राजेश्वर डी. श्रेष्ठ,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
पुरातात्विक एवं धार्मिक सम्पदाको ज्युदो इतिहासको रुपमा रहेको पाटन दरवार स्क्वायर भित्रकोे संग्राहालय । संग्राहलयका भित्ताहरुमा क्यानभास भित्र चित्रित चित्रहरुले २० जना नयाँ कलाकारहरुको श्रृजनशिलता झल्काइरहेको थियो । पाटन संग्राहालयको ग्यालरीमा कलाकारहरुको अत्याधिक भिड र कलाकारीताको गहन प्रस्तुतीले उपस्थित दर्शकहरु भाव विभोर र मनमग्न भएका थिए ।

‘पहिलो प्रयास’ नाम दिइएको सामूहिक कला प्रर्दशनलाई योङ्ग पिकासोका निर्देशक एवं वरिष्ठ चित्रकार अजय देशारद्वारा प्रस्तुति दिएका हुन् । हुन त त्यहाँ प्रस्तुत कलाकारहरु कलिला हुन् किनकि भरखरै केही महिना मात्र भएको थियो चित्रकलाका आरम्भित रेखाहरु कोर्ने र रङ्गहरु छचल्किन थालेको । अजय देशार जस्ता गहिरा अनि चित्रकलाका समुन्द्रमा डुवेर कला प्रस्तुति दिन सक्ने क्षमता भएका दक्ष चित्रकारको हात र साथ पाएका ती नवकलाकारहरुको कलाकारितामा भने कलिलापन देखिएका थिएनन् । विविध विषय भावको सेरोफेरोमा परम्परागत र आधुनिकताको मिश्रण गर्दै आ–आफ्ना दृष्टिकोण र मनोभावलाई विभिन्न रङ्गहरुका माध्यमबाट छचल्किएर कोरिएका ती प्रदर्शित चित्रहरुले नव कलाकारहरुको उज्यालो भविष्यको संकेत गरि रहेझैं देखिन्थ्यो ।

पाटन दरवार स्क्वायर भित्रको गरिमामय त्यो संग्रहालयमा आफ्ना चित्रहरु टाँगिएर प्रर्दशित हुँदै गरेकोमा नवकलाकारहरु प्रफुल्लित र गर्व महसुस गरिरहेको भान हुन्थ्यो । आफ्ना पहिलो प्रयास र पहिलो श्रृजनालाई सार्वजनिकीकरण गर्न अनि चित्रकलाका माध्यमबाट आफ्नो पहिचान बनाउनमा अभिभावक र गुरुको भूमिका प्रदान गरिरहेकोमा चेलारुपी नवकलाकारहरु अजय देशार प्रति आभारी थिए । पहिलो चरणमा प्रशिक्षण पश्चात ती चित्रहरु प्रदर्शित गरिएका हुन् ।

माघ २२ देखि २४ गतेसम्म प्रदर्शित रहने उक्त दिन कला प्रदर्शनको प्रायोजन योङ्ग पिकासो, पाटन म्युजियम, आइ कोलोरी पेरिया पीस, नेपाल इन्युजपाना, पानारोमा एचडी, मुलुक टाइम्स, सहयात्रा र नेपाल सहकारी संस्था लिमिटेडले गरेका छन् । प्रर्दशनको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष नारायण अवालेले गरेका हुन् । कलाकारहरुको कलाकारिताले प्रफुल्लित वडाध्यक्ष अवालेले प्रशिक्षणको अर्को चरण र कलाको विकास अनि स्तरियताका लागि आफुले व्यक्तिगत वा संस्थागत रुपमा सहयोग र साथ दिने प्रतिवद्धता पनि जनाए ।

योङ्ग पिकासोको साथ चित्रकार बन्ने युवाहरुको विश्वास, अनि कोरिएका चित्रकला सहितको क्यानभास निश्चय पनि कला क्षेत्रमा केहि नयाँ कलाकारहरुले आफ्ना कला मार्फत आफुलाई चिनाउन सक्ने कुरामा विश्वास गर्नै पर्ने हुन्छ । प्रर्दशनमा गाँउवेसी, हिमाल, पहाड, तराई, मुर्त र अमुर्त कला शैली, जीवनशैली, महिला सौन्दर्य, नग्नताको प्राकृतिक विम्ब, प्राकृतिक सौन्दर्य लगायतका सृजनाहरु क्यानभासमा कोरिएको प्रस्टै देख्न्थ्यिो । भावको बहाव, रङ्गको समायोजन र समय निश्चत परिधि भित्र रहेर उक्त चित्रकलालाई चित्रकारहरु ज्ञान शोभा शाक्य, जोन अवाले, लुज अवाले, अखिल महर्जन , कृष्ण महर्जन, शरदा, रोवीन, रिजन, निकिता ताम्राकार, प्राइना, कविता , सविता शाक्य, निलि मर्हजन, मुस्कान सिंह, सविता मर्हजन लगायतका सहभागीता रहेको हो ।