उपे‌‌‌‌‌न्द्र खनाल,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७

बन्दाबन्दीमै सिके भूजेलगाँउका बालबालिकाले पुर्ख्यौली पेशा

लामो समयको बन्दाबन्दीका कारण बजारक्षेत्रका बालबालिकाहरु कोही मोबाइलमा युटुब हेर्ने त कोही बालबालिका गेम खेल्ने गर्न थाले। तर, बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँका बालबालिकाहरु भने लकडाउनको सदुपयोग गर्दै सिप सिक्न थाले। उनीहरु लकडाउनका कारण विद्यालय बन्द भएपछि अभिभावकसँगै पुख्र्याैली पेशातर्फ आकर्षित भए। बन्दाबन्दी सुरु भए लगत्तै किताब थन्क्याएर बाबु–बाजेले गर्दै आएको नाङ्लो बुन्ने कामलाई प्राथमिकतामा राखे। एकातिर भुजेल समुदायको पेशागत संरक्षण भयो भने अर्कोतर्फ उनीहरु सिप सिकेर दक्ष भए।

बन्दाबन्दीको समयमा बालबालिकालाई पुर्ख्यौली पेशा सिक्ने अवसर मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए। ‘महामारीले गर्दा शैक्षिक संस्था पुर्ण रुपमा बन्द छ। विद्यालय बन्द भएपछि बालबालिकाहरु पनि संक्रमणबाट जोगिन घरमै बस्न बाध्य भए। तर, केहिलाई अवसर पनि मिलेको छ।’ बन्दाबन्दीको समय भनेको केटाकेटीले घरको विभिन्न कामहरु सिक्ने अवसर हो, उनले भने अभिभावकले पनि आफ्ना बालबालिकालाई घरका काम सिकाउनुपर्छ। केटाकेटीले किताबी ज्ञानका साथसाथै प्रयोगात्मक अभ्यास पनि सिक्ने अवसर पाउँछन्। भुजेल गाउँका बालबालिकाहरु भने बन्दाबन्दीमा बाँसको चोयाबाट बन्ने नाङलो, डोकोलगायतका सामग्रीहरु बुन्न व्यस्त भए, यो उनीहरुको लागि अवसर हो, कतिपयले त बुन्न जानिसकेका छन्। पछि कुनै काम नपाएको खण्डमा उनीहरुले नाङ्लो बुनेर जिविकोपार्जन गर्न सहयोग पुग्छ। ‘त्यहाँका बालबालिकाले गरेको काम प्रसंसनीय छ।’ भूजेल गाउँका बालबालिका सिप सिक्नमा व्यस्त भएका बेला गाउँपालिकाको बजार क्षेत्रका बालबालिका भने मोबाइल चलाउनमा व्यस्त देखिन्थे । मोवाइलले पछि बालबालिकामा आँखाको समस्या पनि पर्न सक्छ त्यसतर्फ अभिभावक पनि सचेत हुन जरुरी छ,।’

भुजेल गाउँका १५/२० जना बालबालिका अहिले पनि अभिभावकसँगै दिनहुँ नाङलो बुन्ने काम गर्छन्। सात देखि चौध वर्ष उमेरका बालबालिकाहरु त्यो पेशाप्रति आकर्षित भएका हुन्। केहीले जानिसकेका छन् भने केही प्रयास गरिरहेका छन्। लकडाउनको समयमा आमासँगै नाङलो बुन्ने गरेको आँधिवराही आधारभुत विद्यालयकी पाँच कक्षामा अध्ययनरत नीरा भुजेलले बताइन्। ‘बन्दले गर्दा कतै हिँड्ने कुरा भएन। टिभी, रेडियोमा पनि यो समयमा केटाकेटीले घरका विभिन्न कामहरु सिक्ने समय हो भनेको छ। त्यसैले लकडाउनमा त्यतिकै बसिरहन भन्दा नाङलो बुनेर समय विताउने गरेका छौं। यो समयमा बुन्न पनि धेरै नै जानिसकेको छु। अव फुर्सदको समयमा त्यतिकै खेलेर समय फाल्न भन्दा अभिभावसँग नाङलो बुन्ने गरेका हौ,’ उनले भनिन् ‘म मात्र नभई यहाँका अरु साथीहरु सँगै मिलेर नाङलो बुन्ने गर्छौ। अव केही दिन सिक्यौ भनेत हामी पुर्ण रुपमा नाङलो बुन्न सक्षम हुनेछौ।’

त्यस क्षेत्रका नीरा लगायतका अधिकांस बालबालिका मात्र नभई आकृति, नविना, अशोक भुजेललगायतका बालबालिकाले अहिले नाङलो बुन्ने काममा अभिभावकलाई सघाइरहेका छन्। आफुले तीन वर्ष अघि देखिनै अभिभावकसँग नाङलो बुन्ने गरेको अशोक भुजेलले बताए। ‘मैले पहिले देखिनै चोया काट्ने र नाङलो बुन्ने गरेको थिए, यतिखेर महामारीका कारण जताततै वन्द छ त्यसैले यो समयमा यही कामलाई निरन्तरता दिएको हुँ। काम जानीसकेको छु अव विद्यालय खुलेपनि फुर्सदको समयमा भने यही काम गर्छु। त्यस क्षेत्रका अधिकांस बालबालिका अहिले चोया काटेर नाङलो बुन्ने गर्दछन्। बालबालिका यो पेशाप्रति आकर्षित भएपछि भुजेल समुदायको पुर्ख्यौली पेशा संरक्षण भएको छ भने आत्मनिर्भर बन्नसमेत सहयोग पुग्नेछ। पेशााको संरक्षण हुँदा अभिभावक खुशी एवं वालवालिकाहरु बाध्यताले नभई रहरले नाङलो वुन्ने गरेको स्थानीय भुवनबहादुर भुजेलले बताए।

बालबालिकाहरु सुरुका दिनमा अभिभावकले बुनेको देखेर कहिलेकाही मात्रै नाङलो वुन्न आउँथे। तर, अहिले विद्यालय बन्द भएको छ, यो बेला उनीहरुको लागि सीप सिक्ने उपयुक्त समय हो। उनीहरु हामीसँगै आएर नाङलो बुन्न थाल्छन्, बालबालिकाहरु आकर्षण देख्दा हामीलाई खुशी लागेको छ। गाउँमा भएका जेष्ठ नागरिकहरु पनि विस्तारै यो पेशा छाड्दै गएका छन्। नयाँ पुस्ताका युवा रोजगारीको सिलसिलामा बाहिर जाने र युवती विवाह भएर अन्यत्रै जाँदा बाबु–बाजेले धान्दै आएको पेशा नै संकटमा पर्ने अवस्थामा आइसकेको थियो। तर यो समयमा गाउँकै बालबालिकाहरु पुर्ख्यौली पेशाप्रति आकर्षण हुँदा जगेर्ना गर्न मद्धत पुगेको छ र यहाँका अधिकांस वालवालिका फुसर्दको समयमा अभिभावकलाई सघाउने गर्दछन्।

बालबालिकाले नाङलो बनाउन आवश्यक पर्ने सामग्री चोया काट्ने, नाङलोको विट मार्नेलगायतका काम जानेका छन् भने केहीले नाङलो तथा डोको नै बुन्ने गरेका छन्। बालबालिकाहरुले पुर्ख्यौली पेशा सिकेर उदाहरणीय कार्य गरेको र अन्यत्रका बालबालिकाले पनि बन्दाबन्दीको समय सदुपयोग गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत नरहरी सापकोटाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *