मुलुक डेस्क,
वर्ष :३ | अङ्क : १९ | असोज २०७७
भारतका पूर्वमन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । भारतीय जनता पार्टीका संस्थापक नेता सिंह भारतीय सेनाका पूर्व अधिकारीसमेत हुन् । भारतीय राजनीतिमा लामो समयसम्म सदनमा उपस्थिती जनाउने सिंह भारतको अर्थ, विदेश र रक्षामन्त्री बनेका थिए । सिंह पाँच पटक राज्यसभा र चारपटक लोकसभाका सदस्य रहेका थिए ।
जसवंत सिंह पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको सरकारमा केन्द्रीय मन्त्री रहेका थिए । उनी सन् १९९६ देखि २००४ का बीच अर्थ, विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सन् १९९८ मा एयर इण्डिया प्लेन हाईजैक काण्डमा सफलताकासाथ उनकै नेतृत्वमा सकुशल उद्धार गरिएको थियो । विभिन्न पदमा रहेर राष्ट्रको सुरक्षा र सेवा प्रति उनको कार्यलाई युगौंसम्म सम्झिने छ ।
राजपुताना रियासत जसोल, बाड्मेरमा सन् १९३८ जनवरी ३ मा जन्मेका सिंहको निधन सन् २०२० सेप्टेम्बर २७ मा भएको हो । उनी विगत ६ वर्षदेखि सिकिस्त थिए । सिंह बीजेपीको टिकटबाट राज्यसभामा पाँचपटक (१९८०, १९८६, १९९८, १९९९, २००४) र लोकसभामा चार पटक (१९९०, १९९१, १९९६, २००९) प्रतिनिधित्व गरेका थिए । उनी सन् १९९८/९९ मा प्लानिङ्ग कमिसनका उपाध्यक्ष पनि बनेका थिए । भारतीय सेनाका पूर्व मेजर सिंह दश वर्षसम्म सेनामा कार्यरत रहेका थिए । उनी राज्यसभामा सन् २००४ देखि २००९ सम्म पाँच वर्ष विपक्षका नेता चुनिएका थिए । राजनीतिक जीवनको उतार चढावसंगै कुनै बेला गोर्खाल्याण्डका लागि संघर्षरतको चहानाबमोजिक दार्जिलिंगबाट चुनाव लडे र जिते । यसैगरी बीजेपी छाडेर स्वतन्त्र भई मैदानमा लडे र हारे । उनलाई बीजेपीले सन् २०१४ मा पार्टीबाट निष्काशित गरेको थियो ।
सन् २००९ मा उनको पुस्तक ‘‘जिन्ना : भारत विभाजन और स्वतंत्रता’’ मा जिन्ना अर्थात पाकिस्तानका संस्थापन मोहम्मद अली जिन्नाको प्रशंसा गरेकाले चर्को आलोचना खेप्नु परेको थियो । सन् २०१४ को अगस्तमा घरको बाथरुममा लड्दादेखि हालसम्म उनी कोमाकै अवस्थामा रहेका थिए । जसवंतका एक पुत्र मानवेन्द्र सिंह रहेका छन् । उनको निधनपछि पीएम नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह समेत राजनीति जगतका कयौं हस्तीले दुःख जताएको छ ।