मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
प्रसिद्ध उद्योगपति विनोद चौधरीले आफ्नो व्यवसायलाई फराकिलो पार्दै थप नयाँ लगानि गरेका छन्। बैकिङ्ग क्षेत्रका अग्रणी बैंक नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा विनोद चौधरीले प्रवेश गरेका छन्। चौधरीले श्रीमती सारिका चौधरीको नाममा करिब १० लाख कित्ता सेयर किनेका छन्।
नबिल र एनसीसी बैंक मर्जरको तयारीमा रहेको समाचारहरु प्रकाशित भईरहेको बेलामा चौधरीले ठूलो मात्रामा सेयर किनेका एनसीसी बैंक सम्बद्ध स्रोतले जनाएको छ। चौधरीको स्वामित्वमा रहेको एनबी इन्टरनेशनलको नाममा नबिल बैंकमा ५० प्रतिशत सेयर रहेको छ भने सारिका, छोरा निर्माण चौधरी सहित परिवार सदस्यको नाममा थप करिब ३ प्रतिशत सेयर रहेको छ। सारिका चौधरीको नाममा १० लाख कित्ता सेयर देखिएको छ। उनले बुक क्लोज हुनुभन्दा एक साता अगाडिको उक्त सेयर किनेको बैंक स्रोतले देखाएको छ।
साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस २१ गते बुक क्लोज गरेको थियो। चौधरीले सेयर किन्दाको समयमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३१२ देखि ३६४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
चौधरीले कम्तिमा ३५ करोड रुपैयाँ एनसीसी बैंकको सेयरमा लगानी गरेको देखिन्छ। चौधरीले अहिलेसम्म एनसीसी बैंकको सेयर किनेका थिएनन् पहिलो पटक उनले किनेका छन्। विनोद चौधरीले श्रीमतीको नाममा करिब १० लाख कित्ता र अरुको नाममा करिब ८ लाख कित्ता सेयर किनेको आशंका गरिएको एक लगानीकर्ताले बताए।