वीरेश राई / सङ्खुवासभा,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

एक नम्बर प्रदेशको पहाडी जिल्ला सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नं. ४ मा अवस्थित मत्स्यपोखरी पार्क मुलतः धार्मिक स्थल हो। यस जिल्लाका धार्मिक पर्यटकीय सम्भावना बोकेका दर्जनौँ स्थलमध्ये मत्स्यपोखरी पार्क पनि एक हो। धार्मिक स्थल भएकोले यहाँ वार्षिकरुपमा मंसिर पूर्णिमा, माघेसंक्रान्ति र शिवरात्रिको अवसरमा मेला लाग्दछ। पोखरी परिसरमा दुईवटा मन्दिर छन्। एउटा श्री कैलाशपति शिवालय मन्दिर र अर्को जल्पादेवी मन्दिर। यी मन्दिरमा गुरुङ जातिका पुजारी छन्। ७१ वर्षीय पुजारी हर्षबहादुर गुरुङका अनुसार जल्पादेवीलाई कुखुराको पोथी वा बाख्राको पाठी बली दिइन्छ। परेवा पनि चढाइन्छ, उडाइन्छ तर शिवालयमा फूलपाती, धूपवाती मात्र गरिन्छ। पुजारी गुरुङ भन्छन् – ‘जल्पादेवीलाई भाकल गर्यो भने आफूले चिताएको कुरा पूरा हुन्छ। यो पोखरीको माछा मार्नु हुँदैन, मार्यो भने हानी पुर्याउँछ।’

पोखरी नजिकै होटल सञ्चालन गर्दै आएका टङ्क गुरुङ भन्छन् – यो धार्मिक स्थललाई पार्कको रुपमा विकास गरेपछि पर्यटकको चहलपहल बढ्यो। कोरोना महामारी सुरु हुनुभन्दा अगाडिसम्म दर्जनौं गाडी र सयौको संख्यामा बाइक नआएको दिन हुँदैन थियो। तर कोरोनाले सत्यनास गर्यो, सुनसान पार्यो। पटक पटक मत्स्यपोखरी निर्माण उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी पूरा गर्दै आएका टङ्क गुरुङ पुरानो कुरा सम्झिदै भन्छन्, ‘यो मत्स्यपोखरीको संरक्षणको लागि सबभन्दा पहिले पूर्व सांसद टङ्कप्रसाद राईबाट संसदीय निर्वाचन क्षेत्र विकास कोष मार्फत आर्थिक वर्ष २०५७/०५८ मा रु. २० हजार प्राप्त गरेका थियौं। राईले अर्को उल्लेखनीय काम लेगुवा घाटदेखि तुम्लिङटारसम्मको अक्करमा सडक निर्माण कार्यको आरम्भ गराए। २०५६/०५७ सालभन्दा अगाडि त्यो अक्करको बाटोमा ढाकर बोकेर दोहोरो हिँड्न कठिन पथ्र्यो।’

वि.सं. २०७३ देखि पोखरी क्षेत्रलाई पार्कको रुपमा विकास गर्नेे कार्य प्रारम्भ भएको हो। हालसम्म करिब ७० लाख रुपैया लगानी भएको छ। उक्त रकम संसदीय निर्वाचन क्षेत्र विकास कोष, साविक मत्स्यपोखरी गा.वि.स, चिचिला गाउँपालिका, जि.वि.स. सङ्खुवासभा, प्रदेश सरकार र स्थानीय जनस्तरवाट जुटाइएको हो। मत्स्यपोखरी पार्क जिल्ला सदरमुकाम खाँदबारीवाट करिब २५ कि.मि. दुरीमा पर्दछ। ईटहरीदेखि धरान, धनकुटा, हिले, तुम्लिङटार, खाँदबारी, मानेभञ्ज्याङ हुँदै नुम जाने बसद्वारा चिचिला बजारसम्म जान सकिन्छ। चिचिलाबाट करिब ४ कि.मि. दुरीमा पर्ने मत्स्यपोखरी पार्क निजी सवारीबाट आउजाउ गर्न सकिन्छ।

समुन्द्र सतहदेखि १६०० मिटर उचाईमा रहेको यो पार्कलाई हेर्न लायक बनाउनमा टङ्क गुरुङ, पदमबहादुर गुरुङ, लाक्पा शेर्पा ‘मलेसीया’, वाङ्डुक शेर्पा, दिलबहादुर ध्याप्रिङ गुरुङ, धनबहादुर गुरुङ, नरमाया गुरुङ, जीवन गुरुङ, सलबहादुर गुरुङ, जगमाया गुरुङ, कुलबहादुर गुरुङ, बलबहादुर गुरुङ, अमृतबहादुर गुरुङ, सन्तोष कोरङ्गी गुरुङ, एमकुमार गुरुङ, लेखराज गुरुङ, काजीमान गुरुङ, गणेशकुमार गुरुङ लगायत साविक मत्स्यपोखरी गाविसको घरघर र जनजनको योगदान छ।

मत्स्यपोखरी युवा क्लवकी संस्थापक उपाध्यक्ष सिर्जना गुरुङ भन्छिन् – ‘यही गाउँमा जन्मिएँ, यही ठाउँमा हुर्किएँ तर यो कुनै दिन यति सुन्दर होला भनेर कल्पना पनि गरेकी थिइन। यो पार्कले हामीलाई एउटा पाठ सिकायो – सबै जना मिलेर लागि परियो भने धेरै काम गर्न सकिने रहेछ। गाउँको मुहार फेरिने रहेछ।’ साविक मत्स्यपोखरी गाविस ८ देवीटारकी पुष्पा विक विगत ११ वर्षदेखि धरानकी स्थायीवासी हुन्। पार्कमा साथीहरुसंग तस्विर खिचिरहेकी उनी भन्छिन् – ‘यो ठाउँ यति सुन्दर भएछ – धेरै खुसी लाग्यो। ’

हङकङको संसार प्रसिद्ध ओशियन पार्क र काउलुन पार्कसंग बिगत सात वर्षदेखि खेल्दै, रमाउँदै आएकी साविक मत्स्यपोखरी, चनौटेकी मैया राई मुहारभरि मुस्कान फुलाउँदै भन्छिन् – ‘आफ्नै गाउँठाउँमा यति सुन्दर पार्क बनेकोमा म धेरै धेरै खुसी छु। मैले सोचेको थिइन् यो ठाउँ यति सुन्दर होला भनेर। यो ठाउँको मुहार फेर्न ज–जसले पसिना बगाउनु भएको छ, धन्यवादका पात्र हुन्।’

यहाँ घुम्न आउने पर्यटकहरुले पार्कको प्रशंसा गरेको सुन्दा मख्ख पर्छन् पदमबहादुर गुरुङ। मत्स्यपोखरी संरक्षण र व्यवस्थापनका लागि स्थानीय सर्वसाधारणलाई एक हजार रुपैंया चन्दा दिन हम्मेहम्मे भइरहेको अवस्थामा रु. ५० हजार चन्दा दिन सक्षम पदम भन्छन् – ‘यो पोखरीको संरक्षण र पार्क बनाउँदा धेरै दुःख गरियो। धेरैले धेरै दुःख गर्यौं।’

पटक पटक उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी पूरा गरेका पदम अगाडि भन्छन् – ‘त्यो दिन गरेको दुःखले अहिले खुसी दिएको छ।’ छातीमा दाहिने हात राख्दै, मुस्कुराउँदै कुरा जोड्छन् – अहिले म धेरै खुसी छु।’ प्रत्येक पटकको आयोजनामा अनुगमन समिति संयोजकको जिम्मेवारी सम्हाल्दै आएकी चिचिला गाउँपालिकाकी उपाध्यक्ष यदुकुमारी राई भन्छिन् – ‘मत्स्यपोखरी पार्क चिचिला गाउँपालिकाको अमूल्य गहना र धरोहर हो। धार्मिक स्थलको रुपमा धेरै पहिलेदेखि नै प्रख्यात यो ठाउँ पार्कको रुपमा विकास गरेपछि दिनानुदिन ख्याति बढिरहेको छ। यो पार्कलाई अझ बढी मनमहोक बनाउँदै लाने हाम्रो योजना छ।’

वीरेश राई
लेखक

Leave a Reply

Your email address will not be published. Required fields are marked *