राजेश्वर डी. श्रेष्ठ,
वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७
५ दशक लामो सांगितिक यात्रा क्रममा १७ सय गीत गाउन सफल ७० वर्षिय गायिका राणाले नारायण गोपाल, गोपाल योञ्जन, कुमार बस्नेत, उदित नारायण, राम थापा लगायतका प्रसिद्ध गायकहरु संग आफ्नो स्वर स्वरवद्ध गरिसकेकी छिन्। आफुले गरेको “नमस्कार”को जवाफ गायिका तारा देवीले नफर्काए पछि मनमा विझेको “च्वास्स” घोचाइले आफू पनि राम्रो गायिका बन्ने र तारा देवी बाटै शुभकामना लिने अठोट मनमनै लिएकी थिइन मीरा राणाले। गायिका बन्ने सोच नै नभएकी उनी तारा देवीलाई भेटन कै लागि भनेर गीत पनि सिकेकी थिइन। बुवा नामुद संगीतज्ञ शम्भुप्रसाद मिश्रले तारा देवीलाई भेटने हो भने गीत गाउन सिक्नु पर्छ अनि मात्र भेटन लैजाउँला भनेका हुनाले आफूले तारा देवीलाई सुनाउन भनेर केही गीतको राम्रो अभ्यास गरी रेडियो नेपाल पुगेकी तर आफूले नमस्कार गर्दा जवाफ नपाएकोले मनमा च्वास्स विझेको बताउँछिन मीरा राणा। गायन यात्राको आरम्भको कथा सुनाउँदै उनी भन्छिन “पछि त तारा दिदी र म एक अर्काका अनन्य मित्र नै भयौँ र भइरह्यौँ।”
- यो मात चढेको साँझ
- मखमलि चोलो चाहिँदैन
- फूल बुट्टे साडी
- लौ लाग्यो है कान्छा बाडुली लाग्यो
- पहाडकी नानी, चोखो छ मेरो जवानी
- मेरो पाँउमा आज कोइ पाउजु बाँधी
- तिमीलाई रुवाउने मेरो धोको होइन
वरिष्ठ गायिका मीरा राणाको परिचय शब्दले नभई उनीद्वारा स्वरवद्ध गीत, संगीत र उनको निरन्तरताको साँगीतिक यात्राले प्रष्ट पार्छ। एक दुईवटा मात्र नभएर दर्जनौँ गीत जसमा उनको स्वर गुञ्जिन्छन, चार दशक अघिका ती गीतहरु आजसम्म पनि जनमानसको मन मस्तिष्कमा गुञ्जायमान छन, जीवन्त छन। आवाजमा उच्चता, भावनाको गहिराई अनि मिठासमा व्याप्तता र एक फरक प्रस्तुती मीरा राणाको गायकीको विशेषता हुन भन्दा फरक नपर्ला। त्यतिबेला, जतिबेला उनी सानै थिइन साँगितीक प्रस्तुती हुने ठाउँमा उनको नाच र गायन हेर्नेको घुइाचो नै लाग्ने गथ्र्यो। बुवा संगीत र तवलाका गुरु भएकाले पनि पारिवारिक वातावरण सांगीतिक नै हुने गरेको उनी बताउँछिन। “मविवि शाहको एउटा गीत जसमा अरु लगायत तारादेवी र म स्वयँ पनि प्रतिस्पर्धी थियौँ। हामी दुई मित्र पनि, आत्मिय पनि अनि कहिलेकाँही प्रस्तपर्धी पनि…” उनी सम्झिन्छीन। “ अचम्मको सम्बन्ध थियो हाम्रो।”
कोरोनाको कारण मुलुक लकडाउनको बेला जनजीवन वन्धित र स्थिर रहेको अवस्थामा पनि उनी अर्थात मीरा राणाको गायन अभ्यास र हार्मोनियमको आवाज भने निरन्तर चलायमान नै रह्यो। उनी भन्छिन “यति लामो लकडाउनमा मैले एक्लो र निरश महसुस गरिन, संगीत मेरो साथी बनीरह्यो।” करिब सत्तरी वर्षको उमेर चलाएमान रहँदा पनि उनको स्वर र मिठासमा कुनै कमी देखिएको छैन। गीत संगीतका कुरा गर्दा उनमा युवावस्थाको झैँ जोश देखिने गर्छ। “आज पनि म उही स्केलमा गाउन सक्छु, गाइरहेकी छु” गर्वका साथ भन्छिन उनी। आफना सहकर्मी र समकालीन सहयात्रीहरुलाई संझिदा भावुक हुन्छिन, भन्छिन “त्यो बेलाको जस्तो सामूहिक प्राक्टीस अहिले कहाँ छ र!” महिनौ दिन मेहनत गरेर “बल्लबल्ल एउटा गीत तयार हुन्थ्यो र जीवन्त पनि हुन्थ्यो, आनन्द बेग्लै …।”
सांगीतिक क्षेत्रमा भएको प्रविधि विकास र छरितोपनाले पर्यो पनि प्रभावित भएको र मिहिनेत कम गर्दा पुग्ने भएको महसुस गर्छिन उनी। छिटो छिटो बन्ने गीत संगीतको छिटो छिटो प्रभाव पार्ने र छिटो छिटो नै प्रभावहीन बन्न सक्ने मीरा राणाको धारणा छ। उनका अनुसार राम्रो गीत बन्न गीतमा डुब्न सक्नु पर्दछ र त्यसको लागि लामो समयको रिजाय जरुरी हुन्छ तर अहिले त्यस्तो नभएको र गीतका लागि कसैले पनि पर्खन नपर्ने र पर्खने धैर्यता पनि नभएको आफूले पाएको बताइन उनले।
रातारात चर्चाको शिखरमा पुग्ने अचम्मको वातावरण देखेर उनी छक्क पर्छिन। फेसवुक मार्फत पाउने चर्चाले निरन्तरता नपाउने र वास्तविक चर्चित हुनका लागि आफूले कडा मिहिनेत गर्नुपर्ने गायिका राणाको विचार छ। आफू अहिले पनि संगीतको विद्यार्थी रहेको र संगीतको सिकाई कहिल्यै नटुँगिने विचार राख्छिन उनी। “गीत संगीत यस्तो होस, लगोस कि नाची रहुँ, सुनी रहुँ, गाइ रहुँ” उनले थपिन।
सरकारले लकडाउन खुकुलो वनाएसँगै हामी अर्थात म र मेरा प्रकाशक मित्र संजीव सिंह मुलुक टाइम्स श्रावण अङकका लागि गायिका मीरा राणाको निवास पुगेका थियौँ। भौतिक दुरीलाई कायम राख्दै उमेरको संवेदनशीलतालाई पनि विशेष ध्यानमा राखी आत्मविश्वासले भरिपूर्ण, सांगीतीक माधुर्यताको वातावरणमा पनि उदयजंग राणाका साथ मीठो स्वरका धनी मीरा राणासँग साँगितिक भलाकुसारी गर्यौँ। लकडाउनमा पहिलो अन्तरवार्ता दिँदै उनले आफनो साँगितीक जीवन यात्रामा आफना पति उदय शम्शेर राणाको साथ, सहयोग, वात्सल्यता र अभिभावकत्वको मुक्त कण्ठले प्रशंसा पनि गरिन। दाम्पत्य जीवन आरम्भपूर्व २०२६ सालमा साझा बसको यात्रा क्रममा उनै अन्जान व्यक्ति (उदय जंग)ले बसको टिकट काटिदिएको घटनाबाट शुरु भएको प्रेममय यात्रा आजका दिनसम्म आइपुग्दा पनि भावमय र जीवन्त महसुस भइरहेको आत्म विवेचना पनि गरिन उनले भावुकताका साथ “मेरो सांगीतिक र जीवन यात्रामा उहाँको ठूलो सहयोग छ, मलाई एकदिन पनि एक्लै छोडनु भएको छैन र मैले पनि आफूले खाना वनाएर ख्वाउन छाडेकी छैन” भावविह्वल बन्दै मीराले भनिन। संकुचित मानसिकता र पुरानै सोचको सामाजिक दृष्टिकोणका बीच पुरानै समयमा “यो मात चढेको साँझमा…” जस्ता अत्याधुनिक टाइपका गीत गाएर वाहवाह लुटेको अनि “मखमली चोली चाहिदैन, मेरो पाउमा आज पाउजु वाँध” जस्ता सदावहार गीतहरु गाएर दर्शक र श्रोताको मन जितेकी छिन मीराले। नेपाली कथानक चलचित्र “मनको वाँध”को “यो मात चढेको साँझमा…” बोलको गीतबाट आफूले दर्शकहरुबाट नेपाली “आशा भोँसले”को टाइटल पाएको त्यो क्षण उनको लागि गर्विलो रहेको बताइन। उनका अनुसार शब्द संयोजन र संगीत मिश्रणले मात्र गीत बन्दैन। भावमय शब्द, संगीतमा गहिराइ र गायनमा माधुर्यताको सवल समिश्रणले एउटा राम्रो गीतको जन्म हुन्छ। समय लगाएर अभ्यास गर्दा गीतमा जीवन्तता प्राप्त हुन्छ। गीतमा समर्पण, त्याग अनि अभ्यास तीनै कुरा हुनुपर्ने मीराको धारणा छ।
हो, मीरा राणा गीत संगीतका पराखी हुन। साधक पनि हुन र सँगै एक प्रिय र अशल पत्नी पनि हुन। पति उदय जंग मीरा एक अशल र अथक गायिका मात्र नभएर आफनो अभिन्न अङ्ग जतिकै ठान्दछन। संभव भएसम्म मीराकै सेरोफेरोमा रहन चाहन्छन उनी। गजवको दाम्पत्यता देखिन्छ उनीहरुबीच। “मेरो पहिलो श्रोता र समालोचक मेरा पति हुने गर्छन” मीरा भन्छिन। “मेरो पति भनेपनि अभिभावक भनेपनि पथप्रदर्शक भनेपनि यिनै हुन” उनले थपिन।
रेडियो नेपालको त्यो प्राङ्गण जहाँको पहिलो पाइला टेकाइले उनलाई गायिका बन्ने प्रेरणा र अठोट दिलायो, जुन प्राङ्गणको सेरोफेरोमा लामो साँगीतिक जागीरे यात्रा सम्पन्न गरिन त्यही सेरोफेरोको राजनीतिक वातावरणमा चोपिएर असाँगीतिक पिडा वोध भोगाइ सहनु पर्यो मीराले। उनी भन्छिन “म संगीतको मान्छे, राजनीतिक चपेटा भयो। राजीनामा नै दिनुपर्ने जस्तो अवस्था पनि भोगेँ” राजनीतिमा प्रवेशको सन्दर्भमा संझना जोडिन उनले।
“राष्ट्रको बारेमा सोच्नु र केही गर्न खोज्नु सचेत नागरिकको कर्तव्य होइन र?” मीरा भन्छिन “कमल थापा राम्रो भाषण गर्नुहुन्छ, बोल्नु हुन्छ, म गीत राम्रो गाउँछु, सोचेँ गीत गाएर देश सेवा गँरु। अब यही बाटोबाट देशसेवाको प्रयासमा छु – कोशिश गर्दैछु।” “तिमीलाई रुवाउने मेरो धोको होइन…” बोलको मिठो गीत सुने पश्चात मीरा राणाको साँगितीक यात्रा, देश सेवा र सुखद दाम्पत्याको निरन्तरताको सुभेक्षा राख्दै हामी विदा भयौं।