदा तिम्रो स्पर्श याद आउने, तब थाहा भयो प्रेममा रानीमहल किन बनेको रहेछ भन्ने । सधै बोक्ने झोला अब अलि भारी भएको थियो सायद तिमीलाई आफ्नो बनाउने सपना बुनिदै थपिँदै गएका हुनुपर्छ तर जब त्यो घामलाई हेर्छु तब लाग्छ त्यो घाम अनि म बिच केही फरक छैन, न त्यो घामले जुन पायो न मैले तिमीलाई पाएँ ।

जिन्दगीमा एउटा मात्र बाटो हिँडेको म कतिबेला दोबाटोमा पुगेछु थाहा नै भएन, एउटा बाटोमा तिमी थियौ अर्कोमा खै के थियो तर जे थियो निकै धमिलो चित्र बनेर बसेको थियो । रातभर तिमीलाई आफ्नो बनाउने थरीथरीका सपना देख्छु अनि जब उज्यालो हुन्छ त्यहीँ उज्यालोले मेरा रंङ्गीबिरङ्गी सपनाको हत्या गरिदिन्छ । सपनामा भएपनि तिमी मेरो साथ भएर होला आजकल तिम्रै सपना देख्न भनेर छिटो निदाउने कोसिस गरेकी छु, त्यसैले होला आजकल अन्धकार निकै प्रिय मित्र बनेको छ ।

सानो मनको सानो कुनामा बसेको मेरो साना, तिमीलाई पाउने सपना भने विशाल समुन्द्र भन्दा पनि निकै ठुलो छ । मनको कुनामा कोचिएर बसेका भावनालाई तिमीलाई अंगालेर पोख्न मन छ तर अफसोस यी चाहनाहरू मेरो कल्पनामा मात्र सिमित छन् । तिमी अनि म खोलाको दुई किनारा थियो, भनिदेउन प्रिय त्यो दुई किनारालाई जोड्ने पुल कहाँ बनेको छ ? आज पनि यी नयनले तिमीलाई यसरि खोजिरहन्छन् जसरी चराहरूले मरूभुमीमा पानी खोज्छन् । किन लाग्छ तिम्रो दुनियाँ बन्द हुँदो हो त मेरा पाइलाहरु पनि तिमी संगै पुग्थे । जबजब पर्खाइको अवधि लम्बिदै जान्छ तब धैर्यता निराशामा परिणत हुने रहेछ, त्यसैले साना मलाई पनि अब तिम्रो प्रेमको समुद्रमा बग्न मन छ ।

प्रेम आफैमा अमुल्य हुन्छ । प्रेमले मानवलाई कमजोर होइन, सामथ्र्यवान बनाउँछ । जाहे त्यो प्राप्त होस वा नहोस् । यो कुनै न कुनै रुपमा जीवित रहन्छ, यादगार रहन्छ । प्रेम प्रकाशपुञ्ज हो । अँध्यारोमा प्रकाशको एक किरणले जसरी उज्यालो ल्याउँछ । प्रेमले पनि जीवनमा उमंग, आनन्द र सजिवता ल्याउँछ । मनमा मिलनको दीप बल्दछ । अधुरोपनमा पूर्णताको एहसास वा आभाष गराउदँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *