कृष्ण सिंह,
वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७
होम आइसोलेसनमा बसेका कोरोना भाईरस (कोभिंड–१९) बाट संक्रमित ब्यक्तिहरु आइसोलेसन छाडेर बजारमा खुलेआम घुम्न थालेपछि सर्लाही जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ। प्रदेश सरकार तथा स्थानीय निकायले निर्माण गरेको आईसोलेसनमा रहेका संक्रमितको भन्दा होम आईसोलेसनमा रहेका संक्रमितहरुको संख्या झन्डै दोब्बर रहेको छ।
प्रायः जसो होम आईसोलेसनमा रहेका अधिकांश संक्रमितहरु हुने खाने र पहुँचवालाहरु रहेका छन। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दिएको जानकारी अनुसार सर्लाहीमा होम आईसोलेसनमा २ सय ८४ जना रहेका छन्। उनीहरू आइसोलेसनमा बस्दा अपनाउनु पर्ने सबै नियमहरुलाई तोड्दै निर्धक्कका साथ खुलेआम रुपमा बिहान मोर्निङ्ग वाक तथा चिया खाजा खान बजार निस्कन थालेपछि जिल्लामा संक्रमितको संख्या बढदै गएको छ।
प्रजिअ पौडेलले पनि यस कुरालाई स्विकादैं आफुले समेत एकजना संक्रमित ब्यक्तिलाई आइसोलेसन छाडेर बाहिर घुमेको भेटाएपछि निजलाई नियन्त्रणमा लिएर ग्रुप आईसोलेसनमा पठाएको बताऐ। सर्लाहीको बरहथवा नगरपालिकामा ५२ जना कोरोना संक्रमितहरु फेला परेपछि १३ जनालाई ग्रुप आईसोलेसनमा राखिएको छ, भने ३९ जना होम आईसोलेसनमा बसेका छन्। होम आईसोलेसनमा बसेका ब्यक्तिहरु बाहिर घुमेको पाइएको छ। बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले यो चिन्ताको विषय भएको बताउँदै यसको समाधानका लागि जिल्ला स्तरमा बैठक बसि एउटा ठुलो आईसोलेसनको निर्माण गर्नुपर्ने बताएका छन्।
सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन लगाए पनि यसरी संक्रमितहरु खुलेयाम रुपमा बाहिर घुम्न थालेपछि लकडाउनको औचित्य समाप्त भएको सामाजिक अभियन्ताहरु बताउँछन्। यस प्रति नेपाल सरकारको तत्कालै ध्यानाकर्षण भएन भने यसको परिणाम घातक हुने समेत उनीहरुले चेतावनी दिएका छन् र जनता संग आफू स्वयं सजक र सर्तक रहन समेत अपिल गरेका छन्।