सम्पादकीय,
वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७
दिन प्रतिदिन कोरोनाको कारण मृत्यु हुनेको संख्या बढ्दो र अत्यासलाग्दो छ। सम्पूर्ण नेपालीको स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने सरकार भने आत्मसमर्पण गरे झैं हात उठाएर निर्लज्जपन देखाई रहेको छ। जनता उपचार पाउन कहाँ जाऊँ सरकार भनेर सोध्दै गर्दा सरकार भने मृत्युको आंकडा देखाउने एउटा निकाय त अर्को निकायलाई दायित्व पंछाउदै लाजै पचाएर वक्मफुस्से भाषण बजाइरहेको छ। त्यति मात्र नभएर जनतालाई महामारीको भड्खालोमा देख्दा देख्दै सरकारका नेतृत्व कर्ता भने वालुवाटार, भैंसेपाटी, आदिको अन्र्तद्वन्द र उचालने – पछार्ने रणनीतिमै व्यस्त छन्। यी अवस्था नेताहरुका लागि नभए पनि स्वाभिमान नेपालीका लागि लाजमर्दौ हुन पुगेको छ।
कोरोना आक्रमण सुरु भएको सात महिना पुग्दा पनि सरकारले नागरिकलाई उपचार बारे आश्वस्त पार्न नसकेको मात्र नभएर विश्वास समेत दिलाउन सकेको छैन। पाइलै पिच्छे फेरिरहने सरकारको बोलीले नागरिकमा सरकार प्रति वितृष्णा पैदा गरिरहेको छ। अब सरकार जनताका लागि नभए लोभीपापी मन भएका नेताहरुको स्वार्थ पूर्ति गर्ने वैधानिक निकाय जस्तै बन्न पुगेको छ। नागरिक अन्यौलग्रस्त छन् कि सरकारको कुरामा विश्वास गर्ने कि आफै निर्णय गर्ने!
सरकार कहाँ छ? सरकार के गर्दै छ? यो प्रश्न कसलाई सोध्ने? यसको जवाफ कसले दिने? शितल निवास, वालुवाटार, सिंहदरवार के का लागि र कसका लागि? यसको जवाफ के हो? घरघर र टोलटोलमा यो प्रश्न उठिरहेका छन् तर जवाफ निरुत्तर।
भोको पेट लिएर टुँडिखेलमा पिडित नेपाली नागरिक, कोरोना जोखिम मोलेर ‘मुग्लान’ पस्न सीमामा लर्को लाग्ने निरिह नेपाली नागरिक अनि ठूलठूला अस्पताल र स्वास्थ्य केन्द्रहरुका ढोकाबाहिर कोरोनाले मृत्युसंग जुध्दै रित्तिएका खलती सहित जीवन मागी रहेका, विना पहुचका सोझा नेपालीको क्रन्दन देख्ने, सुन्ने र बुझने जिउँदो मनमुटु भएको सरकार कहि कतै छ कि? खोजी जारी छ ..