सुजीतकुमार झा,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
धनुषाको धनुषाधाम नगरपालिकामा रहेको ऐतिहासिक धनुष मन्दिरमा भन्टाको भार चढाउनेहरुको भीड लागेको हुन्छ। अरुवेला पनि चढाउँछन तर शिवरात्री, चतुदर्शी, साउने सोमवारी र माघको मकर मेलाको बेला क्वीनटलमै भन्टा चढने गरेको मन्दिरका मूल पुजारी भरत दासले वताए। धनुष मन्दिरको रामायणकालिन इतिहास रहेकाले पनि यो मन्दिर यो क्षेत्रमा श्रद्धालु भक्तजनका लागि विशेष आकर्षण रहेको छ।
शरीरमा निस्केको मुसा र चिलाउने रोग निको भएपछि भाकलअनुसार सो मन्दिरमा भान्टा चढाउने परम्परा रहेको छ। मुसा भनेको ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग हो। यसलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस भनिन्छ। एचपीभीको सयौं प्रजातीहरुले विभिन्न प्रकारका मुसाहरु शरीरको विभिन्न ठाउँमा निकाल्छन्। सामान्यतयाः यो हात र खुट्टामा आउने भएपनि कहिलेकाहीँ मुखको भित्री भाग, आवाज नली र यौनांगमा पनि आउने गरेको जानकार चिकित्सकहरु वताउँछन।
छालासम्बन्धी रोग निको भए दुई भार भन्टा चढाउन भाकल गरेको थिए जनकपुरधाम ४ का मनोज मण्डलले वताए। मनोज घरका सबै सदस्य सहित भण्टाको भार लिएर धनुषाधाम पुगेका थिए। शिवरात्री मेलाको बेला पारेर रोहित सादाले सो मन्दिरमा भन्टा चढाएका थिए। धनुषाधाममा मात्रै नभई मिथिलाञ्चलको अधिकांश महादेव मन्दिरहरुमा पनि चढाउने गरेको मिथिलामा परम्परा जस्तै रहेको सांस्कृतिविद् चन्द्रमोहन झा पडवाले वताए। शिवको उत्सव भएको दिन कुनै यस्तो शिव मन्दिर छैन जहाँ भन्टाको भार चढदैन। सबैठाउँमा फूल वेलपत्रका अतिरिक्त भण्टाको भारपनि चढाउने गरिन्छ।
‘शरीर चिलाउने र फोका निस्केमा महादेव देवतालाई भन्टा चढाउने भाकल गर्नुपर्छ भन्ने सुनेका थिएँ त्यहीभएर गतवर्ष शिवरात्रीकै दिन भाकल गरे,’ महोत्तरीका प्रमोद यादव भन्नुहुन्छ, ‘नभन्दै निको भयो, चारवटा भान्टालाई लटठीले उनेर दुई भार बनाई महोत्तरीको शिव मन्दिरमा चढाएँ।’
यो मन्दिरमा शिवरात्रीको वेला वर्षेनी पाँच क्विन्टलभन्दा बढी भान्टा जम्मा हुने गरेको मेला व्यवस्थापन समितिले जनाएको छ। मन्दिरका पुजारी अनुसार पौराणिकदेखि नै महादेव लगायतका देवी देवतालाई भान्टा, कागजको छाता पान, लडडु चढाउँने प्रचलन छ। जनकपुरधामको राम युवा कमिटीका पूर्व अध्यक्ष परमेश्वर साहका अनुसार भगवान शिवलाई भन्टा चढाएपछि शरीरमा हुने छालासम्बन्धी रोग निको हुने धार्मिक विश्वास रहेको छ।
‘छाला चिलाउने रोग भएमा भान्टाको तरकारी बर्जित गरिन्छ,’ उनले भने, ‘भान्टाको तरकारी सेवनले अझ चिलाउने रोग बढेर स्वास्थ्यमा समस्या हुने भएकाले पनि बुढापाकाले सबै चिलाउने रोगको कारक भन्टालाई मान्दै शिवलाई चढाएको हुनसक्छ।’ सर्लाहीको लक्ष्मीनाथ चितायन महादेव विकास समितिका अध्यक्ष रामकृष्ण चौधरीले भने, ‘तीन सय वर्षदेखि यो मेला लाग्दै आएको छ।’ भन्टाको भार र धानको मौर चढाउनेसहित एक लाखभन्दा बढी श्रद्धालुभक्तजनले मेला अवलोकन गर्ने गरेको उनले बताए।
शिवरात्रिका दिन मिथिलाका कृषकहरुले राम्रो कृषि उत्पादन तथा सहकालको कामना गर्दै धानका बाला तथा सु–स्वास्थ्यका लागि भगवान आशुतोषलाई भण्टाकोभार चढाउने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए। भन्टा सबैस्तरका जनसमूदायले प्रयोग गर्न गरेको एउटा प्रचलित तरकारीबाली हो। यसलाई पकाएर तरकारीकोरुपमा खाइन्छ। भन्टाबाट भिटामिन ए, बि र सि, क्याल्सियम, फस्पोरस र फलाम जस्ता खनिजतत्वहरू पनि प्राप्त गर्न सकिन्छ। सामान्यतया भन्टा पहाडी क्षेत्रमा गर्मी याममा र तराई क्षेत्रमा हिउँदमा भण्टाको खेती गर्ने गरिन्छ। यसको खेती घरयासी प्रयोजनदेखि व्यापारिक उद्देश्यलेगर्ने गरिन्छ।
मुसा रोगको चर्चा
मानिसको छालामा विभिन्न खालका समस्याहरु आउने हुन्छ। त्यसमध्य पनि मुसा आउने समस्याका कारण धेरै मानिस चिन्तित हुनसक्छ। मुसा एक प्रकारको भाइरल संक्रमण हो। यो हरेक उमेर समुहका मानिसलाई हुन सक्छ। यो खटिरा शरीरमा आउँदा दुख्ने पोल्ने नभएको कारणले पनि सामान्य रुपमा लिइन्छ। तर, मुसा आउँदा शरीरका भित्री अंगहरुमा असर गर्दैन।
यो भाइरसबाट लाग्ने भएकाले शरीरको एउटा अंगबाट अर्को भागमा सजिलै फैलने भएकाले शरीर कुरुप देखिने जटिल समस्या बन्छ। मुसालाई अंग्रेजीमा वार्ट पनि भनिन्छ। यो ‘ह्युमन पेपिलोमा’ भन्ने भाइरसका कारण लाग्छ। मुसा एक सय भन्दा बढी प्रकारको हुन्छ। यो शरीरको शिरदेखि पैतालासम्म आउन सक्छ।
यसका प्रकारलाई विभिन्न नम्बरले विभाजन गरिन्छ। हात खुट्टामा आउने मुसा १ र २ नम्बरको हुन्छ भने शरीरको अरु भागमा आउने मुसालाई ६, ११, १६ र १८ नम्बरले चिनिन्छ। १६ र १८ नम्बरको मुसा भने रगत तथा यौन सम्पर्कका कारण एक व्यक्तिबाट अर्कोमा सर्ने हुन्छ। मुसा भाइरल संक्रमण भएका कारण एक अंगबाट अर्को अंग र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। कतिपय अवस्थामा शरीरमा देखापर्ने मुसा आफैं आउने र निको हुने समेत हुन्छ। यस्तो हुनुको कारण भने मानिसको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ। रोग प्रतिरोधात्मक क्षमता बलियो हुने मानिसमा मुसाको संक्रमण देखापरे पनि बिस्तारै हराउँदै जान्छ। प्रतिरोधात्मक क्षमता कमजोर हुने मानिसमा भने यसलै धेरै नै सताउने हुन्छ। मुसा आउने समस्या सामान्य भएपनि यसले दैनिक जीवनमा ठुलै असर पारीरहेको हुन्छ।
तसर्थ यसको बेलैमा उपचार गरे बिस्तारै छुटकारा पाउन सकिन्छ। मुसा आउने समस्याको उपचार उमेर, मुसाको प्रकृति र कुन अंगमा मुसा आएको छ त्यस अनुसार गरिन्छ।
एकपटक मुसाले शरीरमा जरा गाडीसकेपछि सजिलै भने हटाउन गार्होे हुन्छ। तर, मेडिकल र सर्जिकल विधिबाट यसको उपचार सम्भव छ। त्यस्तै पछिल्लो समय लेजर थेरापी प्रविधि पनि यसको उपचारमा उत्तिकै प्रभावकारी मानिन्छ। सामान्य प्रकारका मुसा हात तथा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने रोग हो। यो हेर्दा नराम्रो देखिन्छ तर सामान्यतया अरु समस्या दिँदैन। पैतालामा र हत्केलामा आउने मुसा यसको मुख्य लक्षण अत्याधिक दुखाइ हो। दुखाइ विशेषः गरी हिँड्ने बेलामा हुन्छ (यदी खुट्टामा छ भने) र हत्केलामा पनि दुखाइ हुन सक्छ।भेरुका प्लाना ससाना खैरो रंगको मुसाहरू जो अनुहारमा ज्यादा आउँछन्। यौनांगमा आउने मुसाहरु यो चाहि यौनांगमा घाउ हुनेहरुसँग असुरक्षित सम्पर्क भएमा हुन्छ। सामान्यतया असुरक्षित सम्पर्क भएको १२ देखि १५ महिनामा यस्ता मुसाहरु आउँछन्। यो मुसा गराउने एचपीभीको प्रजातिले कहिले काँही गुदद्वारको क्यान्सर पनि गराउन सक्छ।
ससाना हात र खुट्टामा आएको मुसा आफैँ निको हुन सक्छ तर, पैतालामा वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु आफैं निको हुँदैन जनकपुरधामका वरिष्ठ छाला रोग विशेषज्ञ डा. प्रमोदकुमार झाले वताए।
यो सरुवा रोग हो। मुसा कोट्यै रहने वा मुसा चलाएपछि राम्रोसँग हात नधोई अन्य ठाउँमा छोएमा यो रोग सर्छ। यस्तै असुरक्षित यौन सम्पर्कको कारणले पनि यो रोग सर्दछ। यदी पुरुषको अनुहारमा यो रोग छ भने दाह्री काट्दा पनि यो रोग अर्को ठाउँमा सर्न सक्छ डा. झाको कथन रहेको छ। यसको रोकथाम गर्न नसकिए पनि बच्नको लागि केही सावधानी अपनाउन सकिन्छ। हात राम्रोसँग धुने, हात चुसिरहने वा नंग टोक्ने बानी कम गर्ने रनगर्ने जिमखाना, स्विमिङ्ग पुलमा आफ्नै तौलिया प्रयोग गर्ने, सधै जुत्ता लगाउनेअरु कसैलाई मुसा आएमा नकोट्यौने जानकारहरु वताउँछन।
डा. झा भन्नुहुन्छ छाला रोग विशेषज्ञको सल्लाहमा शरीरमा मुसा देखिने बित्तिकै उपचार गराउनु पर्दछ। रोगको अवस्था ठाउँ र संख्या अनुसार बिजुलीले डडाएर फाल्ने वा सालिसाइलिक एसिड नामक औषधिको प्रयोग वा लेजर प्रबिधिबाट मुसाको उपचार गरिन्छ। अन्य चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने उपचार बिधिमा एमएमआरको भ्याक्सिन लगाउने तथा भिटामिन डीको इन्जेक्शन लगाउने गरिन्छ प्रादेशिक अस्पताल जनकपुरधामका छाला रोग विशेषज्ञ डा. रामज्ञान यादवले वताए। चिकित्सकहरुले मुसा रोग लाग्ला पूजा गर्नुस वा भन्टा चढाउनुस तर चिकित्सक कहाँ उपचार गराउने कार्य नछोडनुुस छाला रोग विशेषज्ञ डा. झाको सल्लाह रहेको छ।