मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
दोस्रो दिनको खेलमा को. मधेपुरा र मन्सापुरविजयी
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न दुई खेलमा वडा नं. ६ को. मधेपुरा र वडा नं ७ मन्सापुर विजयी भएको छ । शुक्रबारको पहिलो खेलमा को. मधेपुराले वडा नं. २ लौनियाँलाई २१ रनले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. ५ को. बर्साइनलाई ५ विकेटले पराजित गरेको छ ।पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गर्दै गरेको को. मधेपुराले निर्धारित १५ ओभरको खेलमा ८ विकेट गुमाई १०८ रन बनाएको थियो । खराब मौसमको कारण १५ ओभर खेलाईएको खेलमा को. मधेपुराका लागि आदित्य सिंहले एक छक्का र पाँच चौकाको मद्तले सर्वाधिक ३२ रन बनाए भने विष्णु यादवले एक छक्का र तीन चौकाको मद्तले २४ रनको योगदान दिए ।
लौनियाँकालागि शिव सुन्दर मण्डलले किफायति बलिङ्ग गर्दै २ ओभरमा १२ रन दिएर ३ विकेट हात पारे भने अजय मण्डलले २ तथा दिनेश मण्डल, रमानन्द मुखिया र दिलिप मण्डलले समान १/१ विकेट हात पार्न सफल भए ।जितकोलागि १०९ रन पछ्याएको लौनियाँ १५ ओभरमा ५ विकेटको क्षतिमा ८८ रन मात्र जोड्न सक्यो । जसमा दिलीप मण्डलले १४, अभिमन्यु मण्डलले अविजित १२, दुर्गानन्द मण्डलले १२, शिव सुन्दर मण्डलले अविजित १० तथा विक्रान्त मुखिया र भगवानदेव मण्डलले समान १०/१० रनको योगदान दिए । को. मधेपुराकालागि प्रमोद यादव, शंकर मण्डल र मिथिलेश मण्डलले समान १/१ विकेट लिंदै आफ्नो टिमलाई विजयी गराउन सफल भए । उक्त खेलमा को. मधेपुराका आदित्य सिंहलाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले म्यान अफ द म्याच ट्रफी प्रदान गरे । यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको वडा नं. ५ को. बर्साइनले निर्धारित २० ओभरमा ६विकेट गुमाई ११० रन बनाएका थिए । जसमा ओपनरद्वयलक्ष्मण दास र प्रकाश मण्डलले समान २७/२७ रन बनाए भने दिपेश मण्डलले अविजित १४ रनको योगदान दिए ।
मन्सापुरका लागि सुबोध मण्डलले २ तथा देवकी नन्दन मण्डल, राजकुमार मण्डल, अजय मरिक र धिरज मण्डलले १/१ विकेट लिए । जितको लागि १११ रनको लक्ष्य पाएको मन्सापुरले १८ ओभर ५ बलमा ५ विकेट गुमाई विजयी भयो । मन्सापुरका देवकी नन्दन मण्डलले सर्वाधिक २८ रन तथा धिरज मण्डलले १७, सुबोध मण्डलले १२ र राजाराम मण्डलले अविजित १० रनको योगदान दिए ।को. बर्साइनका दिपेश सरदार र राहुल रजकले २/२ विकेट लिए भने सुभाष शर्माले १ विकेट लिए । उक्त खेलमा मन्सापुरका देवकी नन्दन मण्डललाई वडा नं. ७ का वडा अध्यक्ष गुलाब सिंहले म्यान अफ द म्याच ट्रफी प्रदान गरे । प्रतियोगिता अन्तर्गत शनिबार वडा नं. ४ कोइलाडीर वडा नं. ६ को. मधेपुराबीच पहिलो खेल तथा दोस्रो खेल वडा नं. ३ सकरपुरा र वडा नं. ५ को. बर्साइनबीच हुने प्रतियोगिता संयोजक झाले बताए ।