उपेन्द्र खनाल,
वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७,
देवि शक्तिका स्रोत हुन्। प्राकृतिक छटाले भरिपूर्ण तथा सौन्दर्यको अनुपम नमूना आँबुखैरेनीमा शक्तिकी देवि छिम्केश्वरीको बास छ। देवत्व भावले श्रद्धालु जन यहाँ शक्ति उपासनाको साधना र तप गर्न आउने गर्दछन्। छिम्केश्वरीमाइको महिमाले गर्दा यहाँ वर्षेनि भिड र मेला समेत लाग्ने गर्दछ।प्रककृतिक सौन्र्दय संगै इश्वरीय अनुकम्पाको समिश्रणको आभाष यो पावन भूमिमा सहजै हुन्छ। छिम्केश्वरी परिसरलाई गुरु योजना सहित धार्मिक पर्यटकिय नगरीको रुपमा विकास गर्न सके यसको गरिमा र महिमा बढ्नेमा दुईमत छैन।

समुन्द्री सतहदेखि दुई हजार एक सय ३४ मिटर उचाइमा छ छिम्केश्वरी माईको मन्दिर। मन्दिरको छुट्टै अस्तित्व छ। महाभारत श्रृंखला तनहुँको उच्च स्थानमा रहेकोे छिम्केश्वरी माई ७ ओटा देवी मध्ये एक हुन्। गोरखाको मनकामना माइको माइली बहिनि छिम्केश्वरीमा लकडाउन अघि भक्तजनको उल्लेख्य सहभागिता भएतापनि कोभिडका कारण पछिल्लो समय कम भएको छ।

तर अव फेरि चहल पहल बढ्ने अपेक्षा स्थानीयबासीको छ। मन्दिरको महिमा छुट्टै छ, भक्तजनहरु मनोकांक्षा पूरा हुने विश्वासकासाथ छिम्कश्वरी आउँछन्, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल भन्छन्। ‘तर कच्ची सडक हुँदा जान मन भएपनि कतिपय भक्तजन पुग्न सकेका छैनन्।’ हामिले पहल गरिरहेका छौ त्यहाँको विकासको लागि उनले भने ‘अहिले सडक कालोपत्रे गर्ने काम पनि भैरहेको छ।’

पछिल्लो समय तनहुँको आँबखैरेनी गाउँपालिकाले पर्यटकीय क्षेत्रको संरक्षण र प्रर्वधनमा अग्रसरता देखाएको छ। गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको पहिचान गरि त्यहाँको बिकासमा जोड दिने उदेश्यले धार्मिक एवम् पर्यटकिय क्षेत्रको खोजी हुन थालेको हो। मन्दिरको प्रचारप्रसार गर्न गाउँपालिकाले छिम्केश्वरीमा कार्यपालिका बैठक पनि गरेको छ। आँबुखैरेनीको गहना नै बनेको छ छिम्केश्वरी माई। त्यस्तै धार्मीक पर्यटकीय क्षेत्र आँधीमुल पनि त्यतिकै सम्भावना भएको ठाउँ हो। तर ती ठाउँ पुग्ने सडक कालोपत्रे नहुँदा भक्तजनले हैरानी खेप्दै आएका छन्। सडक कालोपत्रे भएपछि भने भक्तजनको उल्लेख्य सहभागीता रहने विश्वास छ।

छिम्केश्वरी पुग्ने सडक कालोपत्रे हुदै आँबुखैरेनी देखि लाब्दिआ सम्म १६ किलोमीटर दुरीको कच्ची सडक ३५ करोडको लागतमा कालोपत्रे भैरहको छ। त्यहाँबाट मन्दीर पुग्नको लागि तीन किलोमीटर मात्र ग्राबेल सडक छ। मोटर पुग्ने ठाउँदेखी करिब ४५ मिनेट पैदल मार्ग हिँडेपछि मात्रै मन्दिर पुगिने अधिकृत पोख्रेलको भनाइ छ। ‘मन्दिर पुग्ने बाटो बिग्रेको र कच्ची भएकाले पैदल मार्ग समेत निर्माण गरिएको छ। त्यस्तै दुर्घटना हुने जोखिमलाई न्युनिकरण गर्न छेउछेउमा रेलिङ पनि हालिएको छ। जसले गर्दा हिँडडुल गर्न भक्तजनलाई सहज हुनेछ,’ उनले थपे। आबुखैरेनी बजारदेखि छिम्केश्वरीसम्मको २१ किलोमीटर दुरि छ। अहिले लाब्दीसम्म बस चल्छ। यातायातको सुविधा भएपछि सर्वसाधारणको समेत भिड बढेको उनले बताए।

फागु पुर्णिमा र बैशाख १ मा मेला लाग्ने छिम्केश्वरीमा ठूलो मात्रामा यात्रु, भक्तजन र श्रद्धालुको घुइँचो लाग्ने गर्छ। मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजनहरु आउँछन। त्यो दिनमा पुजा अर्चना गर्न पनि पालो पाउनै मुस्किल हुने गर्छ। मन्दिरबाट अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालको दृश्य देखिन्छ भने रमणीय ठाउको अबलोकन पनि गर्न पाइन्छ। त्यहाँबाट चितवन देख्न सकिन्छ। जिर्ण भएपछि मन्दिर निर्माण मन्दिर जिर्ण भएपछि गाउँपालिकाले निर्माण थालेको छ। गतबर्ष १५ लाख रुपैया विनियोजन पस्चात निर्माण सुरु गरिएको थियो। आर्थिक बर्ष ०७७/०७८ मा गाउँपालिकाले तिस लाख बिनियोजन गरेको प्रमुख प्रसासकीय अधिकृत पोख्रेल भन्छन्। ‘यो आर्थिक बर्षमा सक्ने लक्ष्य छ।’

मन्दिरको मौलिकता नमर्ने गरि संरचना निर्माण भैरहेको छ। निर्माण भैरहको मन्दिरको झ्याल ढोका भक्तपुरबाट ल्याइएको छ। आकर्षक गराउन प्राचीन शैलीका कलात्मक झयाल ढोका राखिएको छ। त्यस्तै भक्तपुरबाट कालीगढ झिकाइ मन्दिरको निर्माण तीव्र रुपमा भैरहेको छ। मन्दिर भुकम्प प्रतिरोधात्मक बनाइएको छ। गाउँपालिकाको गहना छिम्केश्वरी र आँधीमुल हुन।
यो ठाउँको प्रबर्धन गरि प्रचारप्रसार गर्न सके पर्यटन क्षेत्रमा टेवा पुग्छ जसले गर्दा स्थानियको आर्थिक स्तर उकास्न मदत पुग्छ। आँधीमुल जाने सडक २ करोड ५ लाखको लागतमा कालोपत्रे भैरहेको छ। ग्रामीण सडक हुदैआबतजावत गर्दा सर्वसाधारलाई समस्या हुने गरे तापनि कालोपत्रे पश्चात भने सजिलो हुनेछ। आँबुखैरेनी गाउँपालिकामा दुई ओटा होमस्टे संचालनमा छन्। छिम्केश्वरी र हिलेखर्क होमस्टे। दुबै ठाउँमा रहेको होमस्टेलाई प्रर्वद्धन गर्न गाउँपालिकाले तालिम पनि दिँदै आएको छ। स्थानियको आय स्तर उकास्न गाउँपालिकाले ग्रमिण पर्यटनलाई प्राथमिकता दिएको छ। पर्यटनबिद हरिसिंह गुरुङ छिम्केश्वरी र आँधीमुल पर्यटकिय सम्भाबना बोकेको ठाउँ भएकाले यहाँको बिकासमा जोड दिनुपर्ने बताउँछन।‘पर्यटनको प्रचुर संम्भावना भएकाले यहाँको विकास र पुर्वाधार निर्माणमा गुरुयोजना बनाएर गाउँपालिका जुटनुपर्छ,’ उनले भने।