ऋतिक यादव,
वर्ष: ०३ | अङ्गः १९ | असोज/कार्तिक २०७७
मधेस आन्दोलनको मध्यान्तरमै प्रकाशित पत्रकार गिरीश गिरीको पुस्तक वीरगन्ज – मेरो सहरको कथा। प्रमुख आर्थिक, व्यवसायिक तथा व्यापारिक नगरी वीरगन्जको जीवनी, आत्मकथा अथार्त बायोपिक हो। डेढ दशक कान्तिपुर, त्यसपछि नागरिक र हाल डिजिटल पत्रिका सेतोपाटीसँग आबद्ध रहेका गिरीले झण्डै अढाई दशकसम्म वीरगन्जबाटै पत्रकारिता यात्रा थालेका थिए। वीरगन्जेली परिवेशको कथा भनिएपनि यसले समग्र तराई मधेस र भारतका सिमावर्ती क्षेत्र रक्सौल र बैरगनियासमेतको जनजीवन, त्यहाँको राजनीतिक तथा सामाजिक वस्तुस्थितिसँग पाठकलाई साक्षात्कार गराउने जर्मको गरेको छ।
साहित्यकार धनुषचन्द्र गोतामेको मदन पुरस्कार जित्न सफल उपन्यास घामका पाइलाहरु पढेर वीरगन्ज शहरको आकृति दिमागमा जमाएकालाई वीरगन्ज पुस्तकले गैरआख्यानका माध्यमबाट यस शहरका बारेमा थप गम्भिर लेन्सले जान्ने, बुझ्ने र स्पर्श गर्ने माध्यम बन्छ भन्नुमा दुईमत छैन। गिरीले थुप्रै डाइमेन्सन प्रयोग गरेर गुलजार वीरगन्जलाई शब्द रेखामा कोरेर गुलजार लवजमा नै प्रस्तुत गरेका छन्। पुस्तक पढ्दा शब्दको सिनेमामा वीरगन्ज नगरको परिक्रमा गरेको नोष्टाल्जियामा पुगिन्छ।
पुस्तक थुप्रैकारणले पठनीय र संग्रहनिय छ। पुस्तकमा एउटा पहाडे लेखकले वीरगन्ज क्षेत्रका रैथाने मधेसीको प्रसङ्गलाई कुनैपनि ‘रिर्जभेसन’ नराखी पस्कने चेष्टा गरेका छन्। वीरगन्जलाई न्यायोचित तवरले पर्दाफास गर्ने मामिलामा लेखक निकै उदार देखिन्छन्। यो नै लेखकको खुबी हो, जुन उनको कट्टर इमान्दारिताको प्रतिफल पनि हो। यस खुबीले पुस्तकलाई घन्टाघर र शंक्राचार्य गेट जतिकै उँचाइमा पुर्याएको छ भन्दा गलत ठह्र्दैन। नेपाली मेनस्ट्रीम मिडियाको परम्परागत संस्कारमध्ये पर्दै आएको पूर्वाग्राही चेतलाई लेखकले ठाडै चुनौती दिएका छन् र सन्तुलित विचार प्रकट गरेका छन्। पहाडको आँखीझ्यालबाट मधेसको चित्रण गजबको छ, रोमाञ्चक छ।
मधेस आन्दोलनको दौरानमा आन्दोलनका विभिन्न अव्ययहरु, नाकाबन्दीका कारण कथित भारतीय हस्तक्षेप, प्रहरी र प्रशासनको आन्दोलनकारीमाथिको दमनकारी नितिबारे तत्कालिन मिडियाले काठमाडौँमा फैलाएको भ्रामक र अर्धसत्य समाचारलाई चिर्दै यथार्थताको परिधिमा रहेर लेखकले प्रयोग गरेको एप्रोच, मधेस आन्दोलन नबुझेका निम्ति रामवाण सावित हुन सक्छ। काठमाडौं केन्द्रीत मिडियाले बुझाएको मधेस आन्दोलनको मुलभुत परिभाषा त्रुटिपूर्ण रहेको र यसमा परिष्कारवादको शैलीलाई उद्घाटन गराएर मधेसीजस्तै मधेसको मुद्दा आत्मसात गर्न यस पुस्तकले नयाँ पुस्तालाई सघाउँछ र बाध्य बनाउँछ पनि।वीरगन्जलाई देखाउने क्रममा गिरीले उतारेका पात्रहरूले नै यो सहरको कथा भन्छन्, अवस्था बुझाउँछन्। लेखकले पुस्तकमार्फत छोटेलाल, पशुपति रौनियार, विनोद परियार, सुखाडी मामा, उतमसागर डंगोल, भजन सिंह, प्रितम सिंह इत्यादिजस्ता पात्रका विभिन्न प्रवृत्तिको बयान प्रस्तुत गर्दै वस्तुपरक राजनीतिक र सामाजिक सन्देश प्रवाह गराएका छन्।
राजनीतिक प्रदर्शनहरूको पृष्ठभूमीमा लेखिएकाले वर्णनको मूलधार अन्दोलनमा लपेटिएको भएतापनि गैर–राजनीतिक प्रसंगहरुले समेत पुस्तकमा समुचित स्थान प्राप्त गरेको छ। नाटकमा देवताको भूमिका निर्वाह गरेको, रक्सौलको कृष्णा टकिजमा शोले फिल्म हेरेको, रेलमा बिना टिकट यात्रा गरेको तथा राजकुमार धीरेन्द्र पछ्याउँदाको क्षण लगायतका थुप्रै रोचक विवरणले भरिएको पुस्तक पढाईको अनुभव रोमान्चक, आनन्दमय र विनोदपूर्ण हुन्छ। बिचबिचमा लेखकले हास्यचेत फैलाएका छन्, यसले पुस्तकलाई अतिरिक्तमा व्यङ्ग्यात्मक दस्तावेज पनि बनाएको देखिन्छ।
गुलजार वीरगन्जसँग जोडिएका यावत् कुरा विवाहमा ब्याण्ड बजाउनेदेखि कपाल काट्ने सैलुन चलाउने हजामसम्मका पात्रहरुको पनि पुस्तकमा ससम्मान चर्चा हुनुले यसमा समाजका हरेक तहतप्काका व्यक्तिहरु विना विभेद अटाएका छन्। लेखकले समाजका हरेक वर्गलाई उतिकै सशक्त रुपमा संरचनात्मक प्रकार्यवादको सिद्धान्त बमोजिम उतारेका छन्। यो वीरगन्ज क्षेत्रको मौलिक समाजशास्त्रको उत्कृष्ट प्रदर्शन हो भन्दा अनुपयुक्त हुँदैन। वीरगन्जमा अवस्थित भारतीय महावाणिज्य दूतावासका असामान्य हर्कतदेखि धार्मिक कारणले पहाडे टोपी लगाउन इन्कार गर्दा नागरिकताबाट बञ्चित शिख समुदायको पिडादायी गाथा कथामा समाविष्ट छ। अङ्गिकृत नागरिकतासँग जोडिएका शानदार भ्रमलाई चिरफार गर्दै लेखकले त्यसको स्वस्थ बहस गरिदिएका छन्। तात्कालीन परिवेशमा गरिएको विश्लेषण भएता पनि त्यो आजका दिनमा पनि त्यतिकै सान्दर्भिक हुन्छ।
वीरगन्ज क्षेत्रका तात्कालीन एसपीहरु रमेश खरेल र राजेन्द्रमान श्रेष्ठको पेशागत निष्ठा, इमान्दारिता र बफादार कार्यशैलीको बखानले वीरगन्जेली प्रहरी प्रशासनसँग पाठकलाई अवगत गराउँछ। अर्का एसपी देवेश लोहनीको अपरिपक्वता, असंयमता र गैरजिम्मेवारीपनले मधेस आन्दोलनको बखत प्रहरीले ताकीताकी मधेसीको टाउका र छातीमा गोली हानेको पिडादायी सन्दर्भ कथामा पढ्दा भावविह्वल भइन्छ।पुस्तकलाई वीरगन्जको इतिहासको दस्तावेजीकरणको एउटा उत्कृष्ट संग्रहित ‘इतिवृत्त‘ भन्न सकिन्छ। वीरगन्जलाई उधोगगन्ज र व्यापारगन्ज बनाउन पहाडका नेवारी र भारतको राजस्थानबाट सिधै बर्मा म्यानमार भएर आएका मारवाडी र पञ्जाबका शिख समुदायले निर्वाह गरेका अहम भूमिकाबारे पुस्तकमा सन्तुलित वृतान्त प्रस्तुत गरिएको छ।
नेपालको राजनीतिक इतिहासमा वीरगन्जको कुर्बानीलाई लेखकले बडो सुन्दर लवजमा कोरेका छन्। कांग्रेसले सशस्त्र संघर्ष गर्ने निर्णय गरेको बैरगनिया सम्मेलनको मास्टरप्लान तयार गराउने सहर र नेपाली कम्युनिष्ट आन्दोलनको विभिन्न आरोह – अवरोहमा वीरगन्जको अद्धितीय लगानीलाई लेखकले प्रष्टयाएका छन्।
त्यसैगरी सदभावना परिषद्को ब्लुप्रिन्ट बनाउनेदेखि निष्ठावान राजावादीको गणतन्त्रविरोधी संघर्ष र मधेस विद्रोहसमेत वीरगन्जको अगुवाइमा भएको यथार्थतालाई पुस्तकमा उद्दृत गरिएको छ। पुस्तकका सुरुका परिच्छेदहरुमा छ्यापछ्याप्ती पुष्पलाल श्रेष्ठ , मनमोहन अधिकारी , तेजबहादुर अमात्य, कृष्ण प्रसाद भट्टराई, रामजनम तिवारी, भद्रकाली मिश्र, सुर्यबहादुर थापालगायतका पुराना स्थापित नेताहरुको वीरगन्जसँगको सम्बन्धहरु प्रस्ट्याउने प्रयत्न गरिएको छ।
पुस्तका पानामा वीरगन्जको स्थानिय राजनीतिक परिदृश्यलाई समेटेकाले स्थानियताको स्वादिला मिजाससहित थप गुलजार भएको छ। लेखकका पितासमेत रहेका वीरगन्जका पुर्व मेयर तथा त्यस्ताका चर्चित पत्रकार गोपाल गिरीसहित थुप्रै स्थानीय नेताको राजनीतिको चर्चा गरिनुको साथै उनीहरुको केन्द्रीय राजनीतिसँगको कनेक्सन पुष्टयाउनमा शब्दहरु खपत भएका छन्।
नेताहरु राजिव पराजुली, आत्माराम ओझा, गोखुल कुर्मी, लक्ष्मण लाल कर्ण, भाग्यनाथ गुप्ता, विमल श्रिवास्तव लालबाबु राउत, शान्ति कार्की प्रदिप यादव, राजेशमान सिंहहरुको राजनीतिक गतिविधि पनि कथाका अंशियार बनेका छन्। यसरी वीरगन्जेली स्थानीय राजनीतिको विगत र वर्तमान बुझ्न यो कृति पर्याप्त छ र यसलाई एउटा राजनीतिक दस्तावेज मान्न सकिन्छ।
वीरगन्ज क्षेत्रका शैक्षिक इतिहासबारे पुस्तकले प्रगतिशील तथ्य र तर्क पेस गरेको देखिन्छ। त्रिजुद्ध हाइस्कुल, रेलवेका कर्मचारीका लागि खोलिएको रेलवे स्कुल र उपत्यका बाहिरको पहिलो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसको स्थापना र सञ्चालनका क्रममा भएका संघर्षको गाथा कथामा छ। आधुनिक विकासको इतिहासको सेरोफेरोमा वीरेन्द्र प्रभात घडि (घन्टाघर), शंकराचार्य गेट, बाइपास रोड, स्काउट भवन, नगरसभा गृह, आदर्शनगर सिटीको स्थापनाबारे सन्दर्भ प्रचुर मात्रामा खुलाइएको छ।
पत्रकारिता, साहित्य, सङ्गित र कला क्षेत्रमा वीरगन्जका उल्लेखय उत्पादनको सन्दर्भमा पढ्दा मजस्ता वीरगन्जवासीहरु गौरवान्वित नहुने कुरै भएन। वीरगन्जको गर्भबाट जन्मिएका शक्तिशाली अक्षरका नायकहरु डा. धुव्रचन्द्र गौतम, दिपनारायण मिश्र, कनकमणि दीक्षित (माडसाब), गोपाल गोतामे, श्याम प्रसाद शर्मा धनुषचन्द्र गौतमहरुको जीवनलीलाको बेग्लै वृतान्त कथाको हिस्सा बन्न पुगेको छ। वीरगन्ज त्यस्ता सर्जकहरुको पनि जीवन्त कथा हो।
गिरीले वीरगन्ज करिडोरको स्थानीय मौलिकतालाई प्राथमिकता दिएका छन्, जुन उनको उपलब्धी हो। लेखकले अनेक प्रसङ्गमा वीरगन्जमा बोलिने रेथानै भोजपुरी र हिन्दी भाषामा गरिएका वार्तालापका अंश जस्ताको तस्तै राखिदिएका छन्। लेखक दाजुभाइको छोटेलाल र पतरकी भौजी (दुब्ली भाउजु) सँगको वार्तालापहरु त झन् मिजासिला छन्। यसले कथालाई थप रोचक, मनमोहक र मस्त बनाइदिएको आभाष हुन्छ।
लेखकले वीरगन्ज क्षेत्रको खानपान अथवा खान्की, पहिरन, सङ्गीत, जलसा, हरेक शुक्रबार हुने शिव चर्चाहुँदै हिन्दुहरुको विश्व सम्मेलनलगायत चाडपर्वका सांस्कृतिक आयाम उपर वृहत्तर विवेचना गरेका छन्। भूतप्रेत र अन्धविश्वासको कठघरामा लेखक आफैलाई उभ्याएर पनि त्यहाँका घटना र प्रतिघटनाको गजबको प्रस्तुति दिएका छन्। यसले पाठकलाई भिन्नै प्रकारको अनुभुती गराउँछ।
वीरगन्जको व्यथा पनि कथाको अंग बनेको छ। राजा महेन्द्रले योजनाबद्ध रुपमा चारकोसे झाडी नासी सिमराजस्ता प्रतिद्धन्द्धी सहर खडा गर्दा र महेन्द्र राजमार्ग बनाउँदा वीरगन्जले खेप्नुपरेक वेदना पढ्दा दुखः हुन्छ। यति मात्र कहाँ हो र, संविधान जारी गर्ने बखत ठोरीलाई पर्साबाट अलग्याएर प्रदेश नं ३ मा गाभी वीरगन्जको गेटवे अफ नेपाल को पहिचानलाई ठोरीमा सार्नेजस्ता वीरगन्जमा साङ्घातिक हमला गर्ने राज्यको घिनलाग्दो प्रपञ्चबारे पनि सुचनात्मक जानकारी पुस्तकमा उपलब्ध छ।
वीरगन्ज प्रवेश गर्नखोज्दा आन्दोलनका कारण राजमार्गमा रहेको अवरोधबाट ु श्री गणेश ु भएको पुस्तक फेरि काठमाडौं फर्कन खोज्दा त्यो अवरोध छिचोल्दै सकिएको छ। निचोडमा भन्नुपर्दा गिरीश गिरीको गुलजार वीरगन्जप्रतिको अथाह प्रेम र आत्मियता उदाहरणिय छ। वीरगन्जका वृहत् परिदृश्यलाई सशक्त रुपमा प्रदर्शन गर्न हेतु उनको प्रयास प्रशंसनीय छ। यस्ता अरु पनि रचनात्मक पुस्तकको लेखनको टड्कारो आवश्यकता वीरगन्ज र वीरगन्जेली जनतालाई सधैं रहने छ। हाम्रो गुलजार वीरगन्ज क्षेत्रका बुद्धिजीवी , पत्रकार र प्राज्ञिकहरुले यसमा पहलकदमी लिनैपर्छ। वीरगन्जलाई सहि तवरमा बुझ्न यसलाई सबैले एकपटक पढ्नैपर्छ।