मुलुक डेस्क,

वर्ष : ०३ |अंक : २१ | माघ २०७७,

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको शनिबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । नेपाली राजनीतिको इतिहासमा राजनेताको छवि बनाएका नेता स्व. गजेन्द्र नारायण सिंहको स्मृतिमा यो प्रतियोगिता हुदै आएको छ । नेपाली राजनीतिसंगै मधेशको मुद्दा उठाउने र सम्बोधन गराउने पहिलो श्रेय नेता सिंहलाई नै जान्छ । नेपाल सद्भावना पार्टीको संस्थापक अध्यक्ष सिंहलाई मधेशको मसिहाको रुपमा लिइन्छ । राजनीतिमा उच्च स्तरको पहिचान र संस्कार बनाउन सफल सिंह प्रजातन्त्र स्थापना देखिनै संसदमा प्रतिनिधित्व गर्दै मधेशको मुद्दा र सवाललाई देशमा स्थापित गराउन सफल भएका थिए । नेता सिंहको जन्म वि.सं १९८१ (सन् १९२५) र निधन २०५८ माघ १० गते (सन् २००२ जनवरी २३) भएको थियो । यसै दिनलाई सम्झदै यो प्रतियोगिता उनकै गाँउ कोइलाडीमा हरेक वर्ष हुने गर्दछ ।

वडा नं. ७ बभनगामाकट्टी खेल मैदानमा आयोजित कार्यक्रम बीच गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचिताकुमारी यादवले खेल सामग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरिन् । अध्यक्ष सिंह तथा उपाध्यक्ष यादवले एम्पायरहरु निरज सिंह, धर्मेन्द्र चौधरी र चन्दन यादवलाई जर्सी, बल तथा ब्याट हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष सिंहले खेलकुदको माध्यमबाट युवाहरुलाई एकजुट बनाउन सहयोग पुग्ने बताउनु हुँदै प्रतियोगिता आयोजनले प्रतिभा प्रष्फुटन हुन मद्त पुग्ने बताए ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई चयनगरि गाउँपालिकाको एउटा स्तरिय टिम बनाई विभिन्न ठाउँमा हुने प्रतियोगितामा सहभागी गराइने अध्यक्ष सिंहले बताए । गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादवले शिक्षा र खेलकुद एक अर्काको परिपुरक भएको बताउँदै पढाईसँगै खेलकुदको अति आवश्यक रहेको जनाए । वडा नं. ७ का अध्यक्ष गुलाब सिंहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वडा अध्यक्षहरु मनोज चौधरी, गोपी मण्डल, गोविन यादव, लक्ष्मीप्रसाद मण्डल खत्वे, सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादव, पूर्व क्रिकेटर राजकुमार दास सहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।

माघ १४ गतेदेखि सञ्चालन गरिने प्रतियोगिताको पहिलो खेल गत बर्षको विजेता कोइलाडी र तोपा तथा दोस्रो खेल तिलाठी र सकरपुराबीच हुने प्रतियोगिता संयोजक राजेश कुमार झाले जानकारी गराए । सो प्रतियोगितामा गाउँपालिकाको आठ वटै वडाको टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published.