मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को आईपिओ बाँडफाँड भएको छ छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बिहान १० बजे आईपिओ बाँडफाँड गरेको हो ।
बाँडफाँड मोडल अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएका छन् । जस अनुसार १० कित्ताको लागि आवेदन दिने ३४ हजार ३० जनाले १० कित्ता, २० कित्ताको लागि आवेदन दिने २९ हजार ८ सय ५४ जनाले २० कित्ता, ३० कित्ताको लागि आवेदन दिने २० हजार २ सय ४८ जनाले ३० कित्ता, ४० कित्ताको लागि आवेदन दिने १६ हजार ९ सय ३४ जनाले ४० कित्ता र ५० कित्ताको लागि आवेदन दिने १ लाख ७९ हजार ९ सय ३८ जनाले ५० कित्ता नै शेयर पाएका छन् ।
६० कित्तादेखि २ लाख कित्ताको लागि आवेदन दिने ११ लाख ९४ हजार ४ जनाले पनि ५० कित्ता नै शेयर पाएका छन् । तर ति ११ लाख ९४ हजार ४ जना मध्येबाट गोलाप्रथाको माध्यम मार्फत ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता शेयर पाएका छन्। यस हिसाबमा ४ लाख ९२ हजार ७२ जनाले अधिकतम ६० कित्ता शेयर पाएका छन् ।
आईपिओमा १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएकोमा ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ७५ हजार ८ जनालाई शेयर बाँडफाँड गरिएको हो ।
आईपिओको नतिजा प्रकाशित भएपछि https://ipo.bizpati.com/ मार्फत हेर्न सकिने छ ।
बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।
हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब रहेको छ भने आईपिओपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ ।