मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,
सुरक्षाको सवाल राष्ट्र र जनतको प्रतिष्ठा एवं गौरवसंग जोडिएको विषय हो। सरकारले पूर्व भिआइपीको सुरक्षाकर्मीमा कटौति गर्ने नयाँ कार्यविधि बनाएको छ। पूर्व राजा, पूर्व प्रधानमन्त्री लगायतले कार्यविधि विपरीत राख्दै आएका सुरक्षाकर्मी फिर्ता ल्याउन थालिएको छ। मन्त्रिपरिषद्ले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्यविधि २०७७ पारित गरेको छ। स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्व राष्ट्रपतिले अब २१, पूर्व प्रधानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फबाट गरी पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा हाल पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। ती विभिन्न तहका पूर्व विशिष्ट व्यक्तिहरूले आफ्नो, आफ्ना श्रीमती र परिवारको निजी काममा समेत सुरक्षाकर्मीहरूको दुरुपयोग गर्दै आएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी खटाइदैं आइएको छ। जस अनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी हाल सुरक्षाका लागि खटिँदै आइरहेका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा ६० जनाभन्दा बढी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा ३० जना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा समेत ठूलो संख्यामा कार्यविधि विपरीत सुरक्षाकर्मी राखिएको छ। नयाँ कार्यविधि अनुसार पूर्वराजा, पूवराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति र पूर्वप्रधानन्यायाधीशलाई आजीवन, पूर्वगृहमन्त्रीलाई १० वर्षसम्म सुरक्षाकर्मी दिइने उल्लेख छ। यसैगरी, पूर्वप्रहरी महानिरीक्षकलाई समेत दुई जना सुरक्षाकमी आजीवन दिइने उल्लेख छ।स्रोतका अनुसार दुवै प्रहरी संगठनबाट खटिएका ५ सय भन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्ने तयारी भइरहेको छ। गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा बसेको सुरक्षा प्रमुख सहितको बैठकले कार्यविधि विपरीत हुने सबै सुरक्षाकर्मी फिर्ता गर्ने निणर्य गरेको थियो।