राजेश्वर डी. श्रेष्ठ,
वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७
हुन त उनले संख्यामा धेरै गीत गाएका छैनन् तर जति गएका छन्, थोरै संख्यामा पनि आफ्नो फरक पहिचान स्थापित गरेका छन्। अर्थात, किरण प्रधान। ठेट भाषामा भन्नु पर्दा नारायण गोपाल, प्रेमध्वज प्रधान, फत्तेमान, योगेश वैध, वच्चु कैलाश जस्तै पुराना गायक। सम्झदा पुराना गायकका रुपमा सम्झेपनि उनीद्वारा गाइएका तिनै पुराना गीतहरु भने मन मष्तिस्कमा नयाँ जस्तै बनेर जीवन्त गुञ्जिरहेका हुन्छन्। प्राय आवाजमा मात्र बढी सुनिने गायक किरण प्रधानासंग हाम्रो अर्थात ‘मुलुक टाइम्स’ को प्रत्यक्ष भेटघाट भने पहिलो पटक हुदैं थिया, उनकै निवास स्वयम्भूमा।
शालिन, भद्र, नम्र अनि हसिलो मुहारका उनै पुराना गायक किरण प्रधान, जसलाई हामी ‘भूल हो तेरो भागी हिड्नु’ शब्दका गीतले चिन्ने गर्छौ। उनैसंग मिठो र सांगीतिक वातारणमा दुई धाराको सामिप्यता रह्यो। सांगीतिक यात्राको शिखर चढ्दै गर्दा अचानक घटेको एक दुखद् घटनाले त्यो यात्राले ‘यू टर्न’ लिन पुगे गायक प्रधान। २०१० श्रावण २८ गते बुबा जगत नारायण प्रधान र आमा लक्ष्मी प्रधानको प्यारो र ६ जना मामाका प्यारा भान्जाको रुपमा जन्मेका किरण सानोमा छुकछुके हुनाका साथै मकै चोरेर खाने गरेको सम्झनाका साथ आफ्नो सांगीतिक यात्राको किरण पोख्दै थिए। पढन्ते भएकाले डाक्टर हुने सोच पनि नदेखेका होइन रहेछन् किरण र उनका बुबा–आमाले। तर सानै देखि सांगीतिक तरङ्गमा तंरगिने किरणलाई संगित बाहेक अन्य केहीले प्रभाव पार्न सकेन रहेछ।
सत्र वर्षकै कलिलो उमेरमा वरिष्ठ संगीतकार नातिकाजी सामु भएको २०२७ सालको गायन प्रतियोगितामा प्रथम भएपछि उनको औपचारिक रुपमै गायन यात्रा आरम्भ भएको किरण बताउँछन्। ‘काली पारी दाई कति राम्रो’ , ‘मलाई त मेरो डम्फुको ताल’ बोलका गीत सुनाएर उनले नातिकाजीलाई मख्ख पारेका थिए। ‘लौ सुन म भन्छु मेरो राम कहानी’ गीत बीचमै रोकेर ‘ल भैगो’ भनेपछि अब चाँहि नातिकाजीले ‘फेल’ भन्ने भो भन्ने लागेको तर स्टुडियो बाहिर निस्के पछि ‘ल साह्रै राम्रो गाउँदा रहेछौ’ भने पछि भने आफु गायक बनेको सम्झने किरण प्रधान ‘भूल हो तेरो मागी हिड्नु’ बोलको गीतले आफुलाई निकै चर्चामा पु¥याएको सम्झे।
‘भूल हो तेरो’ गीतलाई गीति यात्राको टर्निङ्ग प्वाइन्ट मान्ने यिनै किरणले त्यसपछि ‘भञ्ज्याङको डिलमा बसी’, ‘पत्थरको मुटु’, ‘टोलाउँदै हिड्छ विधाता’, ‘के सोचे मैले के भयो अहिले’ जस्ता गहिरो र मर्मस्पर्शी अनि सुनी रहु लाग्ने जीवन्त गीतहरु दिए। त्यति मात्र नभएर गायन यात्राको मध्यतिर उनले धेरै चलचित्रहरुमा गीत गाएका छन्। धेरैले गायकका रुपमा मात्र चिनिने उनमा भने अन्य विधामा पनि कुशलता भएको कुरा उनीद्वारा निर्देशित ‘कस्तुरी’ चलचित्रबाट बुझ्न सकिन्छ।
अतितमा डुबुल्की मार्दै नेपालमै पहिलो पटक ‘प्रयास’ नामक भिडियो चलचित्र निर्माण गरेको सम्झे किरणले। ‘प्रयास’ पछि मात्र अन्य भिडियो चलचित्र बन्न थालेको पनि प्रष्टयाए।
ओहो, नेपालबाट ३६ घण्टाको रेल यात्रा पश्चात भारतको कलकत्ता पुगेर सम्झना फिल्मको ‘के सोचे मैले के भयो अहिले’ बोलको गीत रेकर्डिङ गरेको थिए। उनी सम्झदै भन्छन् ‘कति महेनत गर्नु पथ्र्यो, एउटा राम्रो गीत तयार पार्न। तर अहिले रातारात चर्चाको शिखरमा पुग्ने र केही समयपछि सामसुम भएर हराउने, अहिलेको सांगीतिक माहोल देख्दा भने उनी चकित मात्र होइन दुखित पनि देखिए।’ उनी भन्छन्, कहाँ महिनौ दिनका सामुहिक मिहिनेत अनि कहाँ टुक्रा टुक्रामा गीत तयार हुने जमाना।
किरण प्रधानमा संगीत प्रतिको आशक्तता यति सम्म रहेछ कि उनले आफ्नो विद्यालयका विद्यार्थीलाई संगीतको ज्ञान दिलाउन ‘संगित’ विषय अनिवार्य गरेका रहेछन्। त्यति मात्र नभएर सम्पूर्ण संगीत प्रेमी, संगित पारखी र संगित जान्न, बुझन र सिक्न सकुन भनेर वर्षौको मेहनत पश्चात ‘ससंगीत’ नामक पुस्तक पनि प्रकाशन गरे।
आफ्नो नाम जस्तौ किरण हजारौं विद्यार्थीलाई शिक्षाको किरण दिने क्रममा दत्तचित्त छन्। उनी भन्छन् ‘२०४७ मा बुवाको आकस्मिक निधन भएपछि मैले गायन यात्रा चट्टकै बन्द गरी विद्यालय संचालन गर्न वाध्य भए।’ बुवाले स्थापना गरेको होली गार्डेन इङ्गलिस स्कुलमा पत्नी दिव्यलक्ष्मी श्रष्ेठको समर्पण र साथमा विद्यार्थीको भविष्य उज्जवल पार्ने उद्देश्यका साथ सांगीतिक वातावरणमा निरन्तर पाइला चाली रहेका छन् गायक – किरण प्रधान !