केशव के.सी.,
वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,
बिबिसीको प्रभावशाली महिलमा सूचीकृत सपना रोका मगरको सनसनिपूर्ण खुलासा
सानो उमेरमै अनैठो कार्य। यौवनको भागदौडसंगै अन्नत यात्राको अनुभुती। मस्त रमाउने र मोजमस्ती गर्ने उमेरमा मानव जीवनको अन्तिम र परम् यात्रालाई नजिकबाट नियाल्नु। आफ्न्त पहिचान नभएको बेवारिस शवलाई आफ्नै ठानेर आफैले दागबत्ती दिनु र जलाउनु। १८ वर्षे कलिलो वैशमा जीवनको अन्तिम क्षणलाई धैर्यपूर्वक बिदाइ गर्नु। लकडाउन जस्तो गम्भीर माहौलमा महिला भएर अपरिचित शवलाई पशुपतिमा जलाउनु। यस्तै अनौठो र साहसी कार्यले गर्दा सपना सबैको सपना बनेकी छिन्।
बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको आफ्नै कथा व्यथा छ। साहसीलो र गर्विलो कार्य गर्ने सपनाको चर्चा संगै आरोप प्रत्यारोपको दौड सुरु भएको छ। कुनै बेला आफुलाई यो सत्कर्ममा ल्याउने र साथ दिने आफ्ना गुरु विनयजंग बस्नेत माथि नै आरोप लगाउनु पर्ने अवस्था आउँछ भनेर कल्पना समेत गरेकी थिइनन्। आफुलाई शवव्यवास्थापनमा संग्लग्न गराउने र साथ दिने उनै विनयजंग छुट्टिएर तथा उनकै विरुद्धमा किन लागिन्? सपनाको चाहनाः समृद्ध नेपाल संस्था मार्फत किन सपनाले छुटै रुपमा कार्य गर्नु प¥यो। हिजो संगै मिलेर कार्य गरेका व्यक्ति विरुद्ध यौन हिंसा र चरित्र हत्यको आरोप लगाइन्?
विनयजंगलाई महानगरीय प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको हो। विनयजंग बस्नेतले उनलाई धम्क्याएपछि सामाजिक सञ्जालबाट टाढिएकी सपनाले बस्नेत पक्राउ पर्ने वित्तिकै फेसबुकमा स्टाटस लेखेकी छिन्, ‘धेरैको जिज्ञासा थियो म किन बोलिरहेकी छैन भनेर? कानुनभन्दा माथि हामी कोही थिएनौं? सम्पूर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि काठमाडौंको नयाँ बसपार्कबाट विनयजंग बस्नेतलाई पक्राउ गरेको छ। अब सत्यतथ्य कानुनी प्रक्रिया अनुसार बाहिर आउँछ’। उनले अराजकहरू क्षणिकका लागि मात्रै विजय हुने बताएकी छिन्। सबैजना अवगत नै छन् र सत्य ढिला भए पनि सही रुपमा बाहिर पक्कै आउँछ, उनले थप लेखेकी छिन्। उनले आफूले बुबा मानेका व्यक्तिबाटै चरित्र हत्या गरिँदा मन दुखेको बताइन्।
धेरैले धेरै पटक मेरो चरित्र हत्या गर्ने कोसिस गरे। कतिपय सफल पनि भए। एकचोटि मरेर बाँचिसकेकी मान्छेलाई फेरि किन मार्न खोज्छन् होला भनेर मन त दुख्छ नै। तर पनि हामी कानुनी प्रक्रिया अनुसार नै अगाडि बढेका छौं। बाबु भनेर धेरै नै इज्जत दिइयो तर उहाँले नै यस्तो कुरा गर्दा एकदमै मन दुख्यो। सपनाले विनयजंग बस्नेतलाई आफ्ना बुबा मान्ने गरेकी थिइन्। उनीहरू दुबै जना मिलेर बेवारिसे शव जलाउने गर्थे।
म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्न्। संगै बस्ने क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्। उनीहरूबीचको सम्बन्ध बिग्रिएपछि बस्नेतले युट्युब मार्फत अभिव्यक्ति दिई सपनालाई धम्क्याएका थिए। सपनाले दिएको जाहेरीमा विनयजंग बस्नेतमाथि अभद्र व्यवहारको मुद्धा दर्ता भएको हो। जस अनुसार उनी प्रकाउ परेका हुन्। संसारले देख्ने राम्रो कामको पछाडि पनि नराम्रो चर्चितकला हुने गर्दछ! रोचक कार्य संगै रोचक प्रसंग पनि थपिएको छ। को सहि को गलत समयले र अनुसन्धानले देखाउने छ।
सपनाको सेरोफेरो
बेवारिस शव जलाउने बालिका : सपना
सपनाले अनेकौं सपना बोकेर शहरको बाटो लागिन्। एक्लो सपनाको यौवनसंगै केही गर्ने उमंग पनि संगसंगै शहरमा प्रवेश ग¥यो। म्याग्दीको मंगला गाउँबाट चार वर्षअघि झोला बोकेर निस्केकी सपना रोका मगर नेपालमा मात्र नभई विश्वकै प्रभावशाली महिलाको सूचीमा आफुलाई उभ्याउन सफल भएकी हुन्। एघार कक्षा पढ्न म्याग्दीको बेनी बजार हिँड्दा उनको मन रोमांचित थियो। उनको झोला आमाले राखिदिएका चामल, घ्यू र लत्ताकपडाले भरीभराउ थियो। तर केही समय पश्चात उनै सपना पशुपति आर्यघाटमा फरक शैलीमा भेटिन्। फरक काम, फरक अन्दाज। शालिन, सौम्य र शान्त स्वाभावकी सपनाको दैनिकी बेवारीस लाश जलाउनामा तल्लिन। सपनाले हालसम्म ४० भन्दा बढी बेवारिसे शवलाई दागबत्ती दिइसकेकी छिन्।
घरबाट पढ्न हिँडेकी उनी जीवनको अनेकौं मोडहरु छोटो समयमा पार गर्दै बिना योजना कहाँबाट अचानक नसोचेको र नदेखेको संसारमा रुमल्लिन आइपुगिन्। अपरिचित शवमा दागबत्ती दिँदादिँदै जिन्दगीको अर्थ र मर्म बुझिन्। आफ्नो अलग क्षवि र अन्दाजले कम समयमा उनी अत्याधिक चर्चित र सफल भइन्। बिबिसीले हालै गरेको एक सर्वेक्षण अनुसार सपना विश्वकै एक सय प्रभावशाली महिलाको सूचीमा पर्न सफल भइन्।
२०७३ सालमा गाउँको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयबाट एसइई पास गरेर सपना एक्लै थप अध्ययनका लागि बेनी बजार झरिन्। फरासिली मिजासकी सपनाले बेनीमा धेरै साथी बनाइन्। साथीहरूकोे दुःखलाई कम गर्ने कोशिस गर्थिन्। घरबाट ल्याएको पैसा पनि साथीहरूलाई दिन्थिन्। तर तिनै साथीहरूको लहैलहैमा उनको जिन्दगी कलेज र घरको सिधा बाटो छाडेर अर्कै बाटो हिँड्न थाल्यो। त्यो समयलाई उनले सम्झिदैं भन्छिन्, ‘ सहरको रंगीन दुनियाँमा फसे। जोशमा होस गुमाए। गलत के हो, सही के हो? छुट्टयाउन सकिन्। अध्ययनकै क्रममा उनको सम्बन्ध एक युवकसँग गाँसियो। कक्षा ११ को परीक्षा पश्चात तिनै युवकसँग भागेर उनी बुटवल आइन्। खबर तेजगतिका साथ गाउँसम्म आइपुग्यो। सपना बिग्री, भागी र इज्जत लुटाई। तर बुटवल बसाईमा ती युवकसँग पनि उनको सम्बन्ध राम्रो हुन सकेन र अन्त्यमा एकअर्का संग छुट्टिए।
जाँउ त जाँउ कता? घर जाउँ भने बुवाआमाको इज्जतको डर। आफ्न्तकोमा जाउँ भने आफ्नो कलंकको भय। जाने ठाउँ नहुनेहरूको बास आखिर सडक नै हो। र उनी पनि आखिरमा सडकमै पुगिन्। उनी बाटोमा बालबालिकाहरूसँगै बस्न थालिन्। पीडा र भोकले ग्रसित हुन थालिन्। जीवन देखि वाक्क दिक्क भइन्। यति सम्मकी मरिदिउँजस्तो लाग्यो। तर घरको यादले उनी सडकबाट उठेर गाउँ फर्किइन्। घरमा बस्दा विदेश जान मन लाग्यो।
यद्यपी आफ्नो अधुरो पढाईलाई पुरा गर्न तिर लागिन्। आमाबुवालाई मनाएर फेरि पोखरा लागिन् र त्यहाँबाट १२ कक्षा पास गरिन्। तत्पश्चात आमाको सल्लाह मानेर लकडाउनको बेला सात महिनाअघि काठमाडौं आइन्। नयाँ सहर, नयाँ सपना। काठमाडौं आएको दुई महिनापछि उनको भेट विनयजंग भयो। विनयजंग अनकै साथी सलिनाका बुवा हुन्। सपना र सलिनाको चिनजान पोखरा देखिनै थियो। विनयजंगसँगै सपनाले शव जलाउने काम सिकिन् र संगसंगै बेवारिस शवलाई जलाउन थालिन्।