मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
कृषि विकास बैंकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कार्ड र एपको उद्घाटन गरेका थिए। बैंकका प्रवक्ता हिमलाल पौडलका अनुसार अबको १ महिनामा किसानलाई सो कार्ड वितरण गरिने तथा बजार माग र आवश्यकता अनुसार यो कार्डको व्यवस्थापन गरिने छ। ‘कार्यविधि तयार गरेर किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्ने योजना कृषि विकास बैंकको रहेको छ।
किसानलाई वितरण गर्न लागिएको क्रेडिट कार्ड सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा भएपनि क्यूआर कोडमा आधारित हुने हुनेछ। एटीएम बुथमा नचल्ने यो कार्डले सुरुवाती चरणमा कृषि विकास बैंकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैंकसम्म किसान धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछ। साथै बैंकले नगद भुक्तानी प्रदायक गाउँ स्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएका बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुने प्रवक्ता पौडेलको भनाइ छ। ७३ एटिएम सहित देशभरमा २७८ शाखाहरुका साथ संचालनमा आएको कृषि विकास बैंक कृषकको लागि एक मात्र भरपर्दो बैंक बनेको छ।