मुलुक डेस्क / राजविराज,
२०७७ माघ २८, बुधबार
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा निर्माण हुने विद्यालय भवनको बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवे शिलान्यास गरेका छन् । उक्त विद्यालय भवनको निर्माण स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गरिने छ ।
आफ्नो संंसदीय निर्वाचन क्षेत्रको विकासका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नं. २ का साँसद यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडी र वडा नं. १ तिलाठीस्थित माध्यमिक विद्यालयमा छ कोठे दुई तल्ले भवन निर्माणको लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए ।
उक्त विद्यालय भवनका लागि एक करोड २५ लाख २७ हजार ९६६ रुपैयाँको टेन्डर गरिएको छ । भवन निर्माणको ठेक्का मधेश निर्माण सेवाले पाएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताए । तिलाठी स्थित पब्लिक माध्यमिक विद्यालयमा निर्माण गरिने भवनको विहिबार अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गर्ने कार्यक्रम छ ।