वैशाख २०७८, मुलुक डेस्क

प्रदेश २ मा कोरोना संक्रमण तीव्रगतिमा बढ्दै गए पनि नियन्त्रणका लागि प्रदेश सरकारको तयारी फितलो भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

शुक्रबार प्रदेश सभाको बैठको विशेष समयमा बोल्दै विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका हुन् । कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जनताको जनधनको रक्षा गर्न प्रदेश सरकार असफल रहेको आरोप लगाए । प्रदेश सरकार ‘निकम्मा’ बनेको टिप्पणी गर्दै ‘पीसीआर मेसिन भए पनि प्राविधिक अभावमा प्रयोगमा नआएकोले सरकार गम्भीर हुनु पर्ने बताए । सर्वदलीय समिति बनाएर कोरोना नियन्त्रणका लागि आवश्यवक तयारी गर्न यादवले सुझाए ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक दिलीपकुमार साहले विगतभन्दा खतर्नाक बनेर आएको कोरोनाबाट बच्न सरकारको तयारीबारे प्रदेश सभालाई जानकारी गराउन माग गरे । कोरोनाले भारत आक्रान्त बनेकोले प्रदेश २ मा पनि संक्रमितको संख्या बढ्न सक्ने भए पनि प्रदेश सरकारको तयारी फितलो भएको उनको आरोप थियो ।

जसपाका सांसद करिमा बेगमले कोरोना नियन्त्रणका लागि सरकारले केही नगरेको भन्दै आक्रोश पोखे । आठै जिल्लामा तत्काल कोभिड अस्पताल निर्माण गर्न सुझाव दिए । सत्तारुढ दलकै सांसद परमेश्वर साहले प्रदेश निजामती कर्मचारी ऐन बनाए पनि प्रगतिशून्य रहेको बताए । ऐन बनेको तीन महिना भए पनि कार्यविधि र नियामवली बन्न नसकेको भन्दै आपत्ति जनाए । ‘कर्मचारी पदपूर्ति अझै भएको छैन । कर्मचारी व्यवस्थापन भएको छैन,’उनले भने,‘प्रादेशिक संरचनाको कार्यालयमा केन्द्रको कर्मचारी कानुनविपरीत पठाएको छ । कानुनविपरीत काम रोक्न नसक्ने ऐनको कुनै औचित्य छैन ।’

सडक अध्ययन गर्न समिति गठन

सत्तारुढ दल जसपाका सांसद उपेन्द्र महतोले सर्लाहीमा स्थानीय सरकारले सडक विस्तारको नाममा मनपरी गरेको भन्दै आपत्ति जनाए । ईश्वरपुर नगरपालिका ६ बैलबासस्थित १०५ फिट सडक बनाएर बस्ती खाली गराएको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘रोड विस्तारको नाममा अमानवीय काम भइरहेको छ,’उनले सभामुखको ध्यानाकर्षण गराउँदै भने, ‘जनता निकै समस्यामा छ । सरकारले अनुगमन सही निर्णय लिएन भने बस्ती र बजार नै सखाप हुन सक्छ ।’ जनतामाथि स्थानीय सरकारले देखाएको दम्भ तोड्न प्रदेश सरकारसँग अनुगमन समिति बनाउन उनले माग गरे ।

सांसद महतोले उठाएको सवाल अध्ययन गर्न सर्लाहीका प्रदेश सांसदहरु सम्मेलित अध्ययन समिति गठन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *