संजीव सिंह | काठमाडौं,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्क: २० | मंसिर/पौष २०७७,

कला र कलाकार एक अर्काका प्रयायवाची हुन्। कुनै पनि लोक कलालाई परम्परादेखि आत्मसाथ गर्दै वर्तमानसम्म जर्गेना गर्नुमा कलाकारको प्रमुख र महत्वपुर्ण भुमिका हुन्छ। कलाकारविनाको कला झाँग्गिदैंन भने कलाविहिन भएर कलाकारमा निखार एवं जिवंतता आउन सक्दैन्। कला कलाकारको आत्मा हो। आत्माका लागि मनले गरिएको निरन्तर र अथक प्रयासले सुखानुभुती र सार्थकता पाउने गर्दछ। यस्तै प्रख्यात लोककला ‘मिथिला कला’ लाई देश विदेशसम्म प्रर्दशित गर्दै गरेको प्रयत्नशिल कलाकार हुन् – अजितकुमार साह।

मिथिला कलालाई रङको छिटाले कोर्दै मौथिली संस्कार र संस्कृतीलाई विश्वसामु चिनाउँदै गरेका आर्टिस्ट अजितको जन्म २०२४ सालमा जनकपुरमा भएको हो। विगत ३५ वर्षदेखि मिथिला पेन्टिङ गर्दै आएका उनले कलामा औपचारिक शिक्षा लिएका छैनन्। शिल्पी–दक्षता र सिर्जना–क्षमताले अटुट भरिएका अजितले अग्रज र आमाको कार्यलाई पछयाउदैं आफुलाई यो कलामा पोख्त पारिसकेका छन्। मिथिला कला विश्वकै उत्कृष्ट र प्राचिन कला हो। त्रेतायुगमा राजा जनककी पुत्री सीताको स्वयंवर र विवाहबाट यस लोककलाको प्रार्दुभाव भएको मान्यता छ। विशिष्ट शैली मानव जीवनको सम्पूर्ण आयम र रितिरिवाजलाई रङ र रेखाको फरक प्रस्तुतीसंगै चित्रण हुने मिथिला लोककलालाई सम्पूर्ण र शिष्ट कला पनि भन्ने गरिन्छ। मैथिली चाडपर्व, संस्कार, रीतिरिवाज, रहनसहन, भोज, खानपान, जन्म, विवाह, व्रतबन्ध, कोहबरलगायत मृत्युसम्मको हरेक गतिविधिलाई क्यानभासमा, भित्तामा वा भौतिक वस्तुमा सहजै गहन तरिकाले आकर्षक एवं मनमोहक ढंगले कोरिने कला हो – मैथिली लोककला।

मैथिली कलालाई भावनात्मक कलासंगै जोडेर हेर्ने गर्छन् कलाकार अजित। उनका अनुसार रङको प्रयोग हुँदै आएको मिथिला कलामा आजभोली हल्का र कोमल रङको समायोजन अधिकतर हुन् थालेको छ। मिथिलाकलालाई विश्वभर चिनाँउने क्रममा उनले हालसम्म विश्वका करिब दुई दर्जन देशमा झण्डै ४५ एकल र ५० सामुहिक कला प्रदर्शन गरिसकेका छन्।

नेपाली बजारमा ४० प्रतिशत खपत हुने मिथिला पेन्टिङ विश्वबजारमा ६० प्रतिशतसम्म खपत हुन्छ। महिलाको प्रसव वेदनाजस्तै चित्र कोर्दा हुने गर्दछ र तत्पश्चात हर्षको बोध। प्रत्येक चित्रलाई गहन र सुझ्म तरिकाले कोर्ने बानी भएको बताउँछन् कलाकार अजित। पेन्टिङ गर्दा समय सिमाको हेक्का र ख्यालै नहुने बताउँछन्। पेन्टिङको गहिराई, रङको समायोजन, रेखावीचको तालमेल र साइजको अनुसार एउटा चित्र कोर्न कयौं दिनरात लाग्ने गर्दछ भने कुनै चित्र दुई/तीन घण्टा वा रातभरमै तयार हुने गर्दछ।

सानैदेखि चित्रकारिता गर्दै आएका अजितले कहिले युवा अवस्था र जवानी आयो गयो भन्ने पत्तै पाएनन्। कामको व्यवस्तता र व्यवसायिकरणले फुर्सत पाउनै गाह्रो उनको भनाई छ। ‘जनकपुर आर्ट एण्ड क्राफ्ट’ नामक संस्थामार्फत करिब तीन दर्जनलाई जनकपुरमै राजगरीको अवसर सिर्जना गराएका अजितको भविष्यको चाहना अनुरुप ‘मिथिला म्युजियम’ खोल्ने रहेको छ। थुप्रै बालबालिका र युवालाई प्रेरित गर्ने कलाकार अजितले उनीहरुलाई प्रशिक्षण पनि दिने गर्दछन्। उमेरले ढल्किदो अवस्थामा रहे पनि चित्र कोर्ने उनको ग्राफ उत्कर्षमा छ।

मिथिला कला नेपाल सरकार वा प्रदेश सरकारको प्राथमिकतामा नपरेको गुनासो गर्ने कलाकार अजित यसको संवद्र्धन र संरक्षणमा आफ्नो पत्नीसहित दिनरात लागिपरेका छन्। आफ्ना माता र पिताको इच्छा विपरित यस क्षेत्रमा लागेका अजित आफ्नो कार्यबाट संतुष्ट छन्। नाम र दाम दुवै कमाउन सफल उनले नेपाल सरकारबाट अनेकौं उपाधि समेत पाइसकेका छन्।

राष्ट्रिय प्रतिभा पुरस्कार २०६३, लोककला प्रतिभा पुरस्कार २०६९ (नाफा), लोककला विशषे पुरस्कार २०७१ (नाफा), साना हस्तकला प्रथम पुरस्कार २०६२, उत्कृष्ट उद्यमी पुरस्कार २०६३/०६४/०६६, साना हस्तकला लगायत उनेकौं घरेलु पुरस्कार र उपाधी जितेका छन्। १७ औं अन्तर्राष्ट्रिय मैथली सम्मेलन २०१९ मा मिथिला रत्नको उपाधी जित्न सफल आर्टिस्ट अजितले अन्तर्राष्ट्रिय जगतमा पनि अनेकौं उपाधी र पुरस्कार जित्न सफल भएका छन्।

उपाधी र पुरस्कारले थप उर्जा र साहस प्रदान गरेको र भविष्यमा मिथिला कला मार्फत निरन्तर आफ्नो प्रयासलाई जारी राख्ने लक्ष्य रहेको बताउँछन् कलाकार अजितकुमार साह।

Leave a Reply

Your email address will not be published. Required fields are marked *