सुजीतकुमार झा,
वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,
माछाका लागि जनकपुरधाम क्षेत्र सबैभन्दा उपयुक्त रहेको छ। जनकपुरधामको माछा भन्ने वित्तिकै एउटा अलग आकर्षण हुने गरेको छ। देशका हरेक ठाउँमा जनकपुरधामको माछाको मांग रहेको व्यापारीहरु वताउँछन। तर ई माछाहरु कसरी देशभरी जाने गर्छन धेरैलाई थाहा नहुन सक्छ। जनकपुरधाम क्षेत्रमा सयौ पोखरीमा व्यवसायिक माछापालन हुने गरेको छ। व्यापारीहरुको माछा उत्पादनका लागि दर्जनो पोखरीहरु रहेको छ। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले कृषिका काम गर्न लाज मान्नेमात्र होइन, केही आम्दानी हुँदैन भन्ने धारणा बनाइरहेका बेला मुलुकभित्रै यसप्रकारक उदाहरणहरु पनि रहेको छ माछाबाट पनि आम्दानी हुने गर्छन। हेला गरिने कृषि र मत्स्य पेशा पछिल्लो सयम मनग्य आम्दानी हुने सम्मानित पेसाको रुपमा रुपान्तरित हुँदैछ।
नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्ने बौएलाल मुखिया पनि धनुषाकै रहेका छन। उनलाई ‘माछाको राजा’ नामले चिनिन थालेका छन्। धनुषा जिल्लाको शहीदनगर नगरपालिका४ नन्नुपट्टी गाउँ निवासी ७२ वर्षीय मुखियाकै नाउँले उनको गाउँ चिनिन्छ। नन्नुपट्टीमा करिब ४० बिघा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान फेरेको हो। शान्त र सरल स्वभावका मुखियाको फार्मसँगै रहेको घरको आँगनमा प्रतिदिन माछा व्यापारी, माछा उत्पादन गर्न चाहने कृषक र जानकारहरूको जमघट हुने गर्छ। आफूसँग उत्पादनका सीप सिकेर प्रयोगमा ल्याउन खोज्नेहरूलाई सहज रूपमा मुखिया आफ्ना अनुभव र ज्ञान बाँड्ने गर्छन्।
२०२९ सालदेखि माछा उत्पादन सुरु गरेका मुखियाले अहिलेसम्म आफ्नो व्यापार निकै फराकिलो बनाउन सफल भएका छन्। उनले निजी स्तरमा करिब ६० वटा माछा उत्पादनका माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन्। जसबाट वार्षिक ७ करोड माछाका भुरा र करिब सय क्विन्टल हाराहारीमा माउ माछा उत्पादन गरी बिक्री गरिने गरेको मुखियाले बताए।
मुखियाको व्यापारमा उनका छोरा कन्हैया र रमेश पनि सहयोग गर्छन्। बुबाको व्यापारलाई अझ बढी फैलाउने उद्देश्यले आफूहरू अन्य पेसामा नगई यसमै लागिपरेको उनका छोरा कन्हैया बताउँछन्। यस फर्ममा उत्पादन हुने माछाका भुरा काठमाडौं, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने मुखियाका छोरा कन्हैयाले बताए कुनै बेला चरम गरिबी व्यहोरेका धनुषा शहीदनगरका बौएलाल मुखिया माछापालनबाट बर्सेनि करोड आम्दानी गर्छन्। गत वर्ष करीब दूई करोड जति आम्दानी भएको थियो तर लकडाउनका कारण यसपाली कम भएको कन्हैयाले बताए। अहिले मुखिया आफै मुखिया मत्सय प्रजनन फार्म, बुहारी मञ्जु मुखिया मुखिया माछा फार्म र कन्छा छोरा रमेशको नाउँमा न्यू मुखिया मत्सय प्रजनन फर्म रहेको छ।
माछा व्यापारबाट वार्षिक करोडसम्म आम्दानी गर्दछन् उनी। तर, उनको यो अवस्थासम्म आइपुग्दा परिश्रम, चरम गरिबी र असीम दुःख भोगेको अनुभव छ उनको। विगत सम्झँदा उनलाई कहाली लाग्छ। तराईमा दलित जातिमै पर्ने उनको समुदाय वर्षौंदेखि गरिबीको चपेटामा छ। मुखिया पनि अति विपन्न परिवारमा जन्मिएका हुन्। आफू जन्मिएको दश दिनमै आमा पारो मुखिया बितेको धेरै पछि बुबा दुखरन मुखियाबाट थाहा पाएका थिए उनले।
त्यतिबेला आफ्ना ठुल्दाइ किसुन मुखियाका सँगै एक धुर जग्गामा रहेको झुपडीमा बस्थे उनीहरू। आफू १० वर्षको हुँदा बुबा निकै बिरामी परेको स्मरण छ मुखियालाई तर उनको औषधोपचार गराउने अवस्था थिएन। घरमा खानाकै धौधौ थियो भने औषधि त ठूलो समस्या भइहाल्यो। उपचार अभावमा बुबा बितेको सम्झँदा उनको आँखा रसाउँछ। अति नै खराब अवस्थामा हुँदा आफ्ना नातेदारले समेत खासै सहयोग नगरेकोमा दुःखमनाउ गर्छन् उनी। ‘दाइले जसोतसो खोल्सामा दिनभर माछा मार्नुहुन्थ्यो र त्यो बेचेर जे-जति आउँथ्यो त्यसैबाट गुजारा चलाउँथ्याँै हामी’, मुखियाले पुराना दिन सम्झिए। करिब १३ वर्षको उमेरमा उनी आफ्नै गाउँका धनीमानी छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थालेका थिए। त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए। ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे।
उनैले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताए। विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै! तर, उनले काम गर्ने साहु तिवारीको भने तीन कठ्ठा जग्गामा बेवारिस पोखरी थियो। मुखियाले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे। तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए। ‘तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराउनुभयो’, मुखिया सम्झन्छन्, ‘सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती सुरु गरेँ
सानो पोखरी उत्पादन राम्रै भयो। त्यही माछा बेचेर जीविकोपार्जन सहज हुन थाल्यो। अँधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो जब तत्कालनी प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे। तिवारीजीको सल्लाहमा मुखियाले त्यो पोखरी ठेक्कामा लिए। लगानी गर्ने पैसा नभएकाले ११ सय रुपैयाँ पैंचो पनि उनै तिवारीले दिएका थिए। त्यो पैसाको भुरा किनेर पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे। झन् ठूलो समस्या आइपर्यो। बाध्य भएर ५ प्रतिशतका दरले पाँच सय रुपैयाँ ऋण लिए, चार सय रुपैयाँ साथीको बुबासँग सापट लिए।
त्यही नौ सय रुपैयाँबाट सुरु भएको माछा व्यवसाय नै आज उनको परिचय भएको छ। ‘अर्को वर्ष जब पोखरीमा माछा मार्यौ त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो’, मुखियाले भने। त्यतिबेला ८ रुपैयाँ किलो बिक्री हुने माछाबाट उनले ११ हजार रुपैयाँ आम्दानी गरेका थिए। त्यही पैसाबाट ११ कठ्ठा खेत किनेर धान खेती गरे, थप तीन कठ्ठा खेत किनेर त्यसमा माछा पालनको काम सुरु गरे।
त्यसपछि अहिलेसम्म पछाडि फर्केर हेर्नु नपरेको सुनाउँछन् उनी। आफ्नो मिहिनेत र परि श्रममा सदैव साथ दिएकी श्रीमती बुधनीदेवी मुखिया र छोराहरूको हौसलाले नै अहिलेसम्म ऊर्जा दिने गरेको मुखिया बताउँछन्। सानैमा बुबाआमा बितेकाले धेरै पढ्न नपाए पनि गाउँकै विद्यालयमा कक्षा आठसम्म अध्ययन गरेका मुखिया लामो अनुभवका कारण हाल माछासम्बन्धी बिमारी, रोग वा समस्याको निदान गर्नसमेत सक्छन्। ‘म चिकित्सक त होइन तर अनुभवका कारण माछाका समस्या सजिलै बुझेर समाधान गर्न सक्छु’, मुखियाको आत्मविश्वास छ।
निकै दुःखकष्टमा हुर्केका हुन् मुखिया। त्यसको एक मात्र विकल्प थियो आर्थिक उन्नति। त्यसैका लागि कडा मिहिनेत गरे। सम्भावना देखेको ठाउँमा पसिना चुहाए। कुनै बेला एक कठ्ठा घरघडेरीमा सीमित उनले १४ बिघा जग्गा खरिद गरे। उनीभन्दा पहिला त्यस क्षेत्रमा कसैले पनि व्यावसायिक माछा खेती गरेकै थिएन। अहिले उनकै सहयोगमा दर्जनौं किसान व्यावसायिक माछा खेतीमा लागिपरेका छन्। मुखियाको मिहिनेतलाई राज्यले पनि बेलाबखत सम्बोधन गरेको उनी बताउँछन्। २०४६ सालमा उनलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो। त्यस्तै उनको परिश्रम र माछा उत्पादन क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो। दस्ई वर्ष अघि राष्ट्रपति कृषक पुरस्कारबाट पनि सम्मानित गरिएको थियो। सो पुरस्कारमा एक लाख नगद र प्रमाणपत्र रहेको थियो। यसका साथै उनले देश/विदेशमा सयौं सम्मान र पुरस्कार प्राप्त गरेका छन्।
चरम गरिबीको अवस्थामा उनलाई सहयोग नगरेका छिमेकी र नातेदार अहिले उनको एकदृष्टिकै लागि पनि लालायित हुन्छन्। मुखिया सबैलाई हँसिलो अनुहारका साथ मीठो बोलीले व्यवहार गर्छन्। भन्छन्, ‘मैले जुन गरिबी र समस्यामा आफ्नो बाल्यकाल बिताए त्यस्तो अवस्था अब आफ्नो परिवारमा कहिल्यै नआओस् त्यसका लागि केही गरेको छु जस्तो लाग्छ।’ केही वर्ष पूर्व भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भई सफल कार्यकाल चलाएका मुखियाको छोरो अब राजनीतिमा लागेका छन। छोरा कन्हैया मुखिया अहिले ननुपटटीका वडाध्यक्ष रहेका छन। आफ्नो सफलताबाट प्रेरित भएर व्यावसायिक माछापालन धेरैले गर्न थालेका मुखियाले बताए।
विज्ञहरु के भन्छन्?
अल्प विकसित मुलुकमा प्रतिव्यक्ति माछाको वार्षिक उपभोग औसत ११ किलो हुनुपर्नेमा नेपालको उत्पादनले वार्षिक प्रतिव्यक्ति २.९३ किलोमात्र पुग्दछ। विश्वव्यापीरूपमा औसत २० किलो र विकसित मुलुकमा यो औसत उपभोग २८ किलो रहेको माछाविज्ञ रामानन्द मिश्रले जनाए।
अहिले ८३ हजार ७ सय टन घरेलु उत्पादन भएको छ। यस आधारमा प्रत्येक व्यक्तिको भागमा २.९३ किलो पुग्छ, मिश्रले भने। तर, यसमा शाकाहारी जनसंख्या २० प्रतिशतलाई घटाएर हेर्दा पनि वार्षिक उपभोगको औसत ३.५ किलो जतिमात्र हुन आउने उनले जनाए। उनले भने, लागतको प्रतिफल राम्रो छ। बजारको सम्भावना व्यापक छ। यसैगरी माछामा विद्यावारिधि गरेका प्राध्यापक डा. श्यामनारायण लाभले देशको अर्थतन्त्रमा माछा उत्पादन वृद्धिले टेवा पुग्ने भए पनि यो विशेषरूपले प्रदेश २ का लागि निकै महत्वपूणर् हुने बताए। प्रदेश २ मा अझ पनि पर्याप्त जलाशयहरूको अवस्था राम्रो भएकाले यो प्रदेशको समृद्धिका लागि माछा उत्पादनले महत्वूणर् योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे। सरकारले यस क्षेत्रको विस्तारका लागि किसानहरूलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउनेजस्ता कार्य गरेको भए पनि यसका लागि ठोस नीति र कार्यक्रमको आवश्यकता रहेको उनले जनाए। उनले भने, तराईका २२ जिल्लामा सरकारले किसानहरूलाई माछा उत्पादन वृद्धिका लागि ऋण सहयोग गरेको छ। तर, देशमा माछाको व्यवसायिक उत्पादनका लागि चाहिन माछा प्राविधिज्ञहरू नै छैनन्।
माछा उत्पादनको अपेक्षित वृद्धिदर भने यो वर्ष केही घट्ने अनुमान विज्ञहरूको छ। केन्द्रीय कार्यक्रमहरूलाई स्थानीय तहमा सारेकाले ती कार्यक्रमहरू सञ्चालनमा हुनसक्ने केही प्राविधिक कमजोरीले यस्तो उत्पादन वृद्धिदरमा कमी आउनसक्ने माछा विज्ञ मिश्रको बुझाइ छ। उनी भन्छन्, माछासम्बन्धी विकास कार्यक्रमलाई गाउँपालिकास्तरमा सारिएकोले केही प्राविधिक समस्या उत्पन्न हुनसक्छ।
डा. लाभले जनाएअनुसार धनुषा ननुपटीका बौएलाल मुखियाले माछा उत्पादनबाट आम व्यवसायबाट हुनसक्ने आम्दानीको तुलनामा धेरै लाभ प्राप्त गरेका छन्। ४ कठ्ठा क्षेत्रमा माछा उत्पादन सुरु गरी मुखियाले १० वर्षभित्र १४ बिघा पुर्याएका थिए। मुखियालाई माछा उत्पादनको क्षेत्रमा प्राप्त गरेको योगदानका लागि सरकारले समेत सम्मान गरिसकेको बताउँदै डा. लाभले भने, माछाको उत्पादन कार्य देशका लागि समृद्ध बनाउने विश्वसनीय बाटो हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रणनीतिक योजना अनुसार २०८०-८१ सम्ममा नेपालमा १३५ हजार मेट्रिक टन माछा उत्पादन लक्ष्य रहेको छ। तर अहिले पनि माछा आयात गर्नुपरिरहेको छ।