मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
चौथोदिनको खेलमा लौनियाँ र मन्सापुर विजयी
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न दुई खेलमा वडा नं. २ लौनियाँ र वडा न ७ मन्सापुर विजयी भएको छ । आइतबारको पहिलो खेलमा वडा नं. २ लौनियाँले वडा नं. ८ तोपालाई ६ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. १ तिलाठीलाई २५ रनले पराजित गरेको छ । पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गर्दै गरेको तोपाले निर्धारित १६ ओभर ४ बलमा सबै विकेट गुमाई ८३ रन बनाएको थियो । जसमा सुनिल यादवले सर्वाधिक १२ रन बनाए भने अन्य कुनै पनि खेलाडि दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । लौनियाँका लागि दिनेश कुमार मण्डल र अजय मण्डलले २/२ विकेट लिए ।
जितको लागि ८४ रन पछ्याएको लौनियाँ १२ ओभर ३ बलमा ४ विकेट गुमाई विजयी हालिस गर्यो । लौनियाँका दुर्गानन्द मण्डलले सर्वाधिक २८ रन, दिनेश मण्डलले १२ तथा अभिमन्यु मण्डलले अविजित ११ रनको योगदान गरे । तोपाका लागि भरत दासले २ तथा रमेश यादव र रविन मण्डलले १/१ विकेट लिए । उक्त खेलमा दिनेश म्यान अफ द म्याच घोषित भयो । यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको वडा नं. ७ मन्सापुरले १५ ओभर २ बलमा सबै विकेट गुमाई ९५ रन बनायो । धिरज मण्डलले १९, राजाराम मण्डलले १८ तथा रोशन मण्डलले १७ रनको योगदान दिए ।
तिलाठीका लागि मुकुन्द मोहन मिश्र र श्रवणले २/२ तथा लक्ष्मी राय, निरज यादव र दिनेश यादवले १/१ विकेट लिए । जितको लागि ९६ रनको लक्ष्य पाएको तिलाठीले १७ ओभरमा सबै विकेट गुमाई ७० रन मात्र बनाउन सक्यो । तिलाठीका लागि लक्ष्मी रायले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । मन्सापुरका लागि राजकुमार मण्डलले ४, सुबोध मण्डलले ३ तथा अजय मरिक र धिरज मण्डलले १/१ विकेट लिए । उक्त खेलमा मन्सापुरका राजकुमार मण्डल म्यान अफ द म्याच घोषित भयो । प्रतियोगिता अन्तर्गत सोमबार वडा नं. ४ कोइलाढी र वडा नं. २ लौनियाँ बीच पहिलो खेल तथा दोस्रो खेल वडा नं. ३ सकरपुरा र वडा नं. ७ मन्सापुरबीच हुने प्रतियोगिता संयोजक राजेश कुमार झाले बताए ।