वैशाख २०७८ | मुलुक डेस्क

नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरलाई नियन्त्रण गर्न काठमाडौं बाहिर भइरहेका आन्तरिक उडानलाई ३० प्रतिशतसम्म कटौती गर्न सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आन्तरिक उडान अन्तर्गत सुगम क्षेत्रमा उडान गर्दै आइरहेका बुद्ध, यति, श्री र सौर्य एयरलायन्सका प्रतिनिधिसँग आइतबार छलफल गर्दै विमानस्थल प्रशासनले आफ्नो तालुक निकाय नागरिक उड्डयन प्राधिकरणलाई हाल भइरहेको आन्तरिक उडानको संख्या ३० प्रतिशितसम्म कटौती गर्न सकिने सिफारिस गरेको हो ।

छलफलमा विमानस्थल प्रशासनले हाल दैनिक ६० वटा उडान अनुमति पाएको बुद्धलाई ४४, ३६ वटा उडान अनुमती पाएको यतिलाई २१, २४ वटा उडान अनुमति पाएको श्रीलाई १० र ६ वटा उडान अनुमति पाएको सौर्यलाई ३ वटा उडान गर्न प्रस्ताव गरेको थियो । तर, वायुसेवाका प्रतिनिधिहरुले अहिले स्कुल, कलेजमा बिदा भइरहेको र बिहेको सिजन भएकाले वैशाख महिनाभरि उडान कटौती गर्न सकिने अवस्था नरहेको बताएका थिए ।

‘वायुसेवाका प्रतिनिधिहरुले बरु आन्तरिक टर्मिनलको भीडभाड घटाउन हाललाई वैकल्पिक रुपमा अन्तर्राष्ट्रिय टर्मिनलबाट चेकइन गराउन सकिने प्रस्ताव गरेका थियौं,’ एक प्रतिनिधिले भने,‘तर विमानस्थल प्रशासनले यो विषयमा निर्णय गर्न नसकिने जनाउँदै माइनुट गर्न भयो । उहाँहरुको माइन्युटमा हामीले हस्ताक्षर गरेका छैनौं ।’ निजी वायुसेवाले हाल उडान कटौती गरिएमा हवाइ भाडा वृद्धि हुन सक्ने भएकाले आन्तरिक टर्मिनलको भीड घटाउन त्यही बाहिर बनाइएको अस्थायी टर्मिनल केन्द्र पनि संचालन गर्नु पर्ने लगायतका उपाय अवलम्बन गरिनुपर्ने बताए ।

विमानस्थलले आन्तरिक उडान कटौतीको सिफारिस प्राधिकरणलाई गरेपनि आन्तरिक उडान कटौतीको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर हुने जनाइएको छ । ‘विमानस्थलबाट ३० प्रतिशत उडान संख्या कटौती गर्न सकिने सिफारिस आइपुगेको छ,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कान्तिपुरसँग भने, ‘पर्यटन मन्त्रालयसँग छलफल गरेर मात्रै उडान कटौतीबारे निर्णय हुने छ ।’

दोस्रो लहरको संक्रमण ‘चेन’ तोड्नेबारे पर्यटन मन्त्रालयले शुक्रबार प्राधिकरण लगायत सरोकारवाला संस्थाहरुसँग छलफल गरेको थियो । उक्त छलफलका आधारमा प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरिक उडान के गर्न सकिने/नसकिनेबारे सरोकारवाला एजेन्सीसँग छलफल गरि सिफारिस गर्न निर्देशन दिएको महानिर्देशक पोखरेलले बताए ।

अन्तर्राष्ट्रिय उडानतर्फ भने विमानस्थलले कुनै सिफारिस गरेको छैन । हाल सर्वाधिक कोरोना महामारीको असर देखिएको भारतको राजधानी नयाँदिल्ली र काठमाडौंका लागि दैनिक एउटा उडान भइरहेको छ । केही दिनअघि श्रम गन्तव्य जाने तरखरमा रहेका नक्कली पीसीआर जाँचको रिपोर्ट बोकेका यात्रु विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि भारत सरकारले प्रस्ताव गरेको एयर बबल अवधारणा अनुसार भइरहेको काठमाडौं–दिल्ली उडान पनि कसरी थप सुरक्षित बनाउनेबारे मन्त्रालयले छलफल गरेको छ । छलफलमा नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यलाई निरुत्साहित गर्न विमानस्थलमा एन्टिजेन परीक्षण गराउने युनिट राख्ने लगायत थप स्वास्थ्य सुरक्षाका मापदण्ड अपाउने विषयमा कुराकानी भएको थियो ।

दैनिक ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा हाल ३५/४२ हाराहारी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । काठमाडौंबाट हुने आन्तरिक उडान भने दैनिक २ सय बढी हुँदै आएका छन् । विमानस्थलले सुगम भेगमा हुने उडानको संख्या कटौतीबारे प्राधिकरणमा सिफारिस गरेपनि दुर्गम भेगमा हुने उडानबारे भने कुनै सिफारिस गरेको छैन । नेपाल वायुसेवा निगम, तारा, समिट र सिताले हाल काठमाडौं, नेपालगन्ज, पोखरा र विराटनगरबाट दुर्गम भेगमा उडान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *