रामअधार साह । मनरा,
वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७,
कोरोना कालमा धार्मिक र आध्यात्मिक मार्गको अनुशरण गर्दै महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २ स्थित भोल्हीमा नौं दिवसीय गायत्री महायज्ञको शुभारम्भ भएको छ । रामजानकी कुटी भोल्हीको आयोजनामा नववर्ष तथा रामनवमीको अवसरमा नौं दिवसीय गायत्री महायज्ञको अनुष्ठान शुरुवात भएको हो ।

चैत्र ३१ गते मंगलबार शुरुवात भएको गायत्री महायज्ञ २०७८ वैशाख ८ गते बुधबार समापन हुनेछ । “श्री श्री १०८ श्री लखनदाश वैष्णव महाराजको संकल्प र अगुवाईमा यो महायज्ञको शुरुवात भएको बताउँछन्” भोल्हीकै समाजिक अभियन्ता तथा कार्यक्रमका संयोजक मोहन पाण्डे (गोपाल) । पाण्डेका अनुसार प्रत्येक दिन विहान योग अभ्यास, पूजा, अर्चना, किर्तन, गायत्री जाप तथा सन्ध्याकालिन गीता सत्संग हुने कार्यक्रम रहेको छ ।

यसै महायज्ञका लागि भारतबाट स्वामी सोमानन्दलगायतका विद्धान पण्डितहरु पनि आएका छन् । महायज्ञका लागि चैत्र ३० गते सोमबार विहानै १२१ कन्याद्वारा कलश शोभा यात्रा पनि निकालिएको थियो । स्थानियहरुको उल्लेख्य सभभागिता रहेको उक्त कलशयात्रामा भक्तजनसहित नेता बुद्धिजिवी र पत्रकारको पनि उपस्थिती रहेको बताउँछन् स्थानीय बुद्धिजिवी जयराम तिवारी ।

वैश्विक महामारी कोरानाको असरलाई समाप्त गर्न तथा जनकल्याण, विश्वकल्याण, समाज कल्याण हेतु नौ दिवसीय गायत्री महायज्ञको अनुष्ठान गरेको रामजानकी कुटीका महंथ श्री श्री १०८ लखनदास वैष्णवले अभिव्यक्त गरेका छन् । समाजका व्याप्त कुरिती तथा विकृती एवं विसंगतीलाई समाप्त गर्ने उद्देश्यले समेत यस महायज्ञको आयोजन भएको बताउँछन् । वैष्णवका अनुसार कोरोना महामारीमा पनि यस क्षेत्रका नागरिक सुरक्षित हुनु आफैमा गर्विलो हो । पूणर्रुपमा सावधानी अपनाउँदैं महायज्ञ हुने लक्ष्य रहेको छ । यसको सुरक्षार्थ नगरपालिकाले विशेषध्यान समेत दिएको उनले जनाएका छन् ।

महायज्ञको उद्द्धाटन् मनराशिसवा नगरपालिकाका नगरप्रमुख संजयकुमार सिंहले गरेका छन् । अतिथीको भुमिकामा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादव लगायत वडा नं. २ का अध्यक्ष विनोेदकुमार सिंह लगायत सयौंको संख्यामा ग्राम तथा नगरवासीको उपस्थिती रहेको थियो ।
