मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७,

बाराको पथलैया देखी, धनुषाको ढल्केबर र धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदिसम्मको सडक ४ लेनमा स्तरोन्नति हुने भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगा पथलैया, ढल्केबर, कमलासम्म १ सय ३० किलोमिटर सडक अब ४ लेनमा बिस्तार हुने भएको हो । 

सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सक्ने परामर्शदाताको प्रारम्भिक सूचि समेत तयार गरिसकेको छ ।  प्रारम्भिक चरणमा नेपाल, भारत र बंगलादेशका ८ वटा परामर्शदाता सूचिकृत भएको महाशाखाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।

सूचिकृत भएका परामर्शदाताले प्रस्तावित ढाँचाको आशय पेश गरिसकेको र परामर्शदाको प्राविधिक र मोडालिटी ढाँचाको अध्ययन पनि महाशाखाले गरीसकेको पोखरेलको भनाई छ । पोखरेलका अनुसार प्राविधिक र मोडालिटीमा सबल देखिएका परामर्शदाताको आर्थिक प्रस्ताव खोलिनेछ ।

प्राविधिक, मोडालिटी र आर्थिक प्रस्तावको मूल्यांकन गर्दा सबैभन्दा धेरै अंकले परामर्शदातासँग डीपीआरका लागि सम्झौता गरिने छ । सूचिकृत परामर्शदाताको मूल्यांकनको एक महिनाभित्र सक्ने महाशाखाले लक्ष्य राखेको छ । सबल परामर्शदाताहरुको आर्थिक प्रस्ताव खोलेर चालु आवभित्रै डीपीआर निर्माण सम्बन्धी ठेक्का सम्झौता गर्ने महाशाखाको योजना छ ।

‘पूर्व–पश्चिम राजमार्गमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै क्रमिक रुपमा राजमार्ग बिस्तार र स्तरोन्नति गर्दै जाने सरकारको योजनाअनुरुप नै डिपिआर तयार गर्न लागिएको पोखरेलले बताए । 
विश्व बैंकको आर्थीक सहयोगमा बिस्तार गरिने कमला–ढल्केबहर–पथलैया सडकखण्डमा विश्व बैंकको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लगानी रहनेछ । आगामी आर्थिक वर्षकोे बजेटमा पूर्व–पश्चिम राजमार्ग बिस्तार गर्न १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कमला–ढल्केबर–पथलैया खण्ड रसिया र भारत सरकारको सहयोगमा निर्माण भएको हो । रुस सरकारको सहयोगमा सन् १९७४ मा ढल्केबर–पथलैया खण्ड १०९ किमी र भारत सरकारको सहयोगमा सन् १९७० मा ढल्केबहर–कमला २१ किमी सडक बिस्तार भएको थियो ।

शुरुमा १ लेनमा निर्माण गरिएको यो सडक सन् १९९० मा दुई लेनमा बिस्तार गरिएको थियो । अब एसियाली राजमार्ग मापदण्ड अनुरुप डेडिकेटेड चार लेनमा कमला–ढल्केबहर–पथलैया सडक खण्ड बिस्तार हुनेछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *