रामअधार साह,
वर्ष : ०३ | अङ्कः २० | मंसीर २०७७
‘तमसोमा ज्योतिर्गमय’ अर्थात अन्धकारमा उज्यालोको किरण छर्नु । समाज र व्यक्तिलाई शिक्षा र संस्कारमार्फत सुसंस्कृत, परिष्कृत एवं सभ्य बनाउने मूल मर्मका साथ महोत्तरीमा स्थापित ‘श्री दुर्गा मा.वि. विद्यालय’ मनराका पूर्व विद्यार्थीहरुद्वारा विद्यालय प्रांगनमा विद्याकी देवि माता सरस्वतीको मन्दिर निर्माण हुने भएको छ । नेपालकै पुरानो र प्रतिष्ठित विद्यालयमध्येमा आफुलाई स्थापित गराउन सफल यस दुर्गा मा.वि. विद्यालयको स्थापना वि.सं. २००२ सालमा भएको थियो । हालसम्म झण्डै दश हजारको हाराहारीमा कूल विद्यार्थी पढाउन सफल यस विद्यालयका शिक्षित विद्यार्थीहरु राज्यका हरेक क्षेत्रमा र विदेशमा पनि दह्रो उपस्थिती जनाइसकेका छन् ।
वि.सं. २०२१ सालदेखि एस.एल.सी. शुरुवात भएको यस विद्यालयमा पहिलो पटक जम्मा ४ जना परिक्षार्थी सहभागी भएका थिए । हाल यस विद्यालयमा +2, स्नातक तथा प्राविधिक विषयहरुको कक्षा संचालित छ । २०४१ सालमा विद्यालय हातामा सरस्वतीको मन्दिर निर्माणको संकल्प र शिलान्यास भएता पनि आजसम्म निर्माण हुन सकेको छैन । यसै क्रममा २०४१ सालका विद्यार्थीहरु द्वारा छठ पर्वको सन्दर्भमा आपसी भेटघाटका क्रममा सो अधुरो कामलाई आँउदो दुई वर्षभित्र मुर्त रुप दिने निर्णय गरेका छन् । एस.एल.सी. दिएको ३५ वर्षपछि २०४१ सालका विद्यार्थीहरुको एल्मुनी गठन गरिएको छ । २०७६ मा शुरु भएको यस समुहको यो दोस्रो भेलाद्वारा मन्दिर निर्माणको कार्यलाई सो ब्याचकै विद्यार्थी एवं वर्तमान मनरा शिसवाका मेयर संजय कुमार सिंहको अगुवाईमा सम्पन्न हुने जानकारी राजीव सिंह राजपुतले जनाएका छन् । २०४१ सालमा कूल ४० जना विद्यार्थी सहभागी रहेका थिए जसमध्ये अधिकांस इन्जिनियर, नेता एवं कर्मचारीे रहेको छ ।
२०४१ सालको समुह झै अन्य ब्याचका विद्यार्थीहरु पनि आ–आफ्नो एलमुनाई बनाएर आपसी भेटघाट एवं सौहादर्य लगायत ज्ञान र विकासका कार्य गरे नगर समाजको ख्याती बढ्ने इं. राजीव सिंह बताउँछन् । सामाजिक, शौक्षिक र आर्थिक उन्नतीमा टेवा पुर्याउने उद्देश्यले रहेको एवं भविष्यमा समुन्नत समाजको निर्माणमा सहयोग हुने बताउँछन् नेता राजेन्द्र साह । भविष्यमा आधुनिक लाइब्रेरी र कन्या पाठशालाको अवधारनालाई अगाडी बढाउने गुरु योजनाका साथ २०४१ सालका समुह रहेको छ । राष्ट्रको सर्वाङगिन विकासमा टेवा पुर्याउने लक्ष्यसाथ विद्यालय र नगरपालिकाको सहकार्य एवं सहयोग जरुरी भएको बताउँछन् सो ब्याचकै मनोज कुमार झा ।