मुलुक डेस्क,

वर्षः ०३ | अकंः १७ | श्रावण २०७७

फिल्मी कहानी झै हेर्दा हेर्दै कानपुरका गैंगस्टर विकास दुबेको एन्काउन्टर भएको छ। रहस्यमय तरिकाले ९ जुलाइको उज्जैन मध्य–प्रदेशको महाकलेश्वर मंदिर नजिकै प्रकाउ परेका दुबे अन्ततः १० जुलाईको कानपुरमा गाडी दुर्घटना पर्दा भाग्न खोज्दा पुलिसद्वारा एन्काउन्टरमा मारिए। ५६ वर्षिय दुबे बिगत ३० वर्षदेखि अपराध जगतमा संलग्न रहदै हत्या, हिंसा, जमिन कब्जा सहितको कार्यलाई निरन्तरता दिदै आइरहेको थियो। झन्डै ६० भन्दा बढी आपराधिक घटनामा उनको नाम प्रमुख रुपमा संलग्न रहदै आएको भेटिन्छ। कानपुरका प्रख्यात अपराधी दुबेमाथि प्रदेशकै मन्त्री संतोष शुक्लाको २००१ मा हत्याको मुख्य आरोप छ। राजनीतिक संरक्षण र पहुँचका कारण उक्त हत्याबाट तत्कालिन समयमा उम्कन सफल दुबे सन् १९९५ मा बहुजन समाजवादी पार्टी (बिएसपी) बाट राजनीतिक यात्राका शुरुवात गरेका थिए। जिल्लास्तरको चुनाव समेत जितेका दुबे राजनीति र अपराध जगतमा दुबे आफ्नो दबदबा कायम राख्दै आएका थिए। दुबेको पत्नी रिचा दुबे समेत स्थानियतहका जनप्रतिनिधि थिइन्। सन्नी देवलद्वारा अभिनित फिल्म ‘अर्जुन पंडित’ बाट प्रभावित भएर दुबेले आफ्नो उपनाम विकास पंडित वा पंडितका नामले समेत चिनिन थालेका थिए।

पुलिसद्वारा अपराध जगतका नाइके दुबे सन् २०१७ मा समातिए पनि उच्च अदालतबाट तारिखमा बरि भएका थिए। तत्पश्चात ३ जुलाईमा दुबेलाई पुनः गिरफ्तारीको प्रयास हुँदा प्रहरीका डिएसपी देवेन्द्र मिश्र सहति आठ पुलिसकर्मीको हत्या गरिएको थियो। हत्याको मुख्य आरोपी गैंगस्टर विकास दुबेनै थिए। बुल्डोजर लगाएर दुबेको घरलाई पुलिसले भत्काएको थियो। करिब ६० जनाले थापेको एम्बुसमा ३० जना प्रहरी घेरिएको थियो। मृत्युहुने आठ पुलिसमध्ये दुई दुबेका मामा र एकजना उनकै नातेदार पर्ने थियो। गनफाइटमा आठैजना पुलिसको निर्मम हत्या गरिएको थियो भने डिएसपीको टाउकोलाई बन्चरोले निर्मम र विभत्स तरिकाले काटिएको थियो। घटनास्थलबाट एके–४७ र एन्सास राइफल समेत पुलिसले बरामद गरेको थियो। संसारकै ठुलो लोकतान्त्रिक राष्ट्र भारतमा आठ पुलिसकर्मीको एउटा आपराधिक समुहबाट मारिएको घटनाले प्रजातन्त्रमाथिनै आघात भएको ठहरिन्छ। पुलिस प्रशासनको सतर्कता र कार्यवाही माथि पनि प्रश्न चिन्ह उठाइएको छ। गैंगस्टर विकास दुबेको मृत्युलाई सुनियोवित तरिकाले गरिएको हो भन्ने प्रश्न उठेको छ ? आठ पुलिसकर्मीको हत्याको बदला स्वरुप पुलिस प्रशासनले उनलाई प्रकाउ गरेर ल्याउदै गर्दा सुनशान सडकमा गाडी पल्टनु र दुबे मारिनुले पुलिसलाई शंकाको घेरामा हालेको छ। यद्यपी पुलिसको हथियार खोसेर भाग्न खोज्दा प्रतिरक्षात्मक फायरिङ्गमा मारिएको पुलिसको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *