मुलुक डेस्क,
वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७
जेपी आन्दोलदेखि प्रभावित र सक्रिय राजनीतिज्ञ चन्द्रीका प्रसाद सिंहको निधन भएको छ। नेपाल सद्भावना पार्टीबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका नेता सिंह मधेश आन्दोलनका क्रममा रौतहटमा आफ्नो गहिरो प्रभाव देखाएका थिए। वि.सं. २०११ कार्तिकमा जन्मेका नेता सिंहको देहवसान हृदयघातको कारण मोतिहारी अस्पतालमा वि.सं. २०७७ कार्तिक ५ गते भएको हो।
६६ वर्षिय सिंह रौतहटलगायत प्रदेश नं. २ का प्रभावशाली नेतामध्ये अग्रपंक्तिमा थिए। रौतहट सरुहठठ निवासी नेताको सक्रिय राजनीति वि.सं. २०३५ बाट शुरुवात भएको थियो। गाँउ पञ्चायत मुखिया हुँदै दुई पटकसम्म जिल्ला पञ्चायत सदस्य समेत भइका थिए। दवंग छवि र कुशल नेतृत्वका धनी सिंह २०४३ सालमा उप–सभापति एवं २०४४ मा कार्यवाहक सभापति समेत बने। २०५२ सालमा नेपाल सद्भावना पार्टी संसदीय समिति अध्यक्ष बनेका नेता सिंह पार्टी अध्यक्ष गजेन्द्रबाबु बाट अति नै प्रभावित थिए। उनी २०५७ सालमा रौतहट सुकुम्बासी आयोगका सभापति समेत रहेका थिए। एक पत्नी, तीन पुत्र र एक पुत्रीका पिता सिंहको निधनले रौतहटका अनुभवी र खरो नेताको अभाव रहने छ।