मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
बलिउड फिल्म नायकको कहानी जस्तै भारतमा एक दिनको लागि मुख्यमन्त्री नियुक्त गरियो। नमयकमा अभिनेता अनिल कपूर मुख्यमन्त्रीसंगको अन्र्तवार्ताको क्रममा आफै एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउदँछन्। ठीक त्यस्तै त्यस्तै शैलिमा यर्थाथतामा भारतको उत्तराखण्डमा एक किशोरी एक दिनका लागि मुख्यमन्त्री बनिन्।
भारतको उत्तराखण्ड राज्यले एक दिनको लागि १९ वर्षकी छात्रालाई मुख्यमन्त्रीको रुपमा पायो। हरिद्वारकी सृष्टि गोस्वामी १ दिनको लागि उत्तराखण्डकी मुख्यमन्त्री बनिन्। एक दिने मुख्यमन्त्रीले शिक्षा र विकास निर्माणको कार्यलाई प्राथमिकताका साथ पहल गर्न निर्देश दिइन्। मुख्यमन्त्री सृष्टिलाई विधानसभा भवनमा उच्च शिक्षा मन्त्री धनसिंह रावतले स्वागत गरे। मुख्यमन्त्रीको रुपमा सृष्टिले करिब १ दर्जन विभागका अधिकारीहरुसँग बैठक गरिन् र कैयौं निर्देशनहरु दिइन्।
राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई एक दिनको लागि मुख्यमन्त्री बनाउन स्वीकृति र निर्देशन राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले दिएका थिए। मुख्यमन्त्री पदमा रहेर सृष्टिले अधिकारीहरुलाई कैयौं निर्देशन दिइन्। उनले प्रदेशका शिक्षाको जनस्तर उकास्न र जीर्ण पुलहरुको मर्मत गर्न पनि आदेश दिइन्। सृष्टिले विधानसभा भवनमा समीक्षा बैठकको अध्यक्षता समेत गरेकी थिइन्।
उनले बालिका निकेतनको निरीक्षण गर्दै बालिकाहरुसँग दिउँसोको खाना खाइन्। बेलुकी उनी हरिद्वारको लागि प्रस्थान गरिन्। मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले प्रदेशका बालिकाहरुलाई सशक्त बनाउनको लागि यो प्रयास गरिएको बताए। प्रदेशका बालिकाहरुमा प्रतिभाको कमी छैन र उनीहरु जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने सन्देश दिन यस्तो गरिएको रावतले बताए। सृष्टिले आफ्नो कार्यकालमा केही महत्वपूर्ण निर्देशन दिएको बताउँदै बालिकाको शिक्षा, सुरक्षा र प्रदेशबाट मानिसहरु पलायन हुनु प्रदेशको मुख्य समस्या भएको बताइन्।