वैशाख २०, २०७८ | मुलुक डेस्क
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ ।
संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले अन्य सवारी आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो ।
सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सोमबार राति १२ बजेबाट उडान बन्द गर्ने निर्णय भएको हो ।
गुरुङका अनुसार सोमबार रातिदेखि आन्तरिक र बुधबार अर्थात् वैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको हो । आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने उनको भनाइ छ ।
नेपाालमा पछिल्ला दिनमा संक्रमित र मृत्युको संख्या तीब्र बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन अहिलेसम्मकै उच्च संक्रमण भएको दाबी गर्दै आएको छ ।