मुलुक डेस्क,
वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७
कोरोना कालमा पनि मिस नेपाल प्रतियोगिता सम्पन्न भएको छ । मिस नेपालमा यस पटक २० जना प्रतिस्पर्धी सहभागी थिए । देशभरबाट आएका २ सय भन्दा बढी प्रतियोगीमध्ये २० जना प्रतिस्पर्धीविचको प्रतिस्पर्धामा २३ वर्षिय नम्रता श्रेष्ठले मिस नेपालको उपाधि जित्न सफल भइन । काठमाण्डौकी नम्रता समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेकी छिन् साथै उनको उचाई ५ फिट ५ इन्च र शाररिक बनावट ३४–२४–३५ रहेको छ । काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा नम्रताले नै मिस नेपाल वर्ल्डको उपाधि जितिन् ।
कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् । नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।
नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितिन् । अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी छनौटमा परेका थिए ।
यस्तै, यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितिन् । सिमल, सुप्रिया र सन्ध्याले टाइटलसँगै साढे २ लाख पुरस्कार एवं अन्तरराष्ट्रिय प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
यो बर्षको ‘मिस ब्यूटी विथ दि प्रपोज’को उपाधि श्रद्धा शर्माले जितिन् । यस्तै, ‘मिस हेल्दी’ नग्मा सरकार, ‘मिस फोटोजेनिक’ आशिका श्रेष्ठ, ‘मिस पपुलर च्वाइस’ श्रद्धा शर्मा, ‘मिस ग्ल्यामर’ योजना भट्टराई, ‘मिस स्टाइलिस’ मेरिसा सिंह सुवाल, ‘मिस वेमन अफ सब्स्टान्स’ सन्ध्या शर्मा, ‘मिस इन्टिलेक्चुअल’ नम्रता श्रेष्ठ, ‘मिस फिटनेश’ सुवांगी खत्री र ‘मिस टुरिज्म’को टाइटल रिया श्रेष्ठले जितिन् । सब–टाइटल विजेताहरुले जनही २५ हजार प्राप्त गरे ।
यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा निर्णायकको रुपमा शिक्षित भट्ट, तुलिका अग्रवाल, करण वैद्य, निकिता चण्डक, पुकार मल्ल, राज राना, प्रिती सिटौला, सुमन शाक्य, स्वस्तिमा खड्का र प्रिया अधिकारी रहेका थिए ।