प्रमोदकुमार साह,
वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७
जनकपुर अञ्चलकै सदरमुकाम तथा नेपालकै पुरानो नगरपालिकाको रुपमा स्थापित महोत्तरीको जलेश्वर नगरपालिका कुनै वेला देशका शान र शक्तिको केन्द्रमध्ये एक मानिन्थ्यो। जलेश्वर नाथ (महादेव मन्दिर) को महिमाले ख्याती प्राप्त यो ठाँउमा अनेकौं उत्कृष्ट धार्मिक र पर्यटकिय स्थललगायत ऐतिहासिक र पौराणिक स्थानहरु अझ जिर्ण अवस्थामा रहेको छ। कालान्तरमा राज्यद्वारा उपेक्षित एवं याहाकै स्थानिय नेताहरुको स्वार्थको कारण यस ठाँउले आफ्नो गरिमा र ख्यातीसरह प्रगती भने गर्न सकेन्।
यसमध्ये ऐतिहासिक राणकालिन कारागार (जेल) पनि एक रहेको छ। १ सय ६१ वर्ष पुरानो यो कारागारको अवस्था अहिले दयनिय र जर्जर रहेको छ। धनुषा, सर्लाही र महोत्तरीको संयुक्त रुपमा एउटै कारागारको रुपमा यसको अलग्गै पहिचान छ। १ सय ३५ जना कैदी क्षमताको यो कारागारमा हाल ४ नाबालक, ४६ महिला र ४८५ पुरुष सहित ५३५ जना कैदीलाई कोचिएको अवस्था छ। जिर्ण भित्ता, जलमग्न आँगन र शौचालयको कमजोर व्यवस्थापनका कारण यहाँको कैदीहरुको जनजीवन र दिनचर्या कहाली लाग्दो छ। लालबन्दी नगरपालिका वडा नम्बर ६ की १९ वर्षीया रीता कार्की गएको फागुनदेखि बालिका अपहरण गरेको मुद्दामा जलेश्वरस्थित कारागारमा सजाय भोगिरहेकी छिन्।
कक्षा ९ मा पढ्दै गरेकी रिता गत मंसिरमा काठमाडौँ स्थित दिदीको घर जाँदा खुल्लामञ्चमा आयोजित साँस्कृतिक कार्यक्रम हेर्न गएकी थिईन् त्यहाँ उनको भेट सामना डाँस ग्रुपका कलाकारहरुसँग भएको थियो। त्यहाँ उनले कलाकारहरुसँग चिनजान गरिन्। त्यही क्रममा उनीहरुले रीतालाई हामी एउटा नाँचगान गरेरै अभियान चलाउँदै आएका छौँ, जसअन्तर्गत विभिन्न ठाउँमा गएर उत्पीडनमा परेकालाई हामीले सहयोग गर्छौँ, उनीहरुको राम्रो भविष्यका लागि काम गर्छौँ भनेर भने। रीतालाई डाँस गर्न मन पर्ने भएकाले उनी आफ्ना दुई साथी १९ वर्षीया आयशा लिम्बु र अनुष्का राउतलाई समेत यो अभियानमा जोडिन आग्रह गरिन्। उनीहरु सबै स्कुले साथी रहेकाले सँगै अभियानमा लागे कुनै प्रकारको अप्ठ्यारो नहुने सोचका साथ तीनै जना सहभागी भए। त्यति बेलासम्म उनीहरुलाई जानकारी थिएन हामी सामाजिक कार्यमा जोडिदैँछौँ या कुनै अन्य कार्यमा। ‘सामनासँग जोडिदाँ विभिन्न कार्यक्रमहरुमा हामी गयौँ, डाँस गर्यौ त्यसपछि उहाँहरुले बहिनीहरु अब तिमीहरुले आफु जस्तै अरुलाई पनि जोड्ने प्रयास गर है, तिमीहरु जस्तै युवाहरुको देशलाई खाँचो छ, देश बनाउन हामी युवा एकजुट हुनुपर्छ भनेर भन्नुभयो।’ रीताले भनिन् ‘बल्ल त्यति बेला थाहा पाएँ की हामी तीन जना कुनै सामाजिक कार्यमा जोडिएका होईनौँ, विपल्बको कार्यकर्ता बन्यौँ भनेर। ’रीतालाई विपल्ब र उनको समुहबारे पहिल्यैदेखि थाहा रहेछ की उनीहरु भूमिगत छन् भनेर। तापनि उनी त्यसबाट पछाडी हटिनन्। र उनीसहित उनका टोली आगामी कार्यक्रम फागुन २८ गते उदयपुरको खसीबासमा गर्ने तय गरे।
‘त्यहाँ कार्यक्रम हुँदा धेरै मान्छेहरु आएका थिए, हामी कार्यक्रम सकेपछि धेरै जनालाई हाम्रो समुहमा लाग्न आग्रह गर्यौँ, त्यसैमध्ये एक जना १४÷१५ वर्षकी बहिनीले दिदी म पनि तपाईहरुसँगै काम चाहन्छु भनिन् र हामी पनि खुसी भयौँ उनी हामीसँग जोडिएकोमा। ’रिताले भनिन्‘ त्यसो भए जाउ न हाम्रो घर बा आमालाई भेटेर तपाई सम्झाई दिनुहोला भनेर ती बालिकाले भनेकी थिइन्, उनका अभिभावक भेट्दा हामीले भन्ने बित्तिकै बहिनीलाई पठाउन तयार भए, त्यसका लागि स्वयं उनकी आमाले कपडाहरु प्याक गरिन् र हामी त्यहाँबाट निस्कियौँ हामी कहाँबाट कहाँ गईरहेका छौँ यी सबै कुरा प्रहरीलाई थाहा भईसकेको थियो हाम्रो फोन ट्रयाप गरेर, घरबाट निस्केर केही अगाडी मात्रै के गएका थियौँ प्रहरी हाम्रो अगााडी नै आएर बालिका अपहरण गर्ने यीनै तीन जना हुन् भनेर समातेर गाडीमा बस्न लगाए। आफ्नै मर्जीले आएकी बहिनीको अपरहणमा संलग्न आरोपित भएपछि ’सामना ग्रुपका व्यक्तिहरु कलाकारिता गरेरै कार्यकर्ता बनाउँदै आएको ठोस प्रमाण प्रहरीले फेला पारे। उनीहरुलाई विपल्ब समुहमा लागेको भनेरयी तीन जना साथी बालिकासहित पक्राउ परेपछि प्रहरीलाई भने प्रमाण जुटाउन सहज भएको थियो।
भविष्यमा एक राम्रो कलाकार बन्ने सपना बुनेकी रीता अहिले शरीर बन्धक मुद्दामा सजाय काटिरहेकी छिन्। यसका लागि उनलाई पछुतो पनि छ।‘विपल्ब हाम्रो देशमा प्रतिबन्धित व्यक्ति हुन् भन्ने थाहा हुँदा हुँदै उनको कार्यकर्ता बनिरहे, सायद खुल्लामञ्च नगएको भए आज जेलमा हुन्न थिए होला उनको भनाई छ। रीता गएको फागुनदेखि कारागारमा रहेपनि उनको घरबाट अहिलेसम्म पनि कोही आएका छैनन् उनलाई भेट्न। ‘थाहा भए पो आउनु कसैलाई थाहै छैन् छोरी कहाँ छिन् भन्ने, कसरी आउनुहुन्छ त?’ भावुक हुँदै रीताले भनिन् ‘अहिलेसम्म ममी बुबालाई हामी कहाँ छौँ कुन अवस्थामा छौँ केही थाहा छैन्।’
उनी जस्तै उक्त कारागारमा कर्तव्य ज्यान मुद्दामा गत डेढ वर्षदेखि सजाय काटिरहेकी छिन् – जितनी महतो। महोत्तरीको औरही घर भएकी जितनीको गाउँमा जेठानसँग झगडा हुँदा दुई तर्फी कुटपिट भयो। उनले आफ्ना जेठान उपर भाठाले प्रहार गर्दा उनको तत्कालै ज्यान गएको थियो रे। जेठानको हत्या गरेको आरोपमा उनी २०७५ मंसिरमा पक्राउ परिन्। जितनी पक्राउ पर्नु अघिसम्म संयुक्त रहेको उनको परिवार अहिले भने टुक्रिएको छ। घरमा ६ वर्षको छोरा सुशान्त र पति विजयबाट टाढिदा उनी एक्लिएकी छिन्। ‘कुटाकुटमा जेठानको मृत्यु मेरै हाथबाट भयो, ममाथि हत्याको अभियोग लाग्यो पक्राउ परे।’ जितनीले भनिन् ‘सुःखमा सबै आफ्ना र आफन्त हुँदो रहेछन्, दुःखमा मरे कि बाचे भन्नेमा पनि मतलब हुन्नु।’ जितनी पक्राउ पर्दा उनी ९ महिनाकी गर्भवती थिईन्। अहिले उनको काखमा डेढ वर्षीय छोरा आशिक महतो हुर्किरहेका छन्।
समाजमा ईज्जत र प्रतिष्ठाको जीवन बाचेकी जितनीलाई हत्यारा भनेर चिन्हिनेमा पछुतो लाग्छ। उनलाई काखमा हुर्किरहेका डेढ वर्षिय आशिक ठुलो भएपछि उनलाई के भन्ने पीर छ। ‘एउटा समान्य जीवनमा रमाईरहेकी म आज कारागारको छतमुनि ओत लागेकी छु यो भन्दा लज्जास्पद के नै हुन्छ र मेरो लागि, सुशान्तको कुरा छोडौँ आशिकलाई मैले के जवाफ दिने? उनले प्रतिप्रश्न गरिन् ‘मलाई त दुनियाले अपराधी मान्छन् नै साथ साथै मेरो छोरोलाई हत्यारिनको बच्चा भनिनेछ। आज झै–झगडा नगरेको भए सायद आशिक आफ्नो बाबासँग हुन्थे र सुशान्तलाई आमाको माया भेट्थ्यो।’
जितनीका अनुसार उनी कारागारमा चलान भएदेखि उनका श्रीमान् एक पटक भेट्न आएका छैन्, बरु उनले अर्को विवाह गरिसकेका छन्।‘माईती पक्षबाट दाई÷भाईहरु आईरहन्छन् सबैतिरको जानकारी उनीहरुबाटै पाउने गरेकी छुँ बच्चालाई लालनपालन गर्न अप्ठ्यारो भयो भन्दै उहाँले विवाह गर्नुभयो रे। ’उनले भनिन्‘त्यो घर त्यसै पनि मेरो रहेन अब, छुटेपनि जान्न।’
रिता र जितनी जस्तै महोत्तरीको जलेश्वर कारागारमा महिला तर्फ कर्तव्य ज्यान मुद्दामा कैदी ८ र थुनुवा ९ गरी १७ जना, लागू औषध मुद्दामा कैदी एक र थुनुवा दुई गरी ३ जना, शरीर मास्ने, बेच्ने मुद्दामा थुनुवा एक र अपहरणमा ५ तथा अन्य विभिन्न मुद्दामा गरी कुल ४६ जनाले सजाय काटिरहेका छन्। यसैगरी कारागारमा डेढ देखि दुई वर्षसम्मका ४ जना आश्रित बालबालिका बस्दै आएकोजलेश्वर कारागारका जेलर मकसुदन महासेठले जानकारी दिए।