राजेश्वर डी. श्रेष्ठ,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

पर्यटन बोर्डको त्यो सभा–हल। अनि केही परिचित, केही अपरिचित व्यक्तित्वहरुको उपस्थिति। शान्त र मर्यादित वातावरण। अनि म ‘विन बुलाए महेमान’ को संयोगवसको उपस्थिति। कार्यक्रम थियो ‘सङ्खुवासभा ज्येष्ठ नागरिक आवज’ को लोकार्पण। निर्धारित समयमा आरम्भ कार्यक्रममा म मेरो आफन्तको प्रतिक्षामा थिए। अतिथिका रुपमा नाम घोषणा हुँदै गर्दा उहाँ भने ट्राफिक जाममा फस्दै हुनु हुदो रहेछ, पुगे लगत्तै सुनाउनु भयो। पूर्व सचिव हेमराज शर्मा मेरा नजिकका परिचित व्यक्तित्व संयोग सङ्खुवासभा मातृभूमि उनको।

सङ्खुसभाको त्यो माटो, जहाँ जन्मेका धेरै व्यक्तिहरु मुलुकको विभिन्न क्षेत्रमा उच्च तहमा पुगे र सेवा प्रवाह गरे। गर्व गर्न सकिने ठाँउमा पुगेर सङ्खुवासभालाई नै गैरवान्वित गरेको महसुस त्यो कार्यक्रममा भएको ती व्यक्तित्वहरुको उपस्थितिले पनि गरिरहेको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, सिफारिस अख्तियार प्रमुख प्रेम कुमार राई, पूर्व गृह सचिव हेमराज शर्मा पौडेल, प्रा. डा. रमेश ढुङ्गेल, डा. हिरामणि घिमिरे लगायत थुप्रै जसले मुलुकका विभिन्न क्षेत्रको उच्च तहमा पुगेर सङ्खुवासभालाई औचित्यपूर्ण सावित गरेका र गरिहेका व्यक्तित्वहरुको उपस्थितिले ‘सङ्खुवासभा ज्येष्ठ नागरिक आवाज’ लोकार्पण कार्यक्रमलाई गौरवमय बनाइरहेको थियो।

पाठकधारा टोल विकास संस्था खांदवारी – १, सङ्खुवासभाले एक वर्षको कठिन मिहिनत र सेवा समर्पणमा साथ सङ्खुवासभा सेरोफेरोका सयजना ज्येष्ठ नागरिकहरुको अनुभवलाई समेटेर तयार पारिएको ऐतिहासिह ‘सङ्खुवासभा ज्येष्ठ नागरिक आवाज’ (सामाजिक मौलिक इतिहास) को लोकार्पण भएको थियो उक्त कार्यक्रममा।

नागरिक अभियन्ता एकसय पाका उमेरका ज्येष्ठ नागरिकहरुको अनुभव समेटिएको पुस्तकलाई विगतका सयवर्षको सेरोफेरोको सामाजिक सांस्कृतिक र आर्थिक जीवनका पक्षहरुलाई केलाउन सकिनुका साथै सङ्खुवासभा जिल्ला भरीका सामाजिक इतिहासको एक लघु अध्ययनको रुपमा लिन सकिने विचार समग्रमा देखियो। पाठकधारा टोल विकास संस्थाका अध्यक्ष भिम बहादुर कहेलको संयोजकत्वमा सङ्खुवासभालाई माया गर्ने टीमका अन्य सदस्यहरुको मातृभूमिप्रतिको श्रद्धा, आस्था एवं कर्तव्यपरायणताको एउटा ज्वलन्त उदाहरणको रुपमा पुस्तक देखिन्छ।

उपराष्ट्रपति नन्दप्रसाद पुन, प्रधानमन्त्री के.पी. शर्मा, प्रज्ञा प्रतिष्ठानका कुलपति, संस्कृतिविद् सत्यमोहन जोशी, प्रा. डा. रमेश ढुङ्गेल, डा. हिरामणि घिमिरे, प्रा. डा. सुरेन्द्र के.सी. आदिका शुभकामना, सुभेक्षा अनि भूमिका समेटिएको ७५८ भन्दा अधिक पृष्ठको ‘सङ्खुवासभा ज्येष्ठ नागरिक आवाज’ समग्र सङ्खुवासभा इतिहासको आँखीझ्यालको रुपमा हेर्न सकिन्छ। साथै यस पुस्तकलाई अन्य जिल्ला लगायत देशकै लागि पनि प्रेरणादायी हुन सक्छ।

राजेश्वर डी. श्रेष्ठ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *