उपेन्द्र खनाल – तनहुँ,
वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७,
तनहुँसहित गोरखा, लमजुङ, मनाङ र पुर्वीनवलपरासीको अनुगमन गर्ने गरी ०७५ कार्तिक १५ गते देखि तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको हो । कार्यालयले तनहुँमा नियमित अनुगमन गर्दै आएको छ भने गोरखा र लमजुङमा कहिलेकाहीँ मात्र अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लाको अनुगमन गर्ने जिम्मेवारी पाएको भएपनि कर्मचारी अभावका कारण सबै जिल्लाको अनुगमन गर्न सकेको छैन । कार्यालयले अहिले तीन जिल्लाको मात्रै अनुगमन गर्दै आएको छ । दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नहुँदा अनुगमन प्रभावित बनेको हो । पाँच जिल्लाको गरी झन्डै दश हजार खाद्य व्यवसायीको अनुगमन गर्नुपर्ने हुन्छ तर कार्यालयमा पर्याप्त कर्मचारी छैनन् जसका कारण बजार अनुगमन प्रभावित बनेको हो ।
आर्थिक वर्ष ०७७/०७८ मा गोरखा र लमजुङमा कार्यालयले एकएकपटक मात्रै अनुगमन गरेको छ । कार्यालयले गतवर्ष गोरखामा तीन पटक अनुगमन गरेको भएपनि आर्थिक वर्ष ०७७/०७८ मा एकपटक मात्रै गरेको छ । त्यस्तै लमजुङमा पनि गतवर्ष दुईपटक अनुगमन भएको थियो तर यो आर्थिक वर्षमा एक पटक भएको छ ।
तनहुँमा मात्रै दुई हजार भन्दा बढी खाद्य व्यवसायी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेल बताउँछन् । ‘यहाँ हप्तामा दुईतिन दिन अनुगमन गरिदै आएको छ । लमजुङ र गोरखामा पनि कहिलेकाहीँ गर्छौ तर, पुर्वीनवलपरासी र मनाङमा अनुगमन गर्न सकिएको छैन । यहाँ नजीक भएकाले पनि हप्तैपिच्छे अनुगमन गरेका हौ प्रभावकारी पनि भएको छ । तर, अन्य जिल्लामा अनुगमनलाई प्राथमिकता दिन सकेका छैनौ । कार्यालयमा म एक्लै छु । एक्लैले जताततै भ्याउनुपर्ने बाध्यता छ तर सकिएको छैन,’ उनले भने, ‘त्यसैले दरवन्दी अनुसारको कर्मचारी भए अनुगमन गर्न सहज हुन्थ्यो । कार्यालयमा एउटा कार्यालय सहायक मात्र छन् । एउटाले कार्यालय कुर्नुपर्छ, जताततै म आफै पुग्नुपर्छ तर सकिएको छैन । कार्यालयमा तीन जनाको दरबन्दी हो तर दुई जना प्राविधिक कर्मचारी खाली छन् । कर्मचारी अभावका कारण पनि जम्मै जिल्ला पनि पुग्न नसकिएको हो ।’ कार्यालयमा चार पांग्रे सवारी साधन भएपनि सहज हुन्थ्यो तर छैन । बाहिरी जिल्लामा जानुपर्दा भन्ने बित्तिकै सवारी साधन पाइदैन । भाडाको सवारीसाधन रिजर्ब गरेर जाँदा चर्को शुल्क लाग्छ । एकातिर कर्मचारीको अभाव छ भने अर्कोतिर सवारी साधन छैन जसका कारण पनि बाहिरी जिल्लाको अनुगमन प्रभावित बनेको पोख्रेलले बताए ।
खाद्य स्वच्छता कायम राख्न कार्यालयले होटेल, किराना पसल तथा उद्योगहरुमा नियमित अनुगमन गर्दै आएको छ । कालाबजारी र महंगीलाई न्यूनीकरण गर्न पनि बेलाबेलामा अनुगमन आवस्यक छ । तर, जनशक्ति अभावका कारण अनुगमन सोचेअनुरुप भएको छैन । अव पुस महिनामा मनाङमा अनुगमन गर्छौ कार्यालय प्रमुख पोख्रेल भन्छन् । ‘अहिलेसम्म एक पटक पनि मनाङमा अनुगमन भएको छैन अव हामीले मनाङ अनुगमनलाई प्राथमिकता दिन्छौ,’ उनले भने ।
पाँच जिल्लाको अनुगमन गर्ने जिम्मेवारी पाएको भएपनि कार्यालयले कर्मचारी अभावका कारण गर्न सकेको छैन । एउटै कर्मचारीले जम्मै जिल्लामा पुग्नुपर्ने बाध्यताका कारण पनि समस्या भएको हो । सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न, खाद्य पदार्थमा कुनै अवान्छनिय मिसावट रोक्न र खाद्य पदार्थको उचित स्तर बनाइ राख्नको निमित्त कार्यालयले नियमित अनुगमन गर्दै आएको छ ।