मुलुक डेस्क,
वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७
राजनीतिज्ञ सुरेन्द्रप्रसाद सिंहको असमायिक निधन भएको छ । उनी ६५ वर्षका थिए । राजनीति शास्त्रमा स्नातक गरेका नेता सिंह विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय रहदै आएका थिए । सार्थक परिवर्तनका संवाहक सिंहको स्वभाव सरल एवं व्यवहार अति नै मिलनसार थियो । राजनीतिक जीवनसंगै सामाजिक सुधार र सहयोगमा निरन्तर अग्रसर रहदै आएका सिंह युवा अवस्थामै नेपाली काँग्रेसबाट आफ्नो राजनीतिक सफरका शुरुवात गरेका थिए ।
महोत्तरीको मनराकट्टीमा विंसं २०१३ सालमा साभ्रान्त राजपुताना जमिन्दार परिवारमा जन्मेका सिंहको ख्याती पार्टीगत मात्र नभएर जनजनमा लोकप्रिय रहेको थियो । आफ्नो विशिष्ट व्यवहार र पार्टीभन्दा माथि उठेर सोच्न एवं गर्ने विचारका कारण सर्वप्रिय नेताको रुपमा पहिचान स्थापित गर्न सफल भएका थिए । नेपाली काँग्रेस, महोत्तरीको दुई–दुई पटक उप–सभापति भएका नेता सिंह कार्यबाहक सभापति समेत रहेका थिए ।
काँग्रेस राजनीतिका माहिर नेता सिंहको निधनले महोत्तरीलगायत पार्टी र देशले कुशल नेतृत्व गुमाएको छ । नेता सिंहको निधनप्रति पार्टीका वरिष्ठ नेता एंव पार्टीले गहिरो शोक जताएको छ । नेपाली काँग्रेसको महोत्तरी जि.का.स.का पूर्व सचिब समेत रहेका सिंह नेपालको प्रथम संविधानसभा चुनावमा संबिधानसभा सदस्यका उम्मेदवार समेत रहेका थिए । नेता सिंह विगत ४० वर्षभन्दा बढी समय पार्टी र जनताकालागि होमिदै २०७७ कार्तिक २ गते यस संसारबाट सधैका लागि बिदा लिएका छन् । काँग्रेस महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य रहेका सिंहको अन्तेष्टि उनकै पैत्रिक गाँउ कट्टीमा ३ गते सोमबार नै सम्पन्न गरियो । हृदयघातका कारण असमायिक मृत्युवरण गरेका नेता सिंहको एक श्रीमती र तीन सुपुत्र रहेको छ ।