सुजीतकुमार झा,
वर्ष: ०३ | अङ्क : २० | मंसिर/पौष २०७७,
नेपाल भारत सीमा खोलाउन नाकामै आन्दोलन,
बेटीरोटीको सम्बन्ध प्रभावित,
सीमा खेल्दा कोरोना फैलिने डर ?
कोरोनाका कारण केही महिना देखि नेपाल भारतको सीमा सिल भएपछि सर्वसधारणलाई समस्या भएको भन्दै सीमा क्षेत्रका स्थानीयवासी आन्दोलित भएका छन। प्रदेश २ को विभिन्न नाकामा केही सातादेखि धर्नाको कार्यक्रम सीमा क्षेत्रमा भइरहेको छ।
नेपाल भारत खुल्ला सीमा संवाद समूहको नेतृत्वमा भइरहेको सो धर्नामा स्थानीयवासी र मधेशवादी दलका नेताहरुको पनि सहभागिता रहने गरेको छ। समूहका केन्द्रिय अध्यक्ष राजिव झाले सीमा खुल्ला नभएसम्म धर्ना लगायत शान्तिपूर्ण आन्दोलन जारी रहने वताएका छन। अहिले प्रदेशका ८ जिल्लाको विभिन्न नाकामा धर्ना कार्यक्रम चलिरहेको बताउँदै उनले भने कोरोनाको नाउँमा नेपाल सरकारले नेपाल भारत सीमामा सिल गर्ने टेष्टिंग गरेको छ। हुनत नेपालगञ्ज, भैरहवा र बिराटनगरमा पनि यसप्रकारको आन्दोलन शुरु गरएको छ।
सीमा नाका लामो समयदेखि बन्द रहँदा सीमा क्षेत्रका बासिन्दा समस्यामा परेका छन्। नेपाल–भारत सीमा बन्द रहेका कारण सीमावर्ती क्षेत्रका नागरिकलाई व्यापार–व्यवसाय, नाता–सम्बन्ध कायम राख्न समस्या भइरहेको जनगुनासो व्याप्त छ। नेपालको सीमावर्ती क्षेत्रका बासिन्दामध्ये कयौँको भारततिर वैवाहिक सम्बन्ध छ। नाका बन्दका कारण उक्त सम्बन्धमा पनि निकै समस्या आएको छ। हिँडेर आउजाउ गर्न त्यति रोकटोक नभए पनि गाडी आउजाउमा पुरै रोक लगाइएको छ, जसले गर्दा पछिल्लो समय दुई देशका नागरिकबीच वैवाहिक सम्बन्धमा प्रत्यक्ष कठिनाइ भएको छ। जन्ती र बेहुलन प्रायः गाडीमा आउँछन तर यहाँ बेहुलाको गाडी आवतजावतमा प्रशासन प्ररीबाट पूर्णरुपमा बन्देज लगाइएको छ। भान्जीको विहे थियो महोत्तरीको एकरहियाबाट जन्ती लिएर भारतको मधुबन्नी जानु थियो सीमासम्म एउटा गाडी लिए फेरी भारतमा अर्को गाडी लिनु परेको स्वास्थ्यकर्मी अरबिन्दकुमार झाले बताए।
महोत्तरीको कटैया छोटी भन्सार नजिक धर्ना कार्यक्रमका संयोजक रोशनसिंह राणाले सर्वसाधारणलाई सीमामा आउन जान रोक लगाउने र तस्करलाई छुट दिने यो कस्तो सिल रहेको प्रश्न गरेका छन। दर्जनो तस्करहरुको तस्करी चलिरहेको छ। सीमामा साइकल र मोटरसाइकलमा तस्करी गरिरहेको त्यतिकै देख्न सकिन्छ। प्रहरी प्रशासनको मिलोमतोमा तस्करी हुने भएकाले त्यसलाई कसैले रोकदैन।
आन्दोलनमा राजनीतिक दलका व्यक्तिहरुको पनि सहभागिता देखिएको छ। जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोजकुमार चौधरीले यदि चाडै सरकारले सीमा खुला नगरे हामी आफै खुल्ला गराउने चेतावनी दिएका छन। सीमामा स्वास्थ्य इकाई राखेर भएपनि सीमा खोलाउन मांग गरिएको छ। नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध छ, त्यसमा पनि नेपालको तराई मधेशसँग भारतको त्यस्तो सम्बन्ध बढी छ। तराई मधेशका चेलीबेटीको बिहे भारतमा र भारतका चेलीबेटीको बिहे नेपालमा भएको छ।’ यस प्रकारको सम्बन्धलाई निरुत्साहित गर्न संघीय सरकारले अनावश्यक रुपमा सीमा नाकाहरु बन्द गरेको धेरैको आरोप रहेको छ। तर कोरोना फैलियो भन्ने के गर्न त्यो प्रश्नमा धेरै अनुत्तर देखिएका छन।